
नवलपरासी,१६ कातिक
सुनवल नगरपालिकाद्वारा निर्माण भइरहेको १५ सैयाको नगर अस्पतालमा कमसल निर्माण सामग्री प्रयोग भइरहेको स्थानीयले आरोप लगाएका छन् । अस्पताल निर्माणका क्रममा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै स्थानीयले निर्माण कार्यको गुणस्तर र नगरपालिकाको अनुगमन प्रणाली माथि प्रश्न उठाएका हुन् ।
स्थानीयका अनुसार अस्पतालजस्तो संवेदनशील सार्वजनिक संरचना निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भए पनि निर्माणस्थलमा त्यसअनुसार काम भइरहेको देखिएको छैन । ठेकेदारले मनोमानी ढंगले कमसल निर्माण सामग्री प्रयोग गरिरहेको उनीहरूको आरोप छ । यसरी गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण कार्य अघि बढाइए अस्पताल भवन निर्माण सम्पन्न नहुँदै चर्किने, भत्किने तथा भविष्यमा जोखिमपूर्ण अवस्था सिर्जना हुन सक्ने स्थानीयको चिन्ता छ । अस्पताल निर्माणमा प्रयोग भइरहेका सामग्रीको गुणस्तरबारे समयमै परीक्षण र प्रभावकारी अनुगमन नगरिए सार्वजनिक लगानी खेर जान सक्ने स्थानीयको भनाइ थियो । उनीहरूले अस्पताल भवन सर्वसाधारणको स्वास्थ्य उपचारसँग प्रत्यक्ष जोडिएको संरचना भएकाले निर्माणमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने बताएका छन् ।
स्थानीयले निर्माण कार्यमा कमसल सामग्री प्रयोग हुनुमा ठेकेदारको लापरबाही मात्र नभई नगरपालिकाको कमजोर अनुगमन समेत जिम्मेवार रहेको आरोप लगाएका छन् । नगरपालिकाले नियमित अनुगमन तथा प्राविधिक परीक्षण गर्नुपर्ने भए पनि प्रभावकारी निगरानी हुन नसकेको उनीहरूको दाबी छ । नगरपालिकाको अनुगमन फितलो हुँदा ठेकेदारले आफूखुसी निर्माण सामग्री प्रयोग गर्ने अवसर पाएको स्थानीयको आरोप छ । निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरी सरकारी बजेट दुरुपयोग गरिएको र त्यसमा आर्थिक अनियमितता तथा भ्रष्टाचारसमेत भएको हुन सक्ने आशंका स्थानीयले व्यक्त गरेका छन्। सार्वजनिक बजेटबाट निर्माण भइरहेको अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग हुनु आर्थिक अनियमितताको विषयसमेत भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
स्थानीयले अस्पताल निर्माणमा प्रयोग भएका सिमेन्ट, बालुवा, गिट्टी, छडलगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्नुपर्ने बताएका छन् । निर्माण कार्यको प्राविधिक पक्षको स्थलगत अनुगमन गरी मापदण्डअनुसार काम भए–नभएको सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । यता प्रयोगशाखा परिक्षण गराउदा समाग्रि ठिक रहेको दाबी नगरपालिकाको योजना शाखाले गरेको छ । योजना शाखाका प्राविधिक अधिकृत तोयनाथ शर्माले मान्छेले हेर्नेको भरमा कमसल भन्न नहुने दाबी गरेका थिए । कागजी र प्रयोगशालामा केही नमुना गुणस्तरका समाग्रिको कागजी अवस्था पेश गरे पनि मौजुदा अवस्थामा देखिएका इट जो सुकैले कमसल रहेको पहिचान गर्न सक्ने स्थानियको भनाई थियो । कागजी आधार मानेर मात्रै प्राविधिकहरु बस्नु भनेको ठेकेदारको मतियार भएको कुरा गर्नु जस्तै हो । औअल र दोयम इट जो सुकैले चिन्न सक्छ, एक स्थानियले प्रयोग भई रहेको इट देखाउदै भने, अहिले यो इट हेर्न कोही प्राविधिक आएका छैनन् । नगरपालिकाबाट प्रभावकारी ढंगले अनुगमन हुन नसक्दा पनि ठेकेदारहरुले बदमासी गर्ने गरेको नगरपालिकाकै एक कर्मचारीले सुनाए । ठेकेदारहर नगरका प्राविधक भन्दा केन्द्रमै पहुँच पुर्याउने स्तरका हुन्छन्, नगरपालिकाका प्राविधिकहरुले दिइने सुझावलाई समेत अटेरी गर्ने गर्छन् । यसका लागि जनप्रतिनिधिहरु शसतm हुनु पर्ने उनको भनाई थियो ।
नगरपालिकाका अनुसार कुल १३ करोड ६४ लाख २० हजार ६ सय ६७ रुपियाको अस्पताल भवन,चिकित्सक आवास लगायतको आयोजना हो । जुन अस्पताल निर्माणका लागि श्यामसुन्दर।एनपि जेभि रुपन्देही बुटवलले ९ करोड ४५ लाख ९९ हजार ६ सय १८ रुपियामा ठेक्का सकार गरेको थियो । पछि भेरिएसन भएर सो ठेक्काको लागत ९ करोड ९३ लाख २५ हजार २ सय ७९ रुपिया पुगेको छ । २०७८ असार २५ गते ठेक्का भई २०७९ पुस ३० मा सकिने गरि सम्झौता भएको थियो । ठेकेदारले काम नगरि उल्टै अख्तियार देखी अदालतसम्म विवाद पुर्याएको थियो । अहिले पनि अन्तिम म्याद थप २०८३ पुस ३० सम्मका लागि म्याद थपिएको छ । तर कार्य प्रगति भने ७० प्रतिसतसम्म मात्र पुगेको अवस्था छ । नगरपालिकाले भुतmानी पनि ढिलाई गरिदिदा समस्या आउने गरेको नगरपालिकाका प्राविधिकहरु बताएका छन् । ठेकेदारले ५० प्रतिसत भुतmानी पाएको छ ।
ठेक्का लिएको पाँच बर्षसम्म अस्पताल बनाउन नसक्नु र धेरै घटेर ठेक्का लिदा लागत बढदै जादा मौका छोपी कमसल समाग्रि प्रयोग गर्ने गरेको हुन सक्ने अनुमान पनि स्थानियको छ । अस्पताल निर्माणमा भएको खर्च, ठेक्का सम्झौता, निर्माणको गुणस्तर तथा प्राविधिक मूल्यांकन समेत पारदर्शी बनाउनुपर्ने स्थानीयको जोड छ । निर्माण सम्पन्न भएपछि भवनमा समस्या देखिए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन् । स्थानीयका अनुसार अस्पताल निर्माणको उद्देश्य नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। तर निर्माणकै चरणमा गुणस्तरमा सम्झौता गरिए भविष्यमा अस्पताल सञ्चालनमा समेत समस्या आउन सक्ने उनीहरूको चिन्ता छ । भवन निर्माणमा अहिले नै कमजोरी भए त्यसको असर वर्षौंसम्म सर्वसाधारणले भोग्नुपर्ने अवस्था आउन सक्ने उनीहरू बताउँछन ।
यस विषयमा सुनवल नगरपालिकाले तत्काल निर्माणस्थलको प्राविधिक अनुगमन गरी प्रयोग भएका सामग्रीको प्रयोगशाला परीक्षण गराउनुपर्ने देखिन्छ । ठेकेदारले निर्माण मापदण्ड पालना गरे–नगरेको निष्पक्ष रूपमा छानबिन गरी कमजोरी पुष्टि भए आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको माग छ । सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पताल निर्माणमा गुणस्तरमाथि उठेको प्रश्नलाई सामान्य रूपमा लिन मिल्दैन। स्थानीयले लगाएको आरोपको सत्यतथ्य छानबिन गरी निर्माणको वास्तविक अवस्था सार्वजनिक गर्नु नगरपालिकाको जिम्मेवारी हो । यता नगरपालिकाका सबै योजनाहरुको अनुगमन प्रमुख तोकिएका नगर उप्रमुख सुर्य दुबेसँग फोन सम्पर्क गर्दा फोन उठेन् ।

