
नवलपरासी । पश्चिम नवलपरासीमा स्वास्थ्य क्षेत्रअन्तर्गत सञ्चालन भएका कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यसम्बन्धी योजना तथा प्राथमिकता निर्धारण गरिएको छ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा भूमहीमा भएको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीबारे समीक्षा गरिएको हो। समीक्षा पश्चात् स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लाका स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवाको अवस्था, उपलब्धि, चुनौती तथा स्वास्थ्यसम्बन्धी सूचकांकको समीक्षा गरी आगामी योजना तयार गरिएको बताए।
वार्षिक समीक्षा कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सेवा विस्तारलगायतका विषयमा समीक्षा गरिएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालयसँगै जिल्लाका सातवटै स्थानीय तह, १२ वटा विकास साझेदार संस्था, पृथ्वीचन्द्र अस्पताल तथा डा. विनोद निता कँडेल आँखा अस्पतालबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको समेत मूल्यांकन गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा स्थानीय तहले हासिल गरेको प्रगतिलाई विभिन्न २९ वटा सूचकका आधारमा मूल्यांकन गरिएको थियो। स्वास्थ्य सेवाको पहुँच, कार्यक्रम कार्यान्वयन, लक्षित वर्गसम्म सेवा पुग्ने अवस्था तथा स्वास्थ्यसम्बन्धी उपलब्धिलाई मूल्यांकनको आधार बनाइएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत यवदेव न्यौपानेले बताए।
मूल्यांकनमा रामग्राम नगरपालिका पहिलो, सरावल गाउँपालिका दोस्रो र प्रतापपुर गाउँपालिका तेस्रो भएका छन्।

त्यसैगरी नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थामध्ये पञ्चनगर स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ भने गाउँपालिकातर्फ गुठी सूर्यपुरा स्वास्थ्य चौकी उत्कृष्ट बनेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव ‘रुदल’ले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा जनप्रतिनिधिबीच थप समन्वय आवश्यक रहेको बताए।
उनले स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै देखिएका कमजोरी सुधार गर्न र नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आगामी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
वार्षिक समीक्षाबाट प्राप्त निष्कर्ष र मूल्यांकनलाई आधार बनाएर आगामी आर्थिक वर्षमा जिल्लाको स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
