पाल्हीनन्दनको दुई स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्रदेश साँसद जैसवालले गरे सर्वेक्षण शुभारम्भ

नवलपरासी,११ मंसिर
जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले १ करोड ८९ लाख बजेट विनियोजन भए पछि दुई स्थानमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नं. १ र वडा नं. २ मा निर्माण हुन लागेका दुई वटा झोलुङ्गे पुलले वर्षायाममा खोला तथा नदी पार गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयलाई ठूलो राहत पुग्ने अपेक्षा राख्दै सो पुलको निर्माणका लागि सर्वेक्षण कार्य शुक्रवार देखी शुभारम्भ भएको हो ।
पाल्हीनन्दन गाउँपालिका वडा नं. १ अन्तर्गत छोटकी सुनरी र शकरपुरलाई जोड्ने गरी ८४ मिटर लम्बाइको ट्रस्ट पुल निर्माण हुन लागेको हो । उक्त पुल निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ९० लाख ३० हजार ९सय ६० रुपैयाँ लागत विनियोजन गरिएको छ । पुल निर्माण भएपछि दुई गाउँबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दालाई दैनिक कामकाज, कृषि उपजको ओसारपसार तथा अन्य सामाजिक गतिविधिमा सहजता हुने विश्वास गरिएको छ । एउटै पालिकाका दुई गाँउ जोडने भए पनि सो पुलले सरावल तथा प्रतापपुर गाउपालिका र वर्दघाट गाँउपालिकाका बासिन्दालाई समेत राहत पुग्ने स्थानियले बताएका थिए । पुलले खास गरि बर्षायाममा स्थानिय जनतालाई ठूलो राहत पुग्ने स्थानिय जितेन्द्र गुप्ताले बताए ।
उनका अनुसार गाउँपालिकाको वडा नं. २ हरपुर स्थित सुगवली र सरावल गाउपालिका ४ बडसारे बस्तीलाई जोड्ने गरी ९१ मिटर लम्बाइ र १.२० मिटर चौडाइको सस्पेन्सन झोलुङ्गे पुल निर्माण हुने भएको छ । उक्त पुल निर्माणका लागि ९८ लाख ३२ हजार १३७ रुपैयाँ लागत निर्धारण गरिएको छ । यो आयोजना पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट सञ्चालन हुने जनाइएको छ । दुवै पुल निर्माणका लागि मन्त्रालयबाट बजेट व्यवस्था भएपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ उनले भने, लामो समयदेखि आवागमनको समस्यासँग जुध्दै आएका स्थानीयवासीले पुल निर्माणपछि दैनिक जीवनयापनमा सहजता आउने अपेक्षा गरेका छन् ।
विशेषगरी वर्षायाममा खोला तथा पानीको बहाव बढ्दा एक बस्तीबाट अर्को बस्तीमा पुग्न स्थानीयलाई कठिनाइ हुने गरेको छ । विद्यार्थीलाई विद्यालय आवतजावत गर्न, किसानलाई खेतबारीमा पुग्न तथा उत्पादित कृषि उपज बजारसम्म पु¥याउनसमेत समस्या हुने गरेको अवस्थामा पुल निर्माणले महत्वपूर्ण सहयोग पु¥याउने देखिन्छ । यी दुवै आयोजना भौतिक पूर्वाधार विकास मन्त्रालयको पहल तथा बजेट व्यवस्थापनमा अघि बढेका हुन् । यसका लागि लुम्बिनी प्रदेश साँसद बैजनाथ जायसवालको पहल महत्वपूर्ण रहेको जनाइएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख हितेन्द्र रायमाझीले समेत पूर्वाधार विकाससम्बन्धी कार्यमा भूमिका निर्वाह गरेका छन् ।
दुई वटा पुल निर्माणका लागि कुल १ करोड ८८ लाख ६३ हजार ९७ रुपैयाँ लागत लाग्ने देखिएको छ । यी पुल निर्माण सम्पन्न भएपछि पाल्हीनन्दन गाउँपालिकाका विभिन्न बस्तीबीचको सम्पर्क विस्तार हुनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीय पूर्वाधार विकासले ग्रामीण क्षेत्रको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पुल निर्माण कार्य समयमै सम्पन्न गर्नु आवश्यक छ । बजेट विनियोजनसँगै निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढेमा वर्षौंदेखि आवागमनको समस्या भोग्दै आएका छोटकी सुनरी, शकरपुर, हरपुर, सुगौली र बडसारे क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्नेछन् । पुल निर्माणपछि स्थानीयको यात्रा सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा बजार पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *