
नवलपरासी, १८ कातिक
भारतिय लेबल विनाको च्याउले नेपाली च्याउ उद्योग प्रभावित बनेको बताएका छन् । प्रहरी र भन्सारको आँखा छल्दै सीमापारिबाट बिना लेबल तथा आवश्यक जाँचबिनाका च्याउ नेपाल भित्रिन थाले पछि जिल्लाका स्थानीय च्याउ उद्योगीहरू मर्कामा परेको बताएका हुन् ।
खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा च्याउ भित्रिने गरेको छ, माँ पाल्ही भगवती कृषि फर्म प्रालि रामग्राम १२ का सञ्चालक नरेश जैसवालले बताए । उनका अनुसार अबैध रुपमा लेबल बिनाको च्याउ वित्रिन थालेपछि आफु लगायत जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका किसान तथा उद्योगीहरू समस्यामा परेका हुन् । जिल्लामा सो प्रालि बाहेक थप दुई ठूलो उद्योग छन् । त्यस बाहेक दर्जनौ किसान आफ्ना घरमा घरेलु उद्यमको रुपमा च्याउ उत्पादन गर्दै आएका छन् । लेबल नहुदा च्याउ कहाँको हो ? त्यो पनि पहिचान गर्न गाह्रो छ । हाम्रो च्याउको लेबल हुन्छ,केही समस्या भयो भन्ने हामी जिम्मेवार हुन्छौ,कम्पनी जिम्मेवार हुन्छ । तर बजारमा छ्याप्छयाप्ती लेबल विनाका च्याउ छन् । त्यसको खोजी नीति पनि कहिँ छैन् । यो काम सिमा क्षेत्रमा प्रहरीले गरि दिनु पर्ने हो,तर कैरिगँले सिधै बजारमा प्रहरी मिलाएर पुर्याईदिन्छन् । जैसवालको मात्रै १० करोड बढि लगानी र १ सय जनालाई रोजगारी उद्योगमा रहेको छ । सरकारलाई पनि कर,विद्युत महशुल बुझाउदै आएको नै छ । जिल्लामा च्याउमा मात्रै २५ करोड भन्दा बढिको लगानी भएका छन् । तर भारतिय च्याउले ति च्याउ उद्योगलाई प्रभावित बनाउने गरेको गुनासो गरि रहेका छन् ।
लेबल विनाको च्याउले ब्यपारीक समस्या मात्रै नभई जनस्वास्थ्यलाई पनि प्रभावित बनउन सक्ने भएकाले सिमामा रहेका प्रहरी र सरकारी निकाय गम्भिर हुनु पर्ने उनको भनाई थियो । स्थानीय बजारमा सीमापारिबाट ल्याइएका च्याउ सस्तो मूल्यमा बिक्री हुन थालेपछि स्वदेशी उत्पादनले बजार पाउन कठिन भएको उद्योगीहरूको गुनासो छ । उत्पादन लागत, मजदुरको ज्याला, विद्युत्, कच्चा पदार्थ तथा अन्य व्यवस्थापकीय खर्च बढिरहेको अवस्थामा अवैध रूपमा भित्रिने च्याउसँग प्रतिस्पर्धा गर्न नसकिएको उनीहरूको भनाइ छ । च्याउ उद्योगी जैसवालका अनुसार सीमापारिबाट आउने च्याउमा अत्यधिक विषादी प्रयोग भएको हुन सक्ने जोखिम छ । भन्सारमा आवश्यक क्वारेन्टाइन प्रक्रिया पूरा नगरी, गुणस्तर परीक्षणबिना तथा उत्पादनसम्बन्धी विवरण उल्लेख भएको लेबलसमेत नराखी च्याउ नेपाल भित्रिने गरेको बताए ।
“हामीले स्थानीय स्तरमा च्याउ उत्पादन गर्दा गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर उत्पादन गर्छौँ, उनले भने, तर सीमापारिबाट बिना जाँच र बिना लेबल च्याउ भित्रिँदा स्थानीय उद्योगीहरूलाई आर्थिक समस्या परेको छ। यस्तो अवस्थाले स्वदेशी उत्पादनलाई निरुत्साहित गरेको छ ।” यसरी भित्रिने च्याउको उत्पादन मिति, म्याद, उत्पादनस्थल, प्रयोग गरिएका रासायनिक पदार्थ तथा अन्य आवश्यक विवरणबारे उपभोक्तालाई जानकारी नहुने अवस्था छ । खाद्यवस्तुको गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड पालना नभएको अवस्थामा बजारमा पुग्ने यस्ता उत्पादनले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।
चिकित्सकहरूका अनुसार अत्यधिक विषादी वा हानिकारक रासायनिक पदार्थको अवशेष भएको खाद्यवस्तु सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। यस्ता पदार्थको मात्रा र सेवनको अवधिअनुसार विषाक्तता, पाचन प्रणालीमा समस्या तथा दीर्घकालीन स्वास्थ्य जोखिमसमेत देखिन सक्ने चिकित्सकहरूको भनाइ छ। त्यसैले च्याउ खरिद गर्दा उत्पादनको स्रोत, गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उनीहरू सुझाव दिन्छन् ।
स्थानीय च्याउ उद्योगीहरूले सीमामा कडाइका साथ निगरानी गर्न, भन्सार तथा क्वारेन्टाइन प्रक्रिया अनिवार्य बनाउन र आयात हुने च्याउको प्रयोगशालामार्फत गुणस्तर परीक्षण गर्न माग गरेका छन् । त्यस्तै, सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै बिना लेबल र आवश्यक मापदण्ड पूरा नगरेका खाद्यवस्तुको बिक्री वितरण रोक्नुपर्ने उनीहरूको माग छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन सके मात्रै च्याउ खेतीमा आबद्ध किसान तथा उद्योगीहरूको लगानी सुरक्षित हुने र स्वदेशी कृषि व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ । यता जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक(डिएसपी) मदन थापाले खुल्ला सिमा भएकाले सबै जहाँबाट पनि छिर्ने अवस्थाले नियन्त्रणमा चुनौती रहेको बताए । यसमा उपभोतmा स्वम् लेबल बिनाको च्याउ खान नहुनेमा सचेत हुनु पर्ने देखिन्छ, उनले भने, यसका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था सहित सम्बन्धित कम्पनीले पनि जागरण र जनचेतना जस्ता कार्य गर्न आवश्यक रहेको छ । तर उद्योगीको गुनासोलाई प्रहरीले निगरानी बढाउने उनको भनाई थियो ।
