
नवलपरासी,१२ मंसिर
नवलपरासीको वर्दघाट नगरपालिका २ चुरे डाडामा रहेको सुखौरा र खुर्सानीबारीका हरिया फाँट, शान्त वातावरण, चिसो हावापानी र प्राकृतिक सौन्दर्यले जोकोहीलाई आकर्षित गर्छन् । मधेससँग जोडिएको भौगोलिक क्षेत्रमा अवस्थित यी स्थान प्राकृतिक पर्यटनका लागि सम्भावना बोकेका रमणीय गन्तव्य हुन् । तर, पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सरकारी बेवास्ता र आधारभूत पूर्वाधारको अभावका कारण यस क्षेत्रको पर्यटन विकासले गति लिन सकेको छैन ।
भारतबाट समेत पर्यटक आउने रमणीय क्षेत्र, एक दर्जनभन्दा बढी रिसोर्ट तथा रेस्टुरेन्ट दर्ता गरेर सञ्चालन गर्न नपाएको स्थानीयको गुनासो छ । बर्दघाट नगरपालिकाको पर्यटकीय सम्भावना बोकेको सुखौरा र खुर्सानीबारीमा आन्तरिक पर्यटकसँगै भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेका छन् । गर्मी मौसममा यहाँको शीतल वातावरणको अनुभव गर्न पर्यटकको भीड लाग्ने गरेको गन्तव्य रिसोर्टका सञ्चालक कृष्ण क्षेत्रीले बताए । उनका अनुसार तराईका अन्य स्थानमा गर्मी अत्यधिक हुने समयमा सुखौरा र खुर्सानीबारीमा तुलनात्मक रूपमा शीतलता महसुस गर्न सकिन्छ । यही कारण गर्मी मौसममा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने गरेको उनले बताए ।

यस क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै यहाँ गरिएको कफी खेतीले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । हरियाली फाँट, कृषि उत्पादन, एकान्त वातावरण र प्राकृतिक शीतलताले यस क्षेत्रलाई कृषि पर्यटन तथा ग्रामीण पर्यटनको राम्रो गन्तव्य बनाउन सकिने सम्भावना देखाएको छ । तर, पर्यटकीय गतिविधि बढ्दै गए पनि व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न नसक्दा व्यवसायी समस्यामा परेका छन् । जग्गाधनी पुर्जा नहुँदा यहाँ सञ्चालित एक दर्जनभन्दा बढी रिसोर्ट तथा रेस्टुरेन्ट दर्ता गरेर व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न नपाएको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार सुखौराको जग्गा तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी समस्याले पर्यटन व्यवसाय विस्तारमा अवरोध सिर्जना गरेको छ । व्यवसायीले लगानी गरेर रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालन गरे पनि जग्गाको स्वामित्वसम्बन्धी कागजात नहुँदा व्यवसाय दर्ता र अन्य सरकारी प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको छ । यस क्षेत्रको प्रशासनिक पहुँचसमेत समस्याको अर्को पक्ष बनेको छ । स्थानीयका अनुसार सुखौरा र खुर्सानीबारीलाई भौगोलिक तथा व्यावहारिक पहुँचका आधारमा बर्दघाट नगरपालिकाभन्दा सुनवल नगरपालिकामार्फत प्रशासनिक सेवा लिन सहज हुने भएकाले प्रशासनिक व्यवस्थापन सुनवल नगरपालिकामा राख्नुपर्ने माग उठ्दै आएको छ । भौगोलिक अवस्थिति र नागरिकको सहज पहुँचलाई आधार मानेर सम्बन्धित निकायले यसको निकास खोज्नुपर्ने स्थानीयको भनाइ छ ।
करिब १ सय ५० घरधुरी र ५ सय मतदाता रहेको सुखौराका बासिन्दाले लामो समयदेखि विभिन्न समस्या भोग्दै आए पनि जनप्रतिनिधिले पर्याप्त चासो नदिएको स्थानीय गायत्री पौडेलले बताइन् । उनका अनुसार यहाँका नागरिकले जग्गाधनी पुर्जा, सडक तथा प्रशासनिक पहुँचका समस्या समाधानका लागि पटकपटक आवाज उठाउँदै आए पनि अपेक्षित सुनुवाइ हुन सकेको छैन । सुखौरा पुग्ने करिब तीन किलोमिटर सडक कच्ची हुँदा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोग्नुपरेको पौडेलले बताइन् । वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुने गरेको भन्दै उनले सडक कालोपत्रे वा आरसीसी ढलान गर्न माग गरिन् । पर्यटकीय सम्भावना भएको क्षेत्रमा सडक पूर्वाधार कमजोर रहँदा पर्यटकको आवागमन र व्यवसाय विस्तारमा समेत असर परेको उनको भनाइ छ ।
सुखौराको समस्या स्थानीयस्तरमा मात्र सीमित नरहेको र संघीय संसद्मा समेत यस विषयले प्रवेश पाउँदै आएको छ । संघीय सांसद रिङ्गला यादवले यस क्षेत्रका समस्या संसद्मा उठाउँदै आएकी छन् । उनले सुखौरा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरी त्यहाँका समस्या र आवश्यकताबारे जानकारीसमेत लिएकी थिइन् । स्थानीयसँगको भेटमा यादवले जग्गाधनी पुर्जा, सडक, प्रशासनिक पहुँच तथा पर्यटन विकासका समस्या समाधानका लागि सम्बन्धित निकायमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । तर, स्थानीयले समस्याको पहिचान र प्रतिबद्धतासँगै व्यवहारमा देखिने गरी समाधानका काम अघि बढ्नुपर्ने बताएका छन् ।
सुखौरा र खुर्सानीबारीको विकासका लागि सडक निर्माण, जग्गासम्बन्धी समस्या समाधान, व्यवसाय दर्ताको सहज व्यवस्था र पर्यटनमैत्री पूर्वाधार निर्माण आवश्यक देखिएको छ । यहाँको प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै व्यवस्थित रिसोर्ट, रेस्टुरेन्ट, कृषि पर्यटन र स्थानीय उत्पादनसँग जोड्न सके रोजगारी तथा स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्न सक्छ । भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेको यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके नवलपरासीको पर्यटन क्षेत्रमा नयाँ सम्भावना थपिने देखिन्छ । तर, पर्यटनको सम्भावना देखाएर मात्र हुँदैन, त्यसका लागि आवश्यक नीतिगत निर्णय, पूर्वाधार र प्रशासनिक सहजीकरण पनि उत्तिकै आवश्यक हुन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण सुखौरा र खुर्सानीबारीका स्थानीयको अपेक्षा पनि यही हो—पर्यटकीय सम्भावना बोकेको आफ्नो क्षेत्र सरकारी बेवास्ताका कारण ओझेलमा नपरोस् र यहाँको प्राकृतिक सुन्दरता स्थानीयको आर्थिक समृद्धिको आधार बन्न सकोस् ।

