
नवलपरासी,१२ कातिक
हरिओम फाउन्डेसन नवलपरासीले आध्यात्मिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै श्रीमद्भागवत् गीता प्रवचन कार्यक्रम आयोजना गरेको छ । रामग्राम नगरपालिका ६ पोखरापाली स्थित फाउण्डेसनको कार्यालय परिसरमा सो आयोजना गरिएको हो ।
फाउन्डेसनका अध्यक्ष ओमप्रकाश अग्रहरीले आफ्ना दिवंगत पिता हरिराम अग्रहरीको सालिक स्थापना गरी अनावरण गर्नुका साथै गीता प्रवचन कार्यक्रम आयोजना गरेका बताएका थिए । दिवंगत पिताको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले सालिक स्थापना गरिएको अध्यक्ष अग्रहरीले जानकारी दिए । पिता प्रतिको सम्मान र श्रद्धाभाव व्यक्त गर्दै गरिएको सालिक अनावरणसँगै आयोजित गीता प्रवचनले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा श्रीमद्भागवत् गीता र यसले मानव जीवनमा दिने नैतिक, आध्यात्मिक तथा व्यवहारिक शिक्षाका विषयमा प्रवचन गरिएको थियो । गीतामा उल्लेख गरिएका कर्म, कर्तव्य, सत्य, अनुशासन र मानव कल्याणका सन्देशलाई दैनिक जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिइएको थियो । अध्यक्ष अग्रहरीका अनुसार हरिओम फाउन्डेसनले धार्मिक तथा आध्यात्मिक कार्यक्रमसँगै विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। समाजमा सकारात्मक सोचको विकास, नैतिक मूल्यको संरक्षण तथा सामाजिक सद्भाव कायम गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । धार्मिक आस्था र सामाजिक सेवाका गतिविधिलाई एकसाथ अघि बढाउने उद्देश्यले फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको अग्रहरीले बताए । समाजमा आपसी सद्भाव, पारिवारिक संस्कार र मानवीय मूल्यलाई बलियो बनाउन आध्यात्मिक ज्ञानको महत्वपूर्ण भूमिका रहने उनको धारणा छ ।

