
नवलपरासी, १७ असार
जिल्ला वन कार्यालय नवलपरासीले यस वर्ष जिल्लाका विभिन्न स्थानमा १ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना अघि सारेको छ । वन क्षेत्र विस्तार, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको हो ।
वन कार्यालयका अनुसार अभियान अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्र, सार्वजनिक खाली जग्गा, नदी उकास क्षेत्र, विद्यालय परिसर तथा सामुदायिक वनका खाली भागमा वृक्षारोपण गरिनेछ । वृक्षारोपणका लागि आवश्यक बिरुवा उत्पादनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । सिनियर डिभिजनल वन अधिकृतका राजु क्षेत्रीका अनुसार अनुसार हाल जिल्लाका विभिन्न नर्सरीमा १ लाख देखि डेढ लाखसम्म बिरुवा उत्पादन गरिएको छ । ती बिरुवामध्ये अधिकांश स्थानीय वातावरणसँग अनुकूल हुने तथा दीर्घकालीन रूपमा संरक्षण गर्न सकिने प्रजातिका रहेका छन ्। विरुवा उत्पादन गर्नेमा बन कार्यालयकै आफ्नो बडेरा स्थित नर्सरी सहित विभिन्न सेक्टर बन,साझेदारी तथा सामुदायिक बनहरुमा समेत स्थापित बन नर्सरीहरुमा विरुवा तयार भई रहेका छन्,अधिकृत क्षेत्रीले भने,केही दिनमै सबै नर्सरीबाट माग अनुसारको विरुवा उपलब्ध गराईने छ ।
“यस वर्ष जिल्लाभर १ सय हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य लिएका छौँ,” सिनियर डिभिजनल वन अधिकृतले क्षेत्रीले भने “यसका लागि आवश्यक बिरुवा नर्सरीमै तयारी अवस्थामा छन ्। वर्षा सुरु भएसँगै रोपाइँ कार्यलाई तीव्रता दिने योजना बनाएका छौँ।” कार्यालयका अनुसार साल, सिसौ, खयर, बकाइनो, नीम, अमला, हर्रो, बर्रो तथा विभिन्न फलफूलजन्य बिरुवालाई प्राथमिकता दिइएको छ । स्थानीय भूगोल, माटोको अवस्था र जलवायु अनुकूल हुने प्रजाति छनोट गरेर रोपण गरिने वन कार्यालयले जनाएको छ । वन कार्यालयका अधिकारीहरूका अनुसार वृक्षारोपण अभियान केवल बिरुवा रोपेर मात्र सीमित हुने छैन । रोपिएका बिरुवाको संरक्षण, हेरचाह तथा दीर्घकालीन व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ । विगतमा कतिपय स्थानमा वृक्षारोपण गरिए पनि संरक्षण अभावमा बिरुवा नष्ट हुने समस्या देखिएको थियो ।
यसपटक भने स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर वृक्षारोपण अभियानलाई प्रभावकारी बनाइने योजना रहेको छ । “बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई हुर्काउनु पनि उत्तिकै आवश्यक हुन्छ,” वन अधिकृतले भने “त्यसैले संरक्षण र नियमित अनुगमनमा विशेष ध्यान दिनेछौँ।” वन क्षेत्र विस्तारसँगै हरियाली प्रवद्र्धन, माटो कटान नियन्त्रण, भू–क्षय रोकथाम तथा जैविक विविधता संरक्षणमा अभियानले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, वर्षा प्रणालीलाई सहयोग पु¥याउन तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्न भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

स्थानीयवासीहरूले पनि वृक्षारोपण अभियानलाई सकारात्मक रूपमा लिएका छन ्। जिल्लाका विभिन्न स्थानमा पछिल्ला वर्षहरूमा वन क्षेत्र घट्दै जानु, खुला जमिन बाँझो रहनु तथा गर्मीको प्रभाव बढ्दै जानु चिन्ताको विषय बनेको छ। यस्तो अवस्थामा वृक्षारोपण अभियान प्रभावकारी हुन सके वातावरण संरक्षणमा ठूलो उपलब्धि हासिल गर्न सकिने स्थानीयको भनाइ छ । स्थानीयवासीले वन कार्यालयको योजना प्रशंसनीय रहेको बताउँदै अभियानमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा बताएका छन् । “वृक्षारोपण त धेरै ठाउँमा हुन्छ, तर संरक्षण कमजोर हुन्छ,” नागरिक समाज नवलपरासीका सचिव अनिल अग्रहरीले भने “यदि रोपिएका बिरुवाको सही संरक्षण गरियो, भने केही वर्षमै सकारात्मक परिणाम देख्न सकिन्छ।”
वन क्षेत्र संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका पनि महत्वपूर्ण रहने देखिएको छ । जिल्लामा रहेका सामुदायिक वन समूहहरूले वृक्षारोपण तथा संरक्षण अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूले वन क्षेत्रको दिगो व्यवस्थापनका लागि वृक्षारोपण आवश्यक भएको बताएका छन ्। उनीहरूका अनुसार खाली तथा उजाड क्षेत्रमा वृक्षारोपण गर्न सके वन क्षेत्र विस्तारसँगै स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्नेछ ।
वन कार्यालयले वर्षायामलाई लक्षित गरेर असारदेखि साउनसम्म वृक्षारोपण अभियान सञ्चालन गर्ने तयारी गरेको छ। पर्याप्त वर्षा भएका समयमा बिरुवा रोप्दा बाँच्ने सम्भावना बढी हुने भएकाले सोही अवधिमा अभियानलाई प्राथमिकता दिइएको हो
। वन अधिकृतहरूका अनुसार वृक्षारोपण वातावरणीय संरक्षणको प्रभावकारी माध्यम भए पनि यसको सफलताका लागि दीर्घकालीन सोच आवश्यक हुन्छ । सही स्थान छनोट, उपयुक्त प्रजातिको बिरुवा, नियमित स्याहार तथा सामुदायिक सहभागिता बिना वृक्षारोपण अभियानले अपेक्षित उपलब्धि दिन सक्दैन ।

