
नवलपरासी,१७ असार
नेपालकै पहिलो पँगास(बैखी)माछाका भुरा निकाल्न ह््याचरी निर्माण नवलपरासीको प्रतापपुर २ सेमरी स्थित एक कृषि अनुसंधान कम्पनीले शुरु गरेको छ । नेपालमा बैखी माछाको बजारको सम्भावना राम्रो रहेको जनाउदै ए.के.एक्वा रिसर्च ह्याचरी प्रालि प्रतापपुर २ ले बैखी माछाको ह्याचरी निर्माण गर्न लागेको हो ।
अहिलेसम्म नेपालमा माछा पालन गर्ने किसानहरु बैखी माछाको भुरा भारत लगायत अन्य मुलुकबाट मगाउदै पालन गर्दै आएकोमा अब केही दिनमै सो समस्या साधान गर्ने गरि ह्याचरी निर्माण कार्य भई रहेको प्रालिका सञ्चालन भवानीशंकर यादवले बताउछन् । विगत डेढ दशक देखी कार्प जातीका माछापालन गर्दै आएका यादव पछिल्लो तिन बर्ष देखी बैखी माछापालन तर्फ लागेका थिए । तिन बर्षसम्म बैखी माछाबाट मनग्य आमदनी गर्न सक्ने सम्भावना देखेर नै उनी अहिले अन्य मुलुकबाट भुरा मगाउदा केही झन्झटिलो हुने,उन्नत प्रजाती भन्दा केही कमसल हुने,खोजेको बेला उपलब्ध नहुने जस्ता समस्या देखेर अहिले आफ्नै फर्ममा २५ लाख लगानी गरि ह्याचरी निर्माण गराई रहेको सुनाए । तिन महिना देखी ह्याचरी निर्माण कार्यमा जुटेका छौ, उनी भन्छन, ह्याचरी निर्माण पछि आफुलाई पनि बैखी माछाको भुरा सहज आपुर्ति हुन्छ । बाकी किसानलाई पनि सप्लाई दिन सकिन्छ, भनेर लगानी गरेको हुँ ।
गत बर्ष आफु डेढ लाख भुरा कलकत्ताबाट मगाएको सुनाउदै भन्छन्,नेपालमा प्रति सिजन ३ करोड देखी ५ करोड भुरा माग हुने गरेको छ । आफुले भोगेका समस्या अन्य किसानलाई पनि होला,त्यही भएर नेपालमै प्रविधि र प्राविधिकको ब्यवस्थापन गरि बैखी माछाको भुरा निकाल्ने योजना बनाएको हुँ,निर्माण कार्य अन्तिम चरणमा छ । एक दुई दिन भित्रै ह्याचरी सञ्चालनमा आउन सक्छ । एक पटकमा ६० लाख बच्चा ह्याच(जन्मन) सक्छन् । यसका लागि उन्नत जातीको माँउ माछाको समेत ब्यवस्थापन भई सकेको छ । उत्पादिन ह्याचरी नेपाल भरि नै सप्लाई दिइने गरि योजना समेत रहेको सुनाएका थिए । त्यसका लागि पनि ढुवानीका लागि सुरक्षित प्रवन्ध मिलाउने कार्य भई रहेका छन् । जस्ले किसानलाई नेपालबाटै बैखीको भुरा प्राप्त गर्न सहज हुने छ । भारतबाट ल्याइने भुरा भन्दा कम दररेटमा उपलब्ध गराईने उनको भनाई थियो ।
उनका कान्छा छोरा पनि माछामै अध्ययन गरि काम गरिरहेको भए पनि यसका लागि उनले अनुभवी थाईलैण्ड र बंगालबाट गरि थप दुई जना मत्य प्राविधिक बोलाई काम गराउदै आएको सुनाए । ति प्राविधिकहरु आफ्ना मुलुकमा बर्र्षाै यस्ता बैखी माछाका भुरा उत्पादन गर्नमा अनुभव प्राप्त छन् । फर्ममा प्रविधि मात्र भएर हुदैन, उनी भन्छन्,प्राविधिक पनि चाहिन्छ,त्यसका लागि जहाँबाट प्राविधि ल्याएको छु,त्यहीबाट प्राविधिक पनि झिकाएको छु । कृषि फर्ममा करोर्डौको लगानी छ,उनी भन्छन्,तर करोडौको लगानीमा बनेका पोखरीमा माछाका भुरा अरुको भरमा पर्दा नोक्सानदायक रहेको छ । यसका लागि वरिपरिका अन्य किसानसँग पनि साझेदरी गरेर बैखी माछाको विस्तार गर्ने लक्ष्य समेत उनले सुनाएका थिए । माछाका भुरासँगै भविष्यमा भाछाका लागि आवश्यक दाना पनि बनाउने योजना छ,तर पहिला भुरा आवश्यक महशुस गरेर ह्याचरी राख्न लागियो । दानाका लागि दाना उद्योगसँग नै गुणस्तरिय दाना बनाउने सर्तमा सम्झौता भई कार्य गरिने छ ।
नेपालमा हालको उत्पादिन बैखी माछाले नेपालको बजार धान्न गाह्रो छ । भारतको आन्द्र प्रदेशबाट नै उत्पादित भएर आउने बैखी माछाको नेपालमा बजार छ । नेपाल मत्स्य विकास संघका केन्द्रिय कोषाध्यक्ष समेत रहेका यादवले माछामा अझै पनि नेपाल परनिर्भर छ । यसका लागि मत्स्य पालक किसानलाई अवसर छ । तर अवसरलाई लागत घटाउने तर्फ पनि जानु पर्ने आवश्यकता रहेको छ । भारतको सस्तो दरको माछा नेपालमा भित्रिदा नेपाली किसानलाई नोक्सानी ब्यहोर्न परेको छ ।
किसान नोक्सानीमा जाने र भारतिय माछाले बजार पाउनेमा नीति निर्माण तह मै नीति माफियाको विगविगि छ, उनी भन्छन्,नीति माफियाकै मतियार नेपालका उच्च स्तरका अधिकारी पनि छन् । यस्ले गर्दा नेपालमा कृषिलाई बढावा दिईने नारा बन्छ,तर नीतिलाई जटिल बनाई दिएर किसानलाई नोक्सानी तर्फ धकेल्ने कार्य हुन्छ । एक दुई पटक नेपाली किसानहरु उत्साह भरेर काम गर्न खोज्छन्,तर राज्य र र सरकारबाट पाउने संरक्षण,प्राविधिक र आर्थिक सहयोग पाउन सक्दैनन् । बाध्य भएर आफ्नो कृषि पेशाबाट हात झिकेर बैदेशिक रोजगारीमा जान बाध्य पर्ने गरेका छन् ।
भारतबाट आउने अधिकाँस पंगास(बैखी) माछा नै हुन,जुन ठूल्ठूला होटल देखी शहरी क्षेत्रका उपभोतmाका भान्सामा पुग्छ । तर त्यसलाई वढावा दिइने गरि सरकारले काम गर्दैन् । जस्ले गर्दा भारतिय ब्यपारीहरु नेपाली माफियासँग मिलेर बैखी माछाको नेपालमा सामराज्य चलाएका छन् । उनका अनुसार विराटनगर नाकाबाट मात्रै दैनिक १५ मे.ट.माछा नेपाल भित्रिन्छ,विरगँज नाकाबाट पनि १० मे.ट.माछा आउछ, सोनौली नाकाबाट पनि २० मे.ट.सम्म माछा आउने गरेको अनुमान संघले गरेको छ । नेपालगँज नाकाबाट पनि १० मे.ट.माछा नेपाल भित्रिन्छन् । ति अधिकाँस माछा भारत आन्द्र प्रदेशबाटै आउने बैखी माछा हुने गरेको उनको भनाई थियो । यसरी दैनिक ५५ मे.ट.माछा नेपालमा भारतबाटै आउदा त्यसलाई प्रतिस्थापन मात्रै गर्न सक्ने गरि माछापालन किसानले काम गर्नु पर्ने आवश्यकता छ ।
नेपालका प्राविधिकहरुले पोखरीको गहिराई ६ फिटसम्म बनाउन किसानलाई परामर्श दिने गरेका छन्,उनी भन्छन्,तर आफुले ३० फिट गहिरो पोखरी बनाएर माछा पाल्दै आएको छु,जुन माछाका लागि सुरक्षित अवस्था बनेको छ । कम गहिराईको पोखरी घाममा तात्ने र जाडोमा
छिटो चिसो हुने हुदा माछा मर्ने असुरक्षा छ । पानीमुनी मोटरमार्फत हावा प्रवाह गरेर अक्सिजन पुर्याउन सकिन्छ, जुन डेढ विघा क्षेत्रफलको पोखरी भन्दा पाँच कट्ठाको गहिरो पोखरीले सुरक्षित उत्पादन लिन सकिन्छ । यसबारे नेपाली किसान अनभिज्ञ नै रहेको उनी सुनाउछन् ।


