
नवलपरासी,१० कातिक
नवलपरासीको सुनवल नगरपालिका–१० स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजनाले स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराए पछि कृषि उत्पादनमा सहजता भएको छ । जंगलबाट बगेर आउने खोलाको पानीलाई बाँध निर्माण गरी सङ्कलन तथा व्यवस्थापन गरेर सिँचाइमा प्रयोग गर्न थालिएपछि किसानलाई धान, गहुँ र तोरी खेती गर्न राहत पुगेको हो ।
सुनवल नगरपालिका–१० मा रहेको उक्त सिँचाइ आयोजनाबाट रामग्राम नगरपालिका–१४ सम्मका खेतबारीमा समेत सिँचाइ सुविधा पुगेको वडाध्यक्ष ओमप्रकाश यादवले जानकारी दिए । उनका अनुसार आयोजनाले सयौँ किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले समयमै धानको बीउ राख्न तथा खेतीपातीको काम गर्न पाएका छन् । यसअघि वर्षा र खोलामा उपलब्ध हुने पानीमा निर्भर रहनुपर्ने किसानलाई आयोजनाले कृषि कार्यमा सहजता प्रदान गरेको यादवले बताए । विशेषगरी हिउँदमा गहुँ र तोरी खेतीका लागि समेत सिँचाइ गर्न पाउँदा किसानलाई थप फाइदा पुगेको छ ।
करिब ५ सय मिटर लम्बाइमा जलासय फैलिएको छ । यस आयोजनाले झन्डै ५० हेक्टर क्षेत्रफलमा सिमसारसमेत निर्माण गरेको छ । सिँचाइका लागि पानी सङ्कलन तथा व्यवस्थापनसँगै सिमसार क्षेत्र बनेपछि स्थानीय वातावरण र वन्यजन्तुलाई समेत फाइदा पुगेको छ। जंगलबाट आउने खोलाको पानी सिमसारमा सङ्कलन हुँदा वनमा बस्ने विभिन्न जीवजन्तुलाई पानी पिउन सहज भएको छ । स्थानीयस्तरमा पानीको स्रोतलाई व्यवस्थित गरी कृषि प्रयोजनमा उपयोग गर्दा किसानको खेतीपातीमा सहजता थपिनुका साथै प्राकृतिक जलस्रोत र सिमसार संरक्षणमा समेत योगदान पुगेको छ । कृषि उत्पादनका लागि आवश्यक पानीको उपलब्धताले किसानलाई समयमै बाली लगाउन र हिउँदमा समेत खेती गर्न सहयोग पुगेको हो ।
सिँचाइ आयोजना सुनवल नगरपालिकामा अवस्थित भए पनि यसको लाभ रामग्राम नगरपालिका–१४ सम्मका किसानले पाउनु स्थानीय तहबीचको प्राकृतिक स्रोतको उपयोग र कृषि विकाससँग जोडिएको सकारात्मक पक्ष हो। सिँचाइ सुविधा विस्तारसँगै खेतीयोग्य जमिनको सदुपयोग, कृषि उत्पादनमा वृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउन यस्ता आयोजनाको महत्त्वपूर्ण भूमिका रहने देखिन्छ । बन जंगलबाट बगेर खेत जाने यस्ता दर्जंनौ खोला र कुलालाई बाँध बनाई सिचाई प्रणालीमा परिणत गर्न सकियो भने तराईका किसानलाई सिचाई सुविधा पुग्ने र यसले किसानले बालीनाली उत्पादनमा सहजत पुग्ने वार्ड अध्यक्ष यादवले बताएका थिए । किसानको उत्पादन बढाउन सके मात्र मुलुकको कुल ग्राहस्त उत्पादन(जिडिपी) बढन सक्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।

