
नवलपरासी,८ कातिक
बुद्धकालीन इतिहाससँग जोडिएको सुगन्धित धान ‘कालानमक’ खेतीप्रति नेपाली किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा कुनै समय लोप हुने अवस्थामा पुगेको कालानमक धानको खेती पछिल्ला वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको हो ।
रामग्राम नगरपालिका ६ पोखरापालीमा लक्ष्मीनारायण गुप्ताले अहिले आफ्नो करिब डेढ विघा क्षेत्रफलमा कालानमक धान खेती गरेको बताए । विगतमा विभिन्न प्रजातीका हाईव्रिड लगायतका धानहरु रोपिने गरिएको थियो । तर पछिल्लो समय कालानमक धान रोप्न थालेको देखाए । कालनमक धान यसै क्षेत्रको बुद्धकालिन इतिहाससँग जोडिदा यो धान खेती गर्दा फरक गौरव र अनुभुति प्राप्त हुने गरेको उनले सुनाएका थिए । सरकारी स्तरबाट प्रवद्र्धन नगरिए पनि यस प्रति आफ्नै तरिकाले किसान आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुप्ता जस्तै जिल्लामा धेरै किसान अहिले कालानमक धान तर्फ आकर्षित देखिएका छन् ।
धान प्रवद्र्धनका लागि सरकारी कार्यक्रम भए पनि कालानमक धानलाई नै लक्षित गरि कुनै सरकारी कार्यक्रम छैन,ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले भने, किसान आफ्नै तरिकाले कालानमक धान खेती गर्न थालेका छन् । बर्षेनी यसको विस्तार हुदै गएको छ । इतिहास र स्थानिय गौरवसँग पनि यो धानको सम्बन्ध जोडिदा यस प्रति आकर्षण हुनु स्वभाविक भएको बताएका थिए ।
गुणस्तरीय बीउको उपलब्धता र बजारमा विशिष्ट चामलको माग बढ्दै जाँदा किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । कालानमक धानलाई ‘बुद्ध राइस’ अर्थात् बुद्ध धानका नामले समेत चिनिन्छ । यसको खेती प्राचीन कपिलवस्तु क्षेत्रसँग जोडिएको छ । स्थानीय मान्यताअनुसार कालानमक धानको खेती गौतम बुद्धको समय अर्थात् ईसापूर्व छैटौँ शताब्दी देखि हुँदै आएको हो । यसको ऐतिहासिक सम्बन्ध बौद्धकालीन कपिलवस्तु क्षेत्रसँग जोडिए पनि त्यसलाई पुष्टि गर्ने थप ऐतिहासिक तथा पुरातात्त्विक प्रमाण आवश्यक हुन्छ ।
कालानमक धान आफ्नो विशिष्ट सुगन्ध, स्वाद र नरम बनावटका कारण परिचित छ । यसमा जिंक र आइरन जस्ता पोषक तत्त्वसमेत पाइन्छन् । सन् २०१३ मा भारत सरकारले कुपोषण न्यूनीकरण सम्बन्धी प्रयास अन्तर्गत यसलाई ‘न्युट्रिफार्म’ योजनामा समावेश गरेको विवरण छ । किसानलाई अनुदानमा बीउ उपलब्ध गराउन सरकारी कृषि बीउ भण्डारमार्फत वितरणको व्यवस्था गरिएको थियो। कालानमक किरण, एपीजे–१०६, एपीजे–०३ र होचो कालानमकजस्ता जातको परीक्षण पनि गरिएको विवरणमा उल्लेख छ । प्राचीन कपिलवस्तुसँग जोडिएको कालानमक धानको इतिहास र विशिष्ट गुणले नेपालका तराई क्षेत्रका किसानका लागि पनि सम्भावनाको ढोका खोल्न सक्छ । विशेषगरी कपिलवस्तु र पश्चिम नवलपरासीमा यसको खेतीको सम्भाव्यता अध्ययन गरी स्थानीय माटो तथा हावापानीअनुसार उपयुक्त जात परीक्षण गर्न सकिने देखिन्छ ।
नेपालमा यसको व्यावसायिक खेती विस्तार गर्न गुणस्तरीय बीउको उपलब्धता, प्राविधिक सहयोग, उत्पादन लागत, बजार सुनिश्चितता र उचित मूल्यमा बिक्री हुने व्यवस्था आवश्यक छ । साथै, कालानमक धानको ऐतिहासिक पहिचानलाई कृषि पर्यटन, स्थानीय खाद्य संस्कृति र परम्परागत बीउ संरक्षणसँग जोड्न सके किसानको आम्दानी बढाउन सहयोग पुग्न सक्छ ।
‘शुद्धोधन’ शब्दको अर्थ शुद्ध चामलसँग जोडेर व्याख्या गरिन्छ । हिमालयको फेदीमा अवस्थित क्षेत्रलाई धान उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । उत्खननका क्रममा भान्साको भण्डारका रूपमा प्रयोग भएको अनुमान गरिएको एउटा कोठाबाट कालानमक धानसँग मिल्दोजुल्दो जलेका धानका दाना प्राप्त भएका थिए । चिनियाँ यात्री फाहियानले उल्लेख गरेको विवरणसँग सम्बन्धित जनश्रुतिअनुसार, सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे पछि पहिलोपटक कपिलवस्तु भ्रमण गर्ने क्रममा बजहा जङ्गल हुँदै यात्रा गरेका थिए । त्यस क्रममा मथला गाउँका मानिसहरूले उनलाई रोकेर प्रसाद मागेका थिए ।
सिद्धार्थले भिक्षाटनबाट प्राप्त गरेको धान गाउँलेहरूलाई दिँदै दलदली क्षेत्रमा रोप्न आग्रह गरेको किंवदन्ती छ । त्यसबाट उत्पादन हुने धानमा विशेष सुगन्ध आउने र त्यसले मानिसहरूलाई आफ्नो सम्झना गराउने कुरा उनले बताएका थिए भन्ने जनविश्वास रहेको छ ।
ब्रिटिस शासनकालमा कालानमक धानको संरक्षण र व्यापार
ब्रिटिस शासनकालमा कालानमक धानको संरक्षण तथा व्यावसायिक उत्पादनका लागि पहिलो प्रयास बेलायती नागरिक विलियम पेपे, जे.एच. हेम्प्रे र एड्कन वाकरले गरेको उल्लेख छ । उनीहरूले ठूलो परिमाणमा कालानमक धान उत्पादन गर्ने उद्देश्यले चारवटा जलाशय निर्माण गराएका थिए । उनीहरूले आफ्नै उपभोगका लागि मात्र नभई व्यापारिक प्रयोजनका लागि पनि यसको उत्पादन गर्थे ।
कालानमक धानको बढ्दो मागसँगै उस्का बजार मण्डीबाट बंगलादेशको अहिलेको ढाका हुँदै समुद्री मार्गबाट बेलायतसम्म चामल पठाउने गरिएको विवरण छ । यसको व्यापारिक सम्भावना बुझेपछि ब्रिटिसहरूले कपिलवस्तु वरपरको जमिनमा आफ्नो नियन्त्रण विस्तार गर्दै बँधुवा श्रम प्रयोग गरी कालानमक धान उत्पादन तथा निर्यात गरिने गरेको विवरणसमेत पाइन्छ । पछि गुजराती व्यापारीहरूले यसको व्यापारिक सम्भावना पहिचान गरी उस्का बजारमा मण्डी स्थापना गरे । उनीहरूसँग प्रतिस्पर्धा गर्न ब्रिटिस व्यापारीहरूले धान तथा चामल ढुवानीका लागि मालवाहक रेलमार्ग निर्माण गरेको उल्लेख छ ।

