दुई वर्षदेखि चिकित्सक विहीन नवलपरासीको पाल्हीनन्दन अस्पताल

नवलपरासी,३१ भदौ
जिल्लाको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको आधारभूत अस्पताल दुई वर्ष देखि मेडिकल अधिकृत विहीन हुँदा अस्पतालको नियमित सेवा प्रभावित भएको छ । पन्ध्र शैयाको क्षमतामा सञ्चालनका लागि निर्माण गरिएको अस्पतालमा आवश्यक चिकित्सक नहुँदा स्वास्थ्य सहायकको भरमा अस्पताल सञ्चालन गर्न परेको हो ।
अस्पतालमा चिकित्सक नहुदा आधारभुत स्वास्थय सेवा बाहेक चिकित्सिय सेवाको उपचारका लागि आउने बिरामीले अपेक्षित सेवा पाउन नसकेको स्थानीयको गुनासो छन् । अस्पताल बन्यो,स्थानिय प्रेम सागर पटेलले भने,तर सेवा स्वास्थ्यचौकी सरहको छ । बोर्डमा अस्पताल लेखेर के उपलब्धी भयो,उनले थपे,जब सेवा पहिला जस्तै स्वास्थ्य चौकी स्तरकै छ । बर्थिगँ सेन्टर र प्याथोलोजि सेवा सञ्चालनमा छ । तर चिकित्सक नभएका कारण विरामी भर्ना गरेर उपचार गर्ने,परिक्षणका लागि प्रिप्सक्रिप्सन लेख्ने कार्य हुन सकेको छैन् । गाँउमा अस्पताल बने पनि अस्पतालको सेवाका लागि स्थानियबासी परासी अस्पताल नै पुग्न परेको उनको भनाई थियो ।
अस्पतालमा अहिले पनि चिकित्सक बाहेक दरबन्दी भन्दा बढि ३० जना कर्मचारी भएको अस्पतालका निमित्त प्रमुख जनस्वास्थ्य निरिक्षक वृजेश यादवले बताए । उनका अनुसार चिकित्सकले दिइने सेवा बाहेकका सेवा दिदै आएका छौ, उनले भने,तर चिकित्सकले दिइने परामर्श र उपचारका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल रिफर गर्न परिरहेको छ । सो अस्पतालमा चिकित्सको रुपमा १ जना एमडि जनरल प्रेक्टिनर(एमडिजिपि) र २ जना मेडिकल अधिकृत सहित ३ जना चिकित्सक दरबन्दी कायम छ । तर दुई बर्ष देखी अस्पताल चिकित्सक विहिन बनेको छ । यसबारे पाल्हीनन्दन गाउपालिकाले लुम्बिनी प्रदेश सरकार र जिलला स्वास्थ्य कार्यालयसँग पनि माग गरि सकेको गाउपालिकाले जनाएको छ ।
सरकारले करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरेको अस्पतालमा दरबन्दीअनुसार मेडिकल अधिकृत नहुँदा अस्पतालको सेवा सञ्चालनमा कठिनाइ भएको गाउँपालिकाको स्वास्थ्य शाखाले स्वीकार गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताका अनुसार पन्ध्र शय्याको अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अस्पतालको उद्देश्यअनुसार सेवा दिन कठिन भएको हो । मेडिकल अधिकृतको माग गर्दै लुम्बिनी प्रदेश सरकारसँग आग्रह गरिए पनि हालसम्म चिकित्सक उपलब्ध हुन नसकेको उनले बताए । “पन्ध्र शय्याको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ,” गुप्ताले भने, “विशेषगरी मेडिकल अधिकृतको अभावमा आकस्मिक तथा प्रसूति सेवा सहित बिरामीको उपचारमा कठिनाइ भइरहेको छ ।”
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले विगतमा सो अस्पतालमा छात्रवृतिका चिकित्सक(डाक्टर) पठाउन खोजेको तर स्वास्थ्य शाखाबाट चाँसो नलिदा चिकित्सकहरु हाजिर नभएको दाबी गरेका थिए । पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले मेडिकल अधिकृत नहुँदा वडाका नागरिक उपचारका लागि जिल्ला अस्पताल तथा निजी अस्पतालमा जान बाध्य भएको बताए । उनका अनुसार अस्पतालमा मेडिकल अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ । “मेडिकल अधिकृत नहुँदा स्थानीयलाई समस्या भइरहेको छ,” सहानीले भने, “मेडिकल अधिकृत भर्ना गर्ने प्रक्रिया अघि बढिरहेको छ । चिकित्सक आए पछि अस्पतालको सेवा थप व्यवस्थित हुने अपेक्षा गरेका छौँ।”
अस्पताल व्यवस्थापनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित वडाध्यक्षलगायतको सहभागिता रहेको स्वास्थ्य शाखाले जनाएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने विषयमा गाउँपालिका तहबाट पहल भइरहेको बताइएको छ । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण तथा स्तरोन्नति गरिएका स्वास्थ्य संस्थामा पूर्वाधारसँगै आवश्यक जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ । उनीहरूका अनुसार भवन, उपकरण र अन्य भौतिक पूर्वाधार उपलब्ध भए पनि चिकित्सक नहुँदा अस्पतालको प्रभावकारी सञ्चालन हुन सकेको छैन ।
पन्ध्र शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने मेडिकल अधिकृतलगायत स्वास्थ्य जनशक्ति व्यवस्थापन नहुँदा अस्पतालमा आउने बिरामीलाई उपचार तथा परामर्श सेवामा समस्या भइरहेको स्वास्थ्य शाखाले जनाएको छ। विशेषगरी आकस्मिक अवस्थाका बिरामी तथा प्रसूति सेवाका लागि आउने सेवाग्राहीलाई समयमै चिकित्सकीय सेवा उपलब्ध गराउन चुनौती रहेको बताइएको छ ।
गाउँपालिकाले अस्पतालको सेवा प्रभावकारी बनाउन प्रदेश सरकारसँग चिकित्सक उपलब्ध गराउन माग गर्दै आएको जनाएको छ। स्वास्थ्य शाखाका अनुसार मेडिकल अधिकृतको उपस्थितिले अस्पतालको नियमित उपचार, आकस्मिक सेवा, प्रसूति सेवा तथा स्वास्थ्यकर्मीको सुपरिवेक्षणलगायत कामलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ । स्थानीय नागरिकले भने अस्पताललाई पन्ध्र शय्याको संरचनामा विस्तार गरिसकेपछि त्यसअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी र पदपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
उनीहरूका अनुसार सरकारी लगानीमा निर्माण भएको अस्पतालबाट स्थानीयले सहज, सुलभ र भरपर्दो उपचार पाउने वातावरण बनाउन अब पूर्वाधारभन्दा पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । मेडिकल अधिकृतको पदपूर्ति भएपछि अस्पतालको सेवा सुधार हुने विश्वास गाउँपालिका तथा स्वास्थ्य शाखाले व्यक्त गरेको छ । तर दुई वर्षदेखि चिकित्सकविहीन रहेको अस्पतालमा कहिलेसम्म नियमित चिकित्सकीय सेवा पूर्ण रूपमा सञ्चालन हुन्छ भन्ने विषयमा भने स्थानीयको चासो कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *