शहीद जगदीश पासवान विद्यालयका १ सय ५७ विद्यार्थीलाई ट्र्याकसुट वितरण

नवलपरासी ३१ असार
ग्लोबल आइएमई बैंक लिमिटेड, सरावल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका–६, पडरीस्थित शहीद जगदीश पासवान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्याकसुट वितरण गरेको छ । बैंकले कार्यक्रम विच सो विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई १सय ५७ थान ट्र्याकसुट वितरण गरेको हो ।
बैंकले शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आइएमई बैंकको प्रदेश कार्यालय बुटवलका अपरेसन म्यानेजर प्रकाश ज्ञवालीले विद्यार्थीहरूलाई ट्र्याकसुट हस्तान्तरण गर्दै शिक्षा क्षेत्रको विकासमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको बताएका थिए । विद्यालय तहका विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले उनीहरूको मनोबल बढाउनुका साथै नियमित पठन पाठनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त समेत गरेका थिए । उनले बैंक केवल वित्तीय कारोबारमा सीमित नभई समाजप्रति उत्तरदायी संस्थाका रूपमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै सामाजिक रूपान्तरणमा योगदान दिने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
कार्यक्रमको समन्वय सोही बैंक, सरावल शाखाका शाखा प्रबन्धक जितेन्द्र अग्रहरीले गरेका थिए । उनले पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख दायित्वका रूपमा लिँदै विद्यालय, स्वास्थ्य संस्था तथा समुदायसँग जोडिएका आवश्यक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी गराएका थिए । स्थानीय समुदायको आवश्यकता पहिचान गरी प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्ने नीति बैंकले अवलम्बन गरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले बैंकको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो । उनीहरूले आर्थिक अवस्था कमजोर भएका धेरै विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध भए पछि विद्यालय पोसाक व्यवस्थापनमा सहज हुने र विद्यार्थीहरूमा थप आत्मविश्वास तथा उत्साह बढ्ने विश्वास व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक ले यस्ता सहयोगले विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न, नियमित उपस्थितिमा वृद्धि गर्न तथा अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । निजी क्षेत्रबाट हुने सामाजिक सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने उनको भनाइ थियो । ट्र्याकसुट प्राप्त गरेका विद्यार्थीहरू पनि निकै उत्साहित देखिएका थिए । उनीहरूले नयाँ पोसाक पाउँदा खुसी लागेको र अझ लगनशील भएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी अभिभावकहरूले बैंकले देखाएको सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । बैंकले देशभर शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *