
नवलपरासी,२२ माघ
महिलाको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप लगाउनमा सबै क्षेत्रबाट सहजीकरण गरिनु पर्ने सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले आयोजना गरेको विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा खोपको आवश्यकता र औचित्यता प्रष्टाउदै यसका लागि ब्यापक रुपमा प्रचार प्रसार गरि सहयोग गरिदिन आग्रह गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको सञ्चारकर्मीसँगको अन्तरक्रियामा आउने सन्तती किसोरीहरुलाई बेलामै खोप लगाई दिए पछि उनीहरुमा पाठेघर क्यान्सरको समस्या नहुने बताइएको थियो । हाल प्रत्येक दिन ४ जना महिलाको मृत्यु पाठेघर मुखको क्यान्सरको कारण भई रहेको तथ्याँक स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको थियो । विभिन्न भाईरसद्धारा पाठेघरको मुखमा क्यान्सरको संक्रमण हुने गर्छ । यस्ले गर्दा यौन सम्पर्क गरे पश्चात वा अन्य समयमा पनि रगत बढि बग्ने अवस्था हुन्छ । यस्ले महिलामा रतm अल्पता ल्याउछ । अन्त्यमा मृत्युको मुखमा धकेल्छ ।
नेपालमा प्रत्येक बर्ष २ हजार १ सय ६९ जनामा पाठेघरको मुख संक्रमित हुने र ति मध्ये १ हजार ३ सय १३ जना विरामी पर्ने गरेको तथ्याँक रहेको छ । यसरी हेर्दा संक्रमित मध्ये ६१ प्रतिसत विरामी भई मृत्यु हुने अवस्थाले अवस्था भयावह भई रहेको स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले बताएका थिए । ३० बर्ष पुरा भई सकेका महिलालाई नियमित रुपमा पाठेघरको स्क्रानिगँ गराई अवस्था पत्ता लगाउन सकिन्छ,उनले भने,यसका लागि उपचारको बाटो खोजी गर्न सकिन्छ । तर अहिलेको खोप १० उमेरका बालिकाहरुलाई लक्षित गरि विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिकालाई खोप लगाईन्छ । विद्यालय बाहिर रहने उतm उमेर समुहका बालिकालाई पनि सामुदायिक रुपमा खोजर सो खोप लगाईने उनले जानकारी गराएका थिए ।
जिल्लाका ७ वटै पालिका अन्तरगत रहेका १ सय ११ सामुदायिक विद्यालय र ९३ वटा संस्थागत विद्यालय गरि कुल २ सय ४ विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने कुल ३ हजार ५ सय ३३ र विद्यालय नजाने २ सय ८ गरि कुल जम्मा ३ हजार ७ सय ५५ जना बालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । गत बर्ष लुम्बिनी प्रदेशको खोप कभरेज ९५ प्रतिसत रहेकोमा नवलपरासीले ९८ दशमलव ३ प्रतिसत कभरेज गरेको थियो । यो बर्ष सय प्रतिसत पुर्याउने लक्ष्य रहेको छ, उनले भने,यसका लागि सञ्चारकर्मीको पनि महत्वपुर्ण भुमिका रहेको छ । माघ २५ गते देखी खोप लगाउने कार्य शुरु हुदैछ ।


