
नवलपरासी,४ असोज
थारु कल्याणकारिणी सभा रामग्राम समितिको आयोजनामा बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । थारु मधेशी समुदायमा असोजको पहिलो आईतवारलाई बडका अतवार भनेर मनाउने परम्परा अनुसार नै एक समारोहको आयोजना गरि शुभकामना तथा वृक्षारोपण गरिएको हो ।
रामग्राम क्षेत्रमा थारु समुदायको संस्कृति, परम्परा तथा प्रकृतिसँगको सम्बन्धलाई संरक्षण गर्दै वातावरणीय संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले रामग्राम १८ डिघवल स्थित कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बडकी अतवारको अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्दै थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सरावल गाउपालिकाका अध्यक्ष शुखाडी चौधरी तथा सरावल गाउपालिाकै पुर्व उपाध्यक्ष उत्तमा चौधरी लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा वृक्षारोपणसमेत गरिएको थियो। आयोजकका अनुसार सांस्कृतिक संरक्षणसँगै वातावरण संरक्षणलाई जोड्दै हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम राखिएको हो ।
सार्वजनिक तथा सामुदायिक क्षेत्रमा वृक्षारोपणसँगै त्यसको संरक्षण र हुर्काउने जिम्मेवारीसमेत समुदायले लिनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले थारु समुदायको जीवनशैली, संस्कृति र प्रकृतिबीच पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै त्यसलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताएका थिए। पछिल्लो समय मौलिक संस्कृति र परम्परामा परिवर्तन आइरहेको अवस्थामा समुदायको पहिचानसँग जोडिएका पर्व, भाषा, संस्कार र परम्परालाई संरक्षण गर्न सामूहिक पहल आवश्यक रहेको उनीहरूको भनाइ थियो । बडकी अतवार थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएका छन् ।
पर्वका अवसरमा समुदायका सदस्यहरूबीच भेटघाट, शुभकामना आदान–प्रदान तथा सामाजिक एकता अभिवृद्धि गर्ने गतिविधि हुने गरेका छन ्। यसै अवसरलाई वातावरण संरक्षणसँग जोड्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणसँगै संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । बढ्दो सहरीकरण, वन क्षेत्रको कमी तथा वातावरणीय परिवर्तनका कारण हरियाली संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा स्थानीयस्तरबाट हुने यस्ता अभियानले सकारात्मक सन्देश दिने उनीहरूको भनाइ थियो । सहभागीहरूले संस्कृति र प्रकृतिको संरक्षणलाई छुट्टाछुट्टै विषयका रूपमा नभई एकअर्कासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
थारु कल्याणकारिणी सभा रामग्राम समितिले आगामी दिनमा पनि समुदायको भाषा, संस्कृति, परम्परा तथा सामाजिक पहिचान संरक्षणसँगै वातावरणीय संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बडकी अतवारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृक्षारोपण कार्यक्रमले सांस्कृतिक पर्वलाई सामाजिक एकता र वातावरण संरक्षणसँग जोड्ने प्रयासका रूपमा स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
