सिद्धिविनायक आयल्स प्रालीको बदमासी ःप्रशोधन प्लान्ट देखाउने, प्रदूषित पानी नन्दन ताल घोलमा बगाउने !

नवलपरासी,९ मंसिर
प्राचीन नन्दन तालको ऐतिहासिक र प्राकृतिक महत्त्व आफ्नै ठाउँमा छ । यससँग जोडिएका घोल, जलस्रोत र जैविक विविधता पनि यस क्षेत्रको प्राकृतिक सम्पत्ति हुन् । तर रामग्राम नगरपालिका–१५ शुक्रौलीस्थित सिद्धिविनायक आयल्स प्रालिबाट निस्कने प्रदूषित पानीले यही प्राकृतिक सम्पत्तिमाथि जोखिम बढाएको स्थानीयले गुनासो गरेका छन् ।
उद्योगबाट निस्कने पानी घोलमा मिसिँदै प्राचीन नन्दन तालसम्म पुग्दा वातावरणीय प्रदूषण बढ्नुका साथै सिँचाइका लागि सोही पानी प्रयोग गर्ने किसानको बालीनालीमा समेत असर परेको उनीहरूको भनाइ छ । सिद्धिविनायक आयल्समाथि स्थानीयको आरोप, उद्योगको गतिविधिमाथि निष्पक्ष छानबिन गर्न माग समेत गर्दै आएका छन् । स्थानीयका अनुसार उद्योगबाट निस्कने पानी उचित प्रशोधन नगरी घोलमा छाड्ने गरिएको छ । घोल हुँदै बग्ने उक्त पानी आसपासका खेतबारीसम्म पुग्ने भएकाले किसानहरू चिन्तित छन् । खेतीपातीका लागि सिँचाइमा प्रयोग हुने पानी नै प्रदूषित हुन थालेपछि बालीनालीको उत्पादन र गुणस्तरमा असर पर्ने जोखिम बढेको उनीहरूको भनाइ छ ।
स्थानीयले उद्योग व्यवस्थापनलाई पटकपटक प्रदूषित पानी घोलमा नछाड्न आग्रह गर्दै आएका छन् । तर उनीहरूको आग्रहलाई बेवास्ता गर्दै उद्योगले पुरानै गतिविधि निरन्तरता दिएको आरोप छ । उद्योगबाट निस्कने पानीको उचित व्यवस्थापन नहुँदा घोलको प्राकृतिक अवस्था बिग्रनुका साथै त्यहाँ आश्रित जलचर, वनस्पति र अन्य जीवजन्तुको अस्तित्वसमेत संकटमा पर्न सक्ने स्थानीयको चिन्ता छ । नन्दनताल सारसको बास स्थान समेत भएको स्थानियको भनाई छ । तर तालकै पानी प्रदुशित हुदा सारस आफ्ना आहाराको खोजीमा भौतारिने गरेका छन् ।
वातावरण प्रदूषणको विषयमा स्थानीयले आवाज उठाउँदै आए पनि प्रभावकारी सुनुवाइ नभएको वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादव बताउँछन् । उनका अनुसार उद्योगमा अनुगमन टोली पुग्दा पानी प्रशोधन गर्ने प्लान्ट सञ्चालनमा रहेको देखाउने गरिएको छ। तर अनुगमन टोली फर्किएपछि प्रशोधन नगरेकै पानी घोलमा बगाउने गरिएको उनको आरोप छ । ‘उद्योगमा अनुगमन गर्न जाँदा प्रशोधन प्लान्ट देखाउने र प्रशोधित पानी मात्रै बाहिर पठाएको दाबी गर्ने गरिएको छ । तर व्यवहारमा प्रदूषित पानी घोलमा बगिरहेको छ । स्थानीयले पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन,’ यादवले भने, यो उद्योग ब्यवस्थापनको दादा गिरी र स्थानिय प्रशासनको लाचारीलाई सिद्ध गर्दै आएको छ,सिद्धिविनायक आयल्स प्रालि ।

उनले उद्योग व्यवस्थापनले अनुगमनका क्रममा देखाउने व्यवहार र वास्तविक गतिविधिबीच फरक रहेको आरोपसमेत लगाए । सम्बन्धित प्रशासनलाई आर्थिक प्रलोभन देखाएर समस्या दबाउने प्रयास भइरहेको उनको दाबी छ। यस्ता आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । यादवले अब उद्योगबाट निस्कने पानीको वास्तविक अवस्था प्रशासनलाई प्रत्यक्ष देखाउनुपर्ने बताए । ‘उद्योगको बदमासी र प्रशासनको मिलोमतो छिट्टै सार्वजनिक गर्ने वातावरण बनाउँछौँ । घोलको प्रदूषित पानी संकलन गरेर प्रशासन कार्यालयमै खन्याउनुपर्छ, उनले थपे, प्रदूषणको अवस्था प्रशासनले प्रत्यक्ष नदेखेसम्म समस्या समाधान हुँदैन,’।
केही दिनअघि उद्योग वाणिज्य संघको टोलीले समेत उद्योगको अवस्थाबारे अनुगमन तथा अध्ययन गरेको थियो । अनुगमनका क्रममा उद्योग व्यवस्थापनले पानी प्रशोधन गर्ने प्लान्ट देखाउँदै उद्योगबाट निस्कने पानी प्रशोधन गरेर मात्रै घोलमा पठाउने गरेको दाबी गरेको थियो । उद्योगको उक्त दाबी र स्थानीयले लगाएको आरोपबीच वास्तविकता के हो ? भन्ने विषयमा भने थप प्राविधिक परीक्षण आवश्यक देखिएको छ । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश गुप्ताले प्रशोधन नगरी पानी घोलमा बगाइएको भए त्यो गलत कार्य भएको बताए । उद्योगले पानी प्रशोधन गर्ने प्लान्ट जडान गरेर सञ्चालन नगर्ने हो भने त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।
‘प्रशोधन नगरी पानी घोलमा बगाइएको छ भने त्यो गलत हो, उनले भने, कसैलाई देखाउनका लागि मात्रै प्रशोधन प्लान्ट राख्ने होइन । प्लान्ट जडान गरिएको छ भने नियमित सञ्चालन पनि हुनुपर्छ । यस्तो विषयमा पुनः अनुगमन गर्न आवश्यक छ,’ गुप्ताले थपे,यदि यस्तो हो,भन्ने उद्योगका कर्मचारीको बदमासी हो । उनका अनुसार प्रशोधन प्लान्ट सञ्चालन गर्दा लाग्ने खर्च जोगाउने उद्देश्यले उद्योगका कर्मचारीले प्रशोधन नगरी पानी बाहिर पठाउने गरेको भए त्यसले किसानलाई नोक्सानी पु¥याउनुका साथै उद्योगकै प्रतिष्ठामा समेत नकारात्मक असर पार्नेछ ।
प्रदुषित पानीले नन्दन तालको अस्तित्वमाथि चिन्ता बढाएको छ । बौद्धकालिन प्राचीन नन्दन ताल क्षेत्र ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेको क्षेत्र हो । ताल र त्यससँग जोडिएका घोल तथा जलस्रोतले यस क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । यस्ता जलस्रोतमा उद्योगबाट निस्कने प्रदूषित पानी मिसिनु दीर्घकालीन वातावरणीय समस्याको कारण बन्न सक्ने देखिन्छ । पानी प्रदूषित हुँदा माछा, जलचर, पानीमा उम्रने वनस्पति तथा अन्य जीवजन्तुको प्राकृतिक बासस्थान प्रभावित हुन सक्छ । त्यस्तै, प्रदूषित पानी सिँचाइमा प्रयोग हुँदा माटोको गुणस्तर र कृषि उत्पादनमा समेत असर पर्न सक्ने भएकाले यस विषयलाई सामान्य गुनासोका रूपमा लिन नहुने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *