बर्षाै देखि सिल्ट सफाइ नहुँदा तुरिया सिँचाइ आयोजना अलपत्र, करोडौँको लगानी खेर जाने जोखिम

नवलपरासी,१३ मंसिर
जिल्लाको रामग्राम नगरपालिका–१५ र १६ का सयौँ बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले तुरियाखोला सिँचाइ आयोजना अहिले संरक्षण र मर्मतसम्भारको अभावमा अलपत्र पर्ने अवस्थामा पुगेको छ । करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको आयोजनाको जलभण्डार र नहरमा वर्षौंदेखि जम्मा भएको बालुवा तथा सिल्ट सफाइ नहुँदा सिँचाइ प्रणाली नै प्रभावित बनेको हो ।
सिचाई आयोजना अलपत्र हुदा महँगो बोरिङ सिँचाइमा निर्भर हुन थाले किसान, सरकारी निकायको बेवास्ताले खेतीपाती प्रभावित हुने स्थानिय किसानले बताएका छन् । बर्षाै देखि खोलाको सिल्ट तथा नहरमा थुप्रिएको बालुवा व्यवस्थित रूपमा सफाइ हुन सकेको छैन् । सिल्ट सफाई हुन नसक्दा आयोजनाबाट नियमित सिँचाइ सुविधा पाउन नसकेको स्थानीय किसानले बताएका छन् । कुनै समय तुरियाखोलाको पानीबाट सहजै खेत सिँचाइ गर्दै आएका किसान अहिले महँगो बोरिङ सिँचाइमा निर्भर हुन बाध्य भएका छन् । यसले खेतीको लागत बढाउनुका साथै किसानको उत्पादन र आम्दानीमा समेत असर पारेको छ ।
रामग्राम नगरपालिका–१५ र १६ का हुकुई, तोनवा, बकेनवा, सुक्रौलीलगायत क्षेत्रका सयौँ बिघा जमिनलाई लक्षित गरी निर्माण गरिएको थियो । तर अहिले आयोजनाको बाँध नजिकै बालुवा र सिल्ट थुप्रिँदा जलभण्डारण क्षमता घटेको छ । सिचाई नहरबाट पानी प्रवाह समेत हुन सकेको छैन् । वर्षायाममा खोलाबाट बगेर आउने बालुवा जलभण्डारमा जम्मा हुने र त्यही बालुवा नहरमा प्रवेश गर्दा सिँचाइ संरचना नै पुरिने समस्या देखिएको हो । स्थानीय किसानका अनुसार आयोजना सञ्चालन भएको सुरुका दुई–तीन वर्षसम्म नियमित सिँचाइ सुविधा उपलब्ध भए पनि पछिल्लो समय सिल्ट सफाइ नहुँदा आयोजनाको उपयोगिता घट्दै गएको छ । पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान हुन नसकेको उनीहरूको गुनासो छ ।
स्थानीय किसान रामकिसुन केवटका अनुसार आयोजनाको बाँध नजिकै बालुवा थुप्रिएपछि पानी सञ्चय हुन छाडेको छ । नहरसमेत बालुवाले भरिएकाले खेतसम्म पानी पु¥याउन कठिन भएको उनले बताए । खोलामा थुप्रिएको बालुवा व्यवस्थापन गर्न सके नगरपालिकाले राजस्वसमेत प्राप्त गर्ने र किसानले सिँचाइ सुविधा पाउने उनको भनाइ छ । आयोजना प्रभावित भएपछि किसानहरू अहिले निजी बोरिङबाट खेत सिँचाइ गर्न बाध्य छन् । डिजेल, विद्युत् र अन्य सञ्चालन खर्चका कारण बोरिङ सिँचाइ महँगो पर्ने गरेको किसान बताउँछन् । सामूहिक रूपमा सरकारी सिँचाइ प्रणालीबाट पानी पाउने अपेक्षा गरेका किसानले आफ्नै खर्चमा सिँचाइ गर्नुपर्दा उत्पादन लागत बढेको छ । विशेषगरी धान, गहुँ र तरकारी खेती गर्ने किसानलाई यसको प्रत्यक्ष असर परेको छ ।
स्थानीयका अनुसार खोलाको सिल्ट व्यवस्थापन गर्न सके जलभण्डारण क्षमता बढ्नुका साथै नहरबाट पुनः नियमित सिँचाइ सञ्चालन गर्न सकिन्छ । तर, खोलाबाट बालुवा तथा सिल्ट निकाल्न वातावरणीय प्रभाव मूल्यांकनलगायत आवश्यक प्रक्रिया अघि नबढ्दा सफाइ कार्य अगाडि बढ्न सकेको छैन । रामग्राम नगरपालिका–१५ का वडाध्यक्ष धनपत यादवले खोलाको सिल्ट र नहरमा जम्मा भएको बालुवा सफाइ गर्नुपर्ने विषय आफूले पटकपटक उठाउँदै आएको बताए । नगरपालिकाले खोलाको सफाइ तथा व्यवस्थापनका लागि एक्साभेटरसमेत खरिद गरेको भए पनि आवश्यक प्रक्रिया र निर्णय अभावमा प्रभावकारी रूपमा काम हुन नसकेको स्थानीयको आरोप छ । खोलाको बालुवा व्यवस्थापनका लागि वातावरणीय प्रभाव मूल्यांकन गराई व्यवस्थित रूपमा सफाइ गर्न सके स्थानीय सरकारलाई राजस्व प्राप्त हुने र किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने उनीहरूको भनाइ छ ।
स्थानीय किसानले आयोजना निर्माणमा मात्रै करोडौँ रुपैयाँ खर्च गरेर नहुने भन्दै त्यसको नियमित सञ्चालन, मर्मतसम्भार र संरक्षणको जिम्मेवारी पनि सम्बन्धित सरकारी निकायले लिनुपर्ने माग गरेका छन् । सिँचाइ डिभिजन कार्यालय र रामग्राम नगरपालिकाबीच समन्वय गरी तत्काल सिल्ट सफाइ तथा नहर मर्मतको काम अघि बढाउन उनीहरूले आग्रह गरेका छन् । कृषि उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले निर्माण गरिएका सरकारी सिँचाइ आयोजना वर्षौँसम्म संरक्षणविहीन रहनु सार्वजनिक लगानीको प्रभावकारी उपयोगमाथि नै प्रश्न उठाउने विषय बनेको छ ।
त्यसैले सम्बन्धित निकायले आयोजनाको प्राविधिक अवस्था अध्ययन गरी जलभण्डारमा थुप्रिएको सिल्ट हटाउने, नहर सफाइ गर्ने र भविष्यमा पुनः बालुवा जम्मा हुन नदिने दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक देखिएको छ । किसानले तिरेको करबाट बनेको आयोजना किसानकै खेतसम्म पानी पु¥याउन नसक्ने अवस्थामा रहनु स्थानीय सरकार र सिँचाइसम्बन्धी जिम्मेवार निकायका लागि गम्भीर चुनौती बनेको छ । सो सिचाई प्रणालीमा केही संरचनागत कमजोरीका कारण बालुवा जम्ने अवस्था आएको स्थानियको भनाई थियो । अन्य सिचाई प्रणालीबाट पानीको बालुव फिल्टर गर्ने गरि रिजेक्टर जस्ता प्रविधि जडान हुन्छ,तर यसमा सो प्रविधि नहुदा एक पटक बर्षायामको पानी नहरमा जाने वित्तिकै बालुवाले नहर पुर्ने हुन्छ, जलभण्डारण क्षेत्रबाट पनि बालुवा बगाउने प्रविधि नहुदा भण्डारक्षेत्र नै बालुवाले भर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *