सुक्रौली गाविस हुँदा पूर्ण सरसफाइ, रामग्राम नगरपालिका हुँदा फोहोरको दुर्दशा

नवलपरासी,११ मंसिर
कुनै समय पूर्ण सरसफाइयुक्त क्षेत्रका रूपमा घोषणा गरिएको सुक्रौलीमा अहिले सडक किनारमै फोहोरको डङ्गुर देखिन थालेको छ । रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित परासी–भैरहवा सडकखण्डको छेउमा प्लास्टिकका झोला, बोतल, कागज, खाद्यवस्तुका प्याकेट तथा अन्य फोहोर जथाभावी फालिएको दृश्यले स्थानीय सरसफाइ अभियानको अवस्थालाई उजागर गरेको हो ।
२०७३ असार २८ गते तत्कालीन सुक्रौली गाविस (हाल रामग्राम नगरपालिका–१५) लाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गरिएको थियो । त्यसबेला ‘नवलपरासीको प्रतिबद्धता, सरसफाइमा पूर्णता’ भन्ने नारासहित सरसफाइ अभियान सञ्चालन गरिएको थियो । सुक्रौली गाविस भ्रमण गर्ने पाहुनालाई धन्यवाद दिँदै राखिएको सूचना बोर्डले समेत त्यतिबेलाको सरसफाइप्रतिको प्रतिबद्धता झल्काउँछ । तर, अहिले त्यही बोर्डको आसपास फोहोरको थुप्रो देखिनुले पूर्ण सरसफाइ घोषणाको उपलब्धि र निरन्तरतामाथि प्रश्न उठाएको छ ।
गाविस हुँदा सरसफाइलाई अभियानका रूपमा अघि बढाइएको भए पनि स्थानीय तह पुनःसंरचनापछि रामग्राम नगरपालिकामा समाहित भएको सुक्रौलीमा सरसफाइको अवस्था अपेक्षाअनुसार सुधार हुन सकेको देखिँदैन। सडक किनार, सार्वजनिक स्थल र बस्ती आसपास फोहोर फाल्ने प्रवृत्तिले स्वच्छ वातावरण निर्माण गर्ने अभियानलाई चुनौती दिएको छ । सरसफाइ एकपटक घोषणा गरेर पूरा हुने विषय होइन । यसका लागि नियमित अनुगमन, नागरिकको सहभागिता र स्थानीय सरकारको जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुन्छ । समुदाय, विद्यालय र युवा क्लबको सक्रियतामा टोल सुधार समिति गठन गरी नियमित गाउँटोल तथा नदी सरसफाइ गर्ने व्यवस्था आवश्यक छ । जथाभावी फोहोर फाल्नुको सट्टा फोहोर वर्गीकरण, पुनःप्रयोग र प्रशोधन गर्ने प्रणाली विकास गर्नुपर्छ ।
तर, रामग्राम नगरपालिकाले सहरी क्षेत्रबाट सङ्कलन गरेको फोहोरसमेत हाटबजार नजिकै झरही नदी तथा कसिया सामुदायिक वन क्षेत्रमा फाल्ने गरेको आरोप स्थानीयस्तरमा लाग्दै आएको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकारबाटै उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषणको समस्या थप जटिल बन्ने जोखिम छ । फोहोर फाल्नकै लागि नगरपालिकाले टिपर समेत खरिद गरेको छ,तर ति टिपर भस्कट चोर्नमा प्रयोग हुने गरेको अरोप स्थानियको छ ।
यस क्षेत्रमा उद्योगधन्दा विस्तार हुँदै जाँदा प्रदूषणको समस्या पनि बढ्दै गएको स्थानीयको गुनासो छ । सुक्रौली र नदवाँ आसपास सञ्चालित उद्योगबाट निस्कने कालो खरानी, प्लास्टिकजन्य फोहोर र प्रदूषित पानीले बस्ती तथा प्राकृतिक सम्पदामा असर पारिरहेको उनीहरूको भनाइ छ। उद्योगबाट निस्कने प्रदूषित पानी कुलो तथा नालामार्फत ऐतिहासिक नन्दनतालसम्म पुग्दा तालको पानी दुर्गन्धित बनेको स्थानीय बताउँछन् ।
फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीसँगै नगरपालिकाको जवाफदेहिता पनि सुनिश्चित हुनुपर्छ। जथाभावी फोहोर फाल्ने व्यक्ति, संस्था तथा उद्योगलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्छ। उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानीको नियमित परीक्षण र अनुगमन गर्नुपर्छ । सुक्रौलीलाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको इतिहास अहिले सडक किनारको फोहोरले गिज्याइरहेको छ । गाविस हुँदा सुरु गरिएको सरसफाइको प्रतिबद्धता नगरपालिका बनेपछि झन् प्रभावकारी हुनुपर्नेमा कमजोर देखिनु विडम्बना हो। सूचना बोर्डमा लेखिएको नारा व्यवहारमा उतार्न नसकिएसम्म पूर्ण सरसफाइको घोषणा केवल कागजी उपलब्धिमा सीमित रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *