सांसद गुप्ताको चासोपछि जौरहरीमाई पार्क पुनःनिर्माणको आशा, सघन सहरी विकास कार्यक्रमबाट बजेट ल्याउने पहल

नवलपरासी, ८ मंसिर
लामो समयदेखि बजेट अभावमा निर्माण कार्य अलपत्र पर्दै आएको रामग्राम नगरपालिका–६ पोखरापालीस्थित जौरहरीमाई पार्क पुनःनिर्माण हुने आशा पलाएको छ । पार्कको दयनीय अवस्था र आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ प्रति संघीय सांसद नरेन्द्रकुमार गुप्ताले चासो देखाउँदै निर्माण कार्यलाई अगाडि बढाउन पहल गर्ने बताएका हुन् ।
सोमबार पार्कको स्थलगत अवलोकन गर्दै सांसद गुप्ताले लामो समयदेखि अलपत्र अवस्थामा रहेको पार्कलाई अब थप प्रतीक्षा गराएर राख्न नहुने बताए । उनले पार्क निर्माणका लागि सघन सहरी विकास कार्यक्रममार्फत बजेट विनियोजन गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू रामग्राम नगरपालिकाको मेयर हुँदा सुरु गरिएको पार्क निर्माणको काम अहिले संघीय सांसद भए पछि पनि पूरा गराउने आफ्नो चासो रहेको उनको भनाइ थियो । पार्कको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद गुप्ताले नगरपालिकाले पार्कको पर्खालमा रङरोगनसम्म गर्न नसकेको अवस्था दुःखद भएको बताए । पार्कलाई व्यवस्थित र आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्न आवश्यक बजेट तथा पूर्वाधार निर्माणमा आफूले पहल गर्ने उनले उल्लेख गरे। पार्कभित्र रहेको पोखरीमा डुङ्गा सञ्चालन, जिम सञ्चालन, व्यायामशालालगायतका सुविधा थप्ने योजना पनि रहेको उनले बताए ।
जिल्ला सदरमुकाम परासीको पोखरापाली बजारदेखि उत्तरतर्फ अवस्थित जौरहरीमाई पार्क धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । प्राचीन शिवालय, देवीदेवताका मन्दिर तथा प्राकृतिक कमल पोखरी रहेको यस क्षेत्रलाई व्यवस्थित पार्कका रूपमा विकास गर्ने उद्देश्यले विगतमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको थियो । तर, करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनामा आवश्यक बजेट विनियोजन हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन ।
रामग्राम नगरपालिका–६ का वडाध्यक्ष विद्यासागर त्रिपाठीका अनुसार करिब डेढ हेक्टर अर्थात् ३० कठ्ठा क्षेत्रफलमा फैलिएको पार्कमध्ये झन्डै एक हेक्टर जमिनमा पोखरी रहेको छ । पोखरीमा रातो र सेतो कमल फुल्ने भएकाले यसको प्राकृतिक सौन्दर्यसमेत आकर्षणको विषय बनेको छ । पोखरीको वरिपरि खुला चौर, बगैँचा, शिवालय तथा विभिन्न देवीदेवताका मन्दिर रहेका छन् । वडाध्यक्ष त्रिपाठीले पार्क निर्माणका लागि डीपीआर तयार भए पनि पर्याप्त स्रोत व्यवस्थापन हुन नसक्दा काम अगाडि बढाउन कठिन भएको बताएका थिए । नगरपालिका, प्रदेश र संघीय सरकारबाट अपेक्षित आर्थिक सहयोग प्राप्त हुन नसकेको उनको भनाइ थियो । स्थानीयवासीले डीपीआर बनेपछि पार्कले छिट्टै व्यवस्थित स्वरूप पाउने अपेक्षा गरे पनि लगानी अभावमा निर्माण कार्य सुस्ताएको उनले बताउदै आएका थिए ।
पार्क क्षेत्रभित्र रामग्राम नगरपालिकाको वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र तथा परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड ट्यांकीसमेत रहेका छन् । यसका कारण दैनिक रूपमा मानिसको आवागमन हुने गरेको छ । पोखरीको पानी किसानले सिँचाइका लागि प्रयोग गर्दै आएका छन् भने स्थानीयले विवाह तथा अन्य सामाजिक कार्यक्रम, पिकनिकलगायतका गतिविधिका लागि पनि यस क्षेत्रलाई उपयोग गर्दै आएका छन् । शिवरात्रिमा मेला लाग्ने तथा साउन महिनामा समेत धार्मिक गतिविधि हुने भएकाले पार्कको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयको भनाइ छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, सरसफाइ, व्यवस्थित घुमफिर स्थल, विश्रामस्थल तथा मनोरञ्जनका सुविधा निर्माण हुन नसक्दा पार्कले अपेक्षित आकर्षण हासिल गर्न सकेको थिएन् ।
वडाका पूर्वअध्यक्ष दिपु अग्रहरीले पार्कको विकास कुनै एक व्यक्ति वा निकायको मात्रै जिम्मेवारी नभई सबै पक्षको साझा चासो र सहकार्य आवश्यक पर्ने बताएका थिए । विगतमा सदरमुकाम विकास कार्यक्रम अन्तर्गत पोखरापाली क्षेत्रमा सडक निर्माण हुँदा सम्बन्धित आयोजना तथा ठेकेदार पक्षले पार्क व्यवस्थित बनाउने मौखिक प्रतिबद्धता जनाए पनि सडक निर्माण सम्पन्न भएपछि त्यसतर्फ चासो नदिएको उनले बताएका थिए । यसअघि पार्क व्यवस्थापनमा डिभिजन वन कार्यालयलगायत विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका थिए । तर पछिल्लो समय त्यस्ता निकायबाट समेत अपेक्षित सहयोग हुन नसकेको स्थानीयको गुनासो थियो ।
सांसद गुप्ताले पार्क निर्माणका लागि सघन सहरी विकास कार्यक्रमबाट बजेट व्यवस्थापन गर्ने पहल गर्ने बताए पछि लामो समयदेखि ओझेलमा परेको जौरहरीमाई पार्कले पुनः गति लिने अपेक्षा स्थानीयले गरेका छन्। अब बजेट विनियोजन र निर्माण कार्यलाई व्यवहारमा उतार्न सके धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र परासीको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *