
नवलपरासी, २० भदौ ।
रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्।
बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्।
यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्।
चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ।
विपद्का बेला राहत र सहयोग केवल तत्कालीन आवश्यकतामा सीमित नराखी प्रभावित परिवारका बालबालिकाको भविष्यसँग जोड्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको स्थानीयको भनाइ छ। यादवको यो सहयोगले विपद्का कारण पीडामा रहेको चौधरी परिवारलाई आर्थिक राहतसँगै मनोवैज्ञानिक रूपमा समेत हौसला प्रदान गरेको छ।
