
सिमसार, जलविहार, वनविहार र धार्मिक सम्पदाले बढाउँदै पर्यटकीय आकर्षणस चुरेका चुचुरोमा पदयात्रा सञ्चालन गर्ने तयारी
नवलपरासी,९ कातिक
वन भन्नासाथ काठ, दाउरा र घाँसको स्रोत मात्र सम्झिने परम्परागत सोचलाई बदल्दै जिल्लाको बर्दघाट स्थित चिसापानी सामुदायिक वनले प्रकृति, संस्कृति र पर्यटनलाई एकै ठाउँमा जोड्ने प्रयास गरिरहेको छ । हरियाली वन, सिमसार क्षेत्र, जलविहार, मत्स्यपालन, वन्यजन्तुको अवलोकन तथा हिन्दु र बौद्ध धर्मावलम्बीका धार्मिक सम्पदाले चिसापानी सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै लगेका हो ।
जिल्लाकै पहिलो सामुदायिक वनका रूपमा पर्यापर्यटनको अवधारणा अघि बढाएको चिसापानीले वन संरक्षणसँगै स्थानीय आयआर्जन र पर्यटकीय गतिविधिलाई विस्तार गर्ने सम्भावना देखाएको छ । यहाँ प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने देखि धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न चाहनेसम्मका पर्यटकका लागि आकर्षणका विभिन्न आधार तयार गरिएका छन् । सामुदायिक वनभित्र व्यवस्थापन गरिएको सिमसार क्षेत्रमा मत्स्यपालनसँगै ढुङ्गाबाट जलविहार गर्ने व्यवस्था छ । वनविहार, पोखरीमा माछा मार्ने अर्थात् फिसिङ गर्ने गतिविधि र बालबालिकाका लागि वन्यजन्तुको अवलोकन गर्न सकिने मिनी चिडियाखानाले यस क्षेत्रलाई पारिवारिक घुमफिरको गन्तव्यका रूपमा समेत चिनाउन थालेका छन्। वन क्षेत्रभित्र मृगलगायतका वन्यजन्तु राखिएको छ । यसले बालबालिकालाई प्रकृति र वन्यजन्तुबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यस क्षेत्रको अर्को विशेषता धार्मिक तथा सांस्कृतिक सम्पदा हो । वनभित्र रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीका मठमन्दिर र चैत्यले प्राकृतिक पर्यटनसँगै आध्यात्मिक पर्यटनको सम्भावनालाई पनि जोडेको छ । प्रकृतिको अवलोकन, धार्मिक स्थलको दर्शन र शान्त वातावरणमा समय बिताउने अवसर एउटै क्षेत्रमा उपलब्ध गराउने प्रयासले चिसापानीलाई अन्य पर्यटकीय स्थलभन्दा फरक पहिचान दिने आधार तयार गरेको छ ।
काठदाउराभन्दा बाहिर वनको आर्थिक सम्भावना
चिसापानी सामुदायिक वनको पर्यापर्यटन विकासको अवधारणामा सामुदायिक वनका अभियन्ता कमल परियारको भूमिका महत्त्वपूर्ण छ । वनलाई काठदाउराको स्रोतका रूपमा मात्र सीमित नराखी संरक्षणसँगै आयआर्जनको दिगो माध्यम बनाउनुपर्ने सोचका साथ आफूले पर्यापर्यटनको अवधारणा अघि बढाएको परियार बताउँछन् । उनका अनुसार वन क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनसँग जोड्न सके सामुदायिक वनको उपयोगिता अझ विस्तार गर्न सकिन्छ । वनको संरक्षण गर्दै पर्यटक आकर्षित गर्ने, स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने र समुदायलाई वनबाट प्राप्त हुने लाभका वैकल्पिक स्रोत उपलब्ध गराउने उद्देश्य यस अवधारणासँग जोडिएको छ । चिसापानी सामुदायिक वनमा सञ्चालित पर्यापर्यटन क्षेत्रको सञ्चालन तथा व्यवस्थापन सप्तरङ्गी कृषि तथा पशुपालन फर्म प्रालिले गर्दै आएको छ । उक्त फर्मले पर्यटकको सुविधालाई ध्यानमा राख्दै सप्तरङ्गी क्याफेटेरिया तथा फन पार्कसमेत सञ्चालनमा ल्याएको परियारले जानकारी दिए । वनभित्रको प्राकृतिक वातावरणमा घुमफिरसँगै खानपान र मनोरञ्जनको सुविधा उपलब्ध गराउने प्रयासले पर्यटकलाई केही समय बिताउन सहज बनाएको छ । पर्यटकको आवश्यकतालाई ध्यानमा राखेर थप गतिविधि विकास गर्न सके यस क्षेत्रको आकर्षण र आर्थिक सम्भावना दुवै बढ्ने देखिन्छ ।
चुरेको चुचुरोमा पदयात्रा गराउने योजना
चिसापानी सामुदायिक वनले अब प्राकृतिक र सांस्कृतिक पर्यटनसँगै साहसिक पर्यटनलाई पनि जोड्ने तयारी गरेको छ। यसअन्तर्गत चुरे क्षेत्रका चुचुरासम्म पदयात्रा सञ्चालन गर्ने सम्भाव्यता अध्ययन भइरहेको परियारले बताए । “नेचर, कल्चर र एडभेन्चरलाई एकै ठाउँमा जोड्ने हाम्रो योजना छ,” उनले भने, “निकट भविष्यमै चुरेका चुचुरामा स्थानीयस्तरबाट पदयात्रा गराउने उद्देश्यले सम्भाव्यता अध्ययन र पदमार्ग पहिचानको काम अघि बढाइरहेका छौँ।”
उनका अनुसार चुरेका उपयुक्त स्थानबाट उत्तरतर्फ फैलिएका महाभारत पर्वतशृङ्खला तथा हिमालय पर्वतको दृश्यावलोकन गर्न सकिने सम्भावना छ । पदमार्गको पहिचान, पर्यटकीय सुविधाको विकास र आवश्यक व्यवस्थापन गर्न सके चिसापानीमा आउने पर्यटकलाई वनभित्रको घुमफिरभन्दा बाहिर नयाँ अनुभव प्रदान गर्न सकिने उनको विश्वास छ । विशेषगरी भारतको बिहार र उत्तर प्रदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र साहसिक गतिविधिको संयोजन प्रस्तुत गर्ने योजना रहेको उनले बताए। सीमावर्ती क्षेत्रबाट आउने पर्यटकका लागि आकर्षक गन्तव्य विकास गर्न सके चिसापानीको पहिचान जिल्लाभन्दा बाहिरसमेत विस्तार हुन सक्ने देखिन्छ । तर, पदयात्रा सञ्चालन गर्दा चुरेको संवेदनशील पारिस्थितिक प्रणालीको संरक्षण, वन्यजन्तुको बासस्थान, सुरक्षित पदमार्ग र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।
ध्यान, संस्कृति र मनोरञ्जनको साझा थलो
चिसापानी सामुदायिक वनले पर्यटकका लागि मनोरञ्जनका गतिविधि मात्र नभई शान्त वातावरणमा ध्यान तथा अभ्यास गर्न सकिने स्थान विकास गर्ने योजनासमेत अघि बढाएको छ । वनभित्र ध्यान अभ्यासका लागि छुट्टै सुरक्षित क्षेत्र व्यवस्थापन गर्ने तयारी भइरहेको परियारले बताए । वनको प्राकृतिक शान्ततालाई ध्यान र आध्यात्मिक अभ्याससँग जोड्न सके यसले फरक प्रकृतिका पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ । त्यसैगरी स्थानीय सांस्कृतिक समूहलाई वन क्षेत्रमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको उनले जानकारी दिए । यसले पर्यटनलाई घुमफिर र मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनसँग जोड्ने अवसर प्रदान गर्न सक्छ। धार्मिक स्थल, सांस्कृतिक प्रस्तुति र प्राकृतिक वातावरणबीचको सम्बन्धलाई व्यवस्थित रूपमा विकास गर्न सके चिसापानी स्थानीय पहिचान झल्काउने पर्यटकीय केन्द्रका रूपमा अघि बढ्न सक्ने देखिन्छ । परियारका अनुसार हाल यस पर्यापर्यटन क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । यहाँ घुम्न आउने पर्यटक खुसी र उत्साहित भएर फर्किने गरेको उनको भनाइ छ । पर्यटकको सकारात्मक प्रतिक्रियाले सामुदायिक वन समूहलाई पर्यापर्यटन सञ्चालन र विस्तारका लागि थप उत्साहित बनाएको उनले बताए ।
राजमार्गको पहुँचले बढाएको सम्भावना
चिसापानीको अर्को महत्त्वपूर्ण पक्ष यसको भौगोलिक अवस्थिति हो । पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने बर्दघाट पश्चिम नेपालबाट पूर्वी नेपाल तथा राजधानी काठमाडौं जाने यात्रुका लागि प्रमुख आवागमन क्षेत्र हो। लुम्बिनी प्रदेशको पूर्वी भेगको प्रवेश क्षेत्रका रूपमा समेत परिचित यस स्थानमा रहेको पर्यापर्यटन क्षेत्रले यात्रुलाई केही समय रोकिने, प्रकृतिमा रमाउने र स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदा अवलोकन गर्ने अवसर दिन सक्छ । लुम्बिनी आउने पर्यटकलाई पनि चिसापानीतर्फ आकर्षित गर्न सकिने सम्भावना रहेको परियार बताउँछन्। लुम्बिनीको बौद्ध सम्पदा अवलोकन गर्न आउने पर्यटकलाई प्रकृति, वन्यजन्तु र चुरेको दृश्यावलोकनसँग जोड्न सके यस क्षेत्रले पर्यटनको थप गन्तव्यका रूपमा स्थान बनाउन सक्ने उनको अपेक्षा छ ।

यसका लागि लुम्बिनी आउने पर्यटकलाई लक्षित प्रचारप्रसार, पर्यटकीय मार्गसँगको समन्वय र स्थानीयस्तरमा आवश्यक सुविधाको विकास महत्त्वपूर्ण हुने देखिन्छ। राजमार्गको पहुँचलाई अवसरका रूपमा उपयोग गर्दै पर्यटकको बसाइ अवधि बढाउने गतिविधि विकास गर्न सके स्थानीय व्यवसाय र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । चिसापानी सामुदायिक वनको पर्यापर्यटन विकासमा लुम्बिनी प्रदेश सरकार तथा डिभिजन वन कार्यालयले समेत सहयोग गर्दै आएको परियारले बताए । सरकारी निकाय, सामुदायिक वन समूह र निजी क्षेत्रबीचको सहकार्यले यस क्षेत्रको व्यवस्थित विकासमा थप योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

