
नवलपरासी,
जिल्लामा स्थानीयस्तरबाट गोही संरक्षणको पहल अघि बढेसँगै संरक्षणका लागि सरकारी निकायले पनि चाँसो लिन थालेका छन् । जिल्लाको गण्डक कमाण्ड क्षेत्रसँग जोडिएको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा अवलोकनकर्ताको चहलपहल बढ्न थालेको र अहिले सो संरक्षण आरक्ष क्षेत्रमा संरक्षण तथा जागरणका लागि लुम्बिनी प्रदेश सरकार सरावल गाउपालिकाले लगानी गर्ने चाँसो बढाएको हो ।
वर्षौंदेखि सो क्षेत्रका जलाशय तथा कुण्डमा गोही बस्दै आएको बताउँदै स्थानीयले संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल थाले पछि आन्तरिक तथा भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका छन् । यसैले अहिले पहिलो बर्षमा सरावलको भागमा पर्ने क्षेत्रमा संरक्षण तथा प्रचार प्रसार र जागरणका लागि २ लाख रुपिया विनियोजन गरिएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । यो लगानी बर्षेनी थपिदै जानेछ, उनले भने, यस क्षेत्रमा अब्यवस्थित रुपमा रहेका गोहीलाई आरक्ष क्षेत्रको रुपमा संरक्षण र विकास गर्न अब गाउपालिकाले पनि चाँसो लिएको छ । अब्यवस्थित गोही स्थानियका लागि चुनौती हुन,तर ब्यवस्थित गरि क्षेत्र निर्धारण गरेर सुरक्षित गरि ब्यवस्थापन गरियो भने पर्यापर्यटनका लागि अवसर समेत खुल्ने छ ।

यता लुम्बिनी प्रदेश सरकारबाट समेत रु.५ लाख रुपिया विनियोजन भएको डिभिजन बन कार्यालयले जानकारी गराएको छ । संरक्षण ब्यवस्थापनका कार्य निरन्तर हुदै जाने विश्वास डिभिजनल बन अधिकृत धनिश्वर न्यौपानेले बताए । प्राकृतिक बासको रुपमा रहेको पिडुरा घोल र सो स्थानका कुण्ड क्षेत्रलाई सुरक्षित र ब्यवस्थित गर्न आवश्यक छ,उनले भने, यसका लागि ठूलै बजेट आवश्यक पर्न सक्छ । यसका लागि विश्व बन्यजन्तु कोष(डब्लुडब्लुएफ)संघिय सरकारको प्रकृति संरक्षण कोष तथा स्थानिय सरकार र स्थानिय समुदाय सबै मिलेर संरक्षण गरिनु पर्ने आवश्यकता उनले औल्याएका थिए ।
रामग्राम नगरपालिका–१७ पिपरहिया, पाल्हीनन्दन गाउँपालिका–३ कुश्मा तथा सरावल गाउँपालिका–४ पुर्नहा र ललितपुर क्षेत्रको बीचमा पर्ने झरही–पिडुरा दोभान करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको स्थानीयको भनाइ छ । करिब १० किलोमिटर परिधिमा रहेको जलाशय तथा कुण्ड क्षेत्रलाई गोही आरक्षका रूपमा विकास तथा संरक्षण गर्न स्थानीयले पहल गरिरहेका छन । स्थानीय तहबाट गोही संरक्षणको विषय उठे पछि डिभिजन वन कार्यालय नवलपरासी र वातावरण बचाउ अभियानलगायत सरोकारवाला निकायले समेत चासो देखाएका थिए । गोही आरक्ष क्षेत्र घोषणा गर्न लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउने निर्णय समेत जिल्ला वन समन्वय समितिले गरेको थियो । सामान्य प्रकृतिको खोलामा गोहीको उपस्थिति हुनु महत्वपूर्ण भएकाले यसको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने जिल्ला वन समन्वय समितिका प्रमुख भगौती यादवले बताएका थिए ।
वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवले भने गोही संरक्षणसँगै जल प्रदूषण नियन्त्रणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विभिन्न उद्योग तथा कलकारखानाबाट झरही खोलामा आउने प्रदूषित पानी नियन्त्रण गर्न नसके त्यसको प्रत्यक्ष असर गोहीको बासस्थानमा पर्न सक्ने उनको भनाइ छ । रामग्राम–१७ का वडाध्यक्ष कन्हैया मौर्यका अनुसार दोभान कुण्डमा दर्जनौँ साना–ठूला गोही रहेको बताइएको छ । वर्षायाममा झरही र पिडुरा खोलामा गोही देखिने तथा हिउँद र गर्मीयाममा पिडुराको कुण्ड क्षेत्रमा बस्ने गरेको उनले बताए ।
गोहीको बासस्थान व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेको उनको भनाइ थियो । पिडुरा खोलामा जमिनमुनिबाट पानी निस्कने भएकाले लामो समयसम्म पानी रहने गरेको छ । यही कारण उक्त जलाशय तथा कुण्ड गोहीका लागि सुरक्षित बासस्थान बनेको छ । स्थानीयका अनुसार कहिलेकाहीँ बाख्रा चराउन जाँदा गोहीले आक्रमण गर्ने गरेको छन् । बाख्रा हराउँदा गोहीले लगेको हुनसक्ने अनुमान गर्दै कतिपय स्थानीयले गोही नष्ट गर्नेसम्मको आक्रोश व्यक्त गर्ने गरेका छन् ।
वडाध्यक्ष मौर्यले स्थानीयलाई सम्झाइबुझाई गोही संरक्षणप्रति सचेत गराउँदै आएको बताए । तर सो क्षेत्रका गोही बाहिर मावनसँग सुरक्षित रहन र मानिसलाई खत्तरामुक्त बनाउनका लागि जालीतारले बार लगाउनु पर्ने तत्काल आवश्यक रहेको उनले औल्याएका थिए । यता तत्काल जालीतारको बारका लागि बजेट नभएसम्म जैविक विधि निगालो बासबार बनाएर पनि संरक्षण गरिनु पर्ने गण्डक जलउपभोक्ता सस्थाका पुर्व अध्यक्ष समेत रहेका हैदर अलि मोमिनले बताएका थिए । गोही संरक्षणसँगै यस क्षेत्रमा अन्य जैविक तथा सांस्कृतिक सम्पदासमेत रहेकाले पर्यापर्यटनको सम्भावना रहेको स्थानीयको भनाइ छ । क्षेत्रमा विभिन्न प्रजातिका माछा, नीलगाई, सर्प तथा मयुर लगायत सय भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने दाबी गरिएको छ ।
यसैगरी पाल्हीनन्दन–३ कुश्मास्थित कुटी पार्क, अनरीमाई मन्दिर, उत्तरबहनी झरही नदीलगायत धार्मिक तथा सांस्कृतिक स्थल पनि सोही क्षेत्रसँग जोडिएका छन्। सडक सञ्जालका कारण क्षेत्रसम्म पुग्न सहज रहेकाले संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकास गर्न सके स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीयले अब गोहीको बासस्थानलाई सुरक्षित बनाउन तारबार, प्रदूषण नियन्त्रण, अवलोकन क्षेत्र व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रदेश सरकारबाट औपचारिक संरक्षणको पहल अघि बढाउन माग गरेका छन् ।
