
नवलपरासी, १२ कात्तिक
नवलपरासीको सुनवल नगरपालिका क्षेत्रस्थित भूमही खोलामा ढुंगा, मिस्कटलगायत नदीजन्य पदार्थको व्यापक चोरी–तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् । चाडपर्वको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन, भण्डारण तथा ओसारपसार भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
स्थानीयका अनुसार साँझ र बिहान अँध्यारोको समयमा दर्जन ट्र्याक्टर मार्फत खोलाबाट ढुंगा तथा मिस्कट निकाल्ने, विभिन्न स्थानमा भण्डारण गर्ने र पछि टिपरमार्फत अन्यत्र पठाउने गरिएको छ । यस्तो गतिविधि नियन्त्रण गर्नुपर्ने निकायले प्रभावकारी निगरानी नगरेको र केही कर्मचारीसँगको मिलेमतोमा चोरी–तस्करी भइरहेको उनीहरूको दाबी छ । विशेषगरी चाडपर्वको समयमा निगरानी कमजोर हुने मौका छोपेर नदीजन्य पदार्थको अवैध कारोबार बढेको स्थानीयको भनाइ छ । उनीहरूले खोलाबाट निकालिने सामग्रीको परिमाण, ओसारपसारमा प्रयोग हुने सवारीसाधन र भण्डारण गरिएका स्थानको प्रभावकारी अनुगमन हुन नसकेको गुनासो गरेका छन् ।
स्थानीयले सामान्य नागरिकलाई नियमको नाममा रोक्ने तर प्रभाव र पहुँच भएका व्यक्तिलाई अवैध कारोबार गर्न छुट दिने गरिएको आरोपसमेत लगाएका छन् । कानुन कार्यान्वयनमा समान व्यवहार हुनुपर्ने माग गर्दै उनीहरूले प्रहरी तथा वन कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । “कि सबैलाई छुट हुनुप¥यो, कि सबैलाई रोक्नुप¥यो,” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “सामान्य नागरिकलाई रोक्ने तर खोलाबाट नदीजन्य पदार्थ चोरी गरेर लैजानेहरूलाई छुट दिने प्रवृत्ति उचित होइन ।” स्थानीयका अनुसार अवैध रूपमा निकालिएका नदीजन्य पदार्थ पहिले सुरक्षित स्थानमा भण्डारण गरिन्छ र पछि टिपरमार्फत बाहिर पठाइन्छ । यसरी चरणबद्ध रूपमा हुने ओसारपसार नियन्त्रण गर्न नियमित अनुगमन र प्रभावकारी कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ। यद्यपि, चोरी–तस्करीमा संलग्न व्यक्ति, ओसारपसारको परिमाण र सम्बन्धित कर्मचारीको संलग्नताबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
सामुदायिक वनका केही पदाधिकारीसमेत आर्थिक लाभ लिएर तस्करीमा संलग्न व्यक्तिहरूको पक्षमा उभिने गरेको आरोप स्थानीयले लगाएका छन्। उनीहरूले यस्ता गतिविधिबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। आरोप पुष्टि नभएसम्म सम्बन्धित व्यक्ति वा संस्थालाई दोषी ठहर गर्न नसकिने भए पनि उजुरीमाथि अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनीहरूको जोड छ । सरकार परिवर्तनसँगै सुशासन कायम हुने र अवैध गतिविधि नियन्त्रणमा आउने अपेक्षा गरेका स्थानीयले जुनसुकै सरकार आए पनि तस्करी नरोकिनु दुःखद भएको बताएका छन् । उनीहरूका अनुसार नदीजन्य पदार्थको अवैध उत्खननले प्राकृतिक स्रोतको दोहन बढाउनुका साथै राज्यको राजस्वसमेत प्रभावित पार्न सक्छ । त्यसैले यस्ता गतिविधि रोक्न स्थानीय सरकार, वन कार्यालय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले सुनवल क्षेत्रमा चोरी–तस्करी भइरहेको भन्ने गुनासो आउने गरेको स्वीकार गरेका छन् । उनले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले प्रयास गरिरहेको बताए । नदीजन्य पदार्थको चोरी–तस्करी नियन्त्रणमा वन कार्यालय र स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने डीएसपी थापाको भनाइ छ । प्रहरी सहयोगी निकायका रूपमा रहने उल्लेख गर्दै उनले प्रहरीको जिम्मेवारीमा अन्य अपराधको अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कामसमेत पर्ने स्पष्ट पारे । उनको भनाइले अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणमा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको देखाउँछ । तर स्थानीयले उठाएका आरोपको सत्यतथ्य पत्ता लगाउन नियमित अनुगमन, सवारीसाधनको जाँच तथा सम्भावित भण्डारण स्थलको निरीक्षण आवश्यक देखिएको छ । यता सुनवल नगरपालिकाको अनुगमन प्रमुख समेत रहेका उपमेयर सुर्य दुबेलाई फोन सम्पर्क गर्दा उनको फेन उठेन ् ।
स्थानीय सरकार र वन कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने नदीजन्य पदार्थको उत्खनन, संकलन, भण्डारण तथा ओसारपसारको अनुगमन प्रभावकारी बनाउनुपर्ने हो, तर हुने सकेको छैन, यता प्रहरीले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान गरी अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्नुपर्ने स्थानीयको अपेक्षा भए पनि हुन नसक्नु दुखद भएको नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । उनका अनुसार भूमही खोलामा भइरहेको भनिएको चोरी–तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायले देखाउने सक्रियता र कारबाहीले प्राकृतिक स्रोतको संरक्षण तथा कानुन कार्यान्वयनप्रति नागरिकको विश्वास कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

