पाल्हीनन्दन गाउँपालिकाद्वारा विद्युत् महसुलबापत ३८ लाखभन्दा बढी भुक्तानी

नवलपरासी,३१ असोज

अन्य पालिकाका लाखौ रुपिया बक्यौता राख्दै जरिवाना तिर्दै आएको भए पनि नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सडकबत्ती, गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरूको विद्युत् महसुलबापत ३८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। गाउँपालिकाले पहिलोपटक बक्यौता रकमसँगै चालु आर्थिक वर्षको विद्युत् महसुलसमेत अग्रिम रूपमा बुझाएको हो।

गाउँपालिकाका लेखा अधिकृत सञ्जय शर्माका अनुसार नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रलाई कुल ३८ लाख ७३ हजार ६०८ रुपैयाँ बुझाइएको छ। उक्त रकममध्ये सडकबत्तीको महसुलबापत २० लाख रुपैयाँ तथा गाउँपालिका कार्यालय र वडा कार्यालयहरूको बाँकी बक्यौता र चालु आर्थिक वर्षको अग्रिम महसुल समावेश रहेको छ।

विद्युत् महसुलको बक्यौता व्यवस्थापन गर्दै चालु आर्थिक वर्षको दायित्वसमेत समयमै भुक्तानी गर्ने उद्देश्यले रकम बुझाइएको लेखा अधिकृत शर्माले बताए। यसले गाउँपालिकाको नियमित खर्च व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेका अनुसार पाल्हीनन्दन गाउँपालिकाले प्रत्येक वर्ष नयाँ बजेट कार्यान्वयनसँगै विद्युत् महसुल अग्रिम भुक्तानी गर्दै आएको छ। प्राधिकरणले एक वर्षमा लाग्ने अनुमानित विद्युत् महसुलको विवरण उपलब्ध गराएपछि गाउँपालिकाले सोहीअनुसार रकम बुझाउने गरेको उनले जानकारी दिए।

प्रमुख पाण्डेका अनुसार वर्षको सुरुमै विद्युत् महसुल भुक्तानी गर्दा बक्यौता बढ्ने र जरिवाना तिर्नुपर्ने अवस्था आउनबाट बच्न सकिन्छ। साथै, नियमानुसार उपलब्ध हुने छुटको लाभसमेत लिन सकिने उनको भनाइ छ।

सडकबत्ती तथा सरकारी कार्यालयहरूको विद्युत् महसुल समयमै भुक्तानी गर्ने गाउँपालिकाको अभ्यासले सार्वजनिक खर्च व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै विद्युत् महसुलको बक्यौता बढ्न नदिने अपेक्षा गरिएको छ। नियमित भुक्तानीको यो अभ्यासले गाउँपालिकाको वित्तीय अनुशासन कायम गर्न र विद्युत् सेवा व्यवस्थापनलाई सहज बनाउन सहयोग पुग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *