दिवा खाजाले पनि जोगाउन सकेन विद्यार्थी, सामुदायिक विद्यालयमा घट्दो आकर्षण

नवलपरासी,२९ असोज
जिल्लाको पाल्हीनन्दन गाउपालिका २ स्थित एक सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै गए पछि एउटै कक्षाकोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने अवस्था देखिएको छ । निरन्तर विद्यार्थी संख्या घटदैगए पछि विद्यालयका एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउन परेको हो ।
विद्यार्थी टिकाइ राख्न सरकारले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । अभिभावकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको भन्दै आफ्ना बालबालिकालाई अन्य विद्यालयमा पठाउन थाले पछि विद्यार्थी संख्या घट्दै गएको स्थानीयको भनाइ छ । विशेषगरी आर्थिक रूपमा विपन्न, गरिब तथा दलित समुदायका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।
पाल्हीनन्दन गाउँपालिका–२ स्थित पाल्ही आधारभूत विद्यालयमा हाल ४४ जना विद्यार्थी मात्रै अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक जयप्रकाश सिंहका अनुसार बालविकासमा १७ जना, कक्षा १ मा ६ जना, कक्षा २ मा ७ जना, कक्षा ३ मा ५ जना, कक्षा ४ मा ७ जना र कक्षा ५ मा दुई जना विद्यार्थी रहेका छन् । विद्यालय नजिकै करिब ५ सय मिटरको दुरीमा दुई मावि विद्यालय छन्,तर आफ्नो नजिकका मान्छेका परिवार नै शिक्षक भएका कारण ति विद्यालयमा मर्जर पनि गर्न गाउपालिकाले सकेको छैन् । यस्ले सरकारी आर्थिक भार थपिदै गएको स्थानियले बताउछन् ।
विद्यालयमा गुणस्तरि पठन पाठन नहुदा नजिकका विद्यालयमा विद्यार्थी जान थाले तर यो विद्यालयले आफ्नो मान्छेको जागिर टिकाई राख्नका लागि विद्यालयमा सरकारी आर्थिक भार बढे पछि मर्जन गर्न सकेन,एक स्थानियले भने,पहुँचको आधारमा शिक्षक भर्ना गर्ने हुदा शिक्षक विद्यार्थीको पठन पाठन भन्दा नेता कार्यकर्तालाई खुशी बनाउनमै लागे । तर सचेत अभिभावकहरुले विद्यालयको विरोध भन्दा विपकल्प खोज्दै नीति जिद्यालय र नजिकैको हरपुर र सुनरी स्थित मावि विद्यालयमा सर्दै गएको उनको भनाई थियो ।
विद्यार्थी संख्या निकै कम भएपछि छुट्टाछुट्टै कक्षामा पढाउनुभन्दा कतिपय अवस्थामा तीन वटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउन सहज हुने गरेको प्रधानाध्यापक सिंहले बताए । आर्थिक भार बारे उनले दशै खर्च सहित ७ लाख ६७ हजार ५ सय ४४ रुपिया माग फारम भरि गाउपालिका पठाएको प्रधानाध्यापक सिँहको भनाई थियो । कम विद्यार्थी र बढि शिक्षक हुदा आर्थिक भार बढदै जानु स्वभाविक भएको उनले जनाए । कि विद्यार्थी बढाउन सक्नु पर्छ,कि नजिकको विद्यालयमा विद्यालय मर्जर गर्नु पर्छ अन्य विकल्प नभएको उनको भनाई थियो । यो विद्यालयको प्रति विद्यार्थी खर्च हेर्ने हो भने ४ हजार ३ सय ६१ रुपिया मासिक खर्च हुन जान्छ । जुन यो भन्दा कम खर्चमा नीजि विद्यालयमै ति विद्यार्थी अध्ययन गर्न सक्छन् ।
उनका अनुसार केही वर्षअघिसम्म विद्यालयमा विद्यार्थीको संख्या तुलनात्मक रूपमा बढी थियो । तर पछिल्ला वर्षमा विभिन्न कारणले अभिभावकले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न छाडेपछि विद्यार्थी संख्या घट्दै गएको हो । ‘पहिला धेरै विद्यार्थी थिए । केही वर्षयता विविध कारणले सामुदायिक विद्यालयमा आउने विद्यार्थी घट्न थालेका छन्,’ प्रधानाध्यापक सिंहले भने, ‘अन्य सामुदायिक विद्यालयमा पनि पहिलाको तुलनामा विद्यार्थी संख्या कम हुँदै गएको छ ।’ सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा उपलब्ध गराउने कार्यक्रम भए पनि यसले मात्र विद्यार्थी संख्या बढाउन नसकेको देखिएको छ ।
स्थानीयका अनुसार विद्यालयमा भौतिक पूर्वाधार निर्माण, बजेट व्यवस्थापन तथा अन्य कार्यक्रम ल्याउने विषयमा ध्यान जाने गरे पनि शैक्षिक सुधार, गुणस्तरीय पठनपाठन र विद्यार्थीको सिकाइ उपलब्धिमा पर्याप्त ध्यान पुग्न सकेको छैन । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा स्थानीय तहको शिक्षा शाखाले विद्यार्थी संख्या घट्नुको कारण पहिचान गरी सुधारका लागि प्रभावकारी योजना बनाउनुपर्ने उनीहरूको माग छ । पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामसुन्दर चौधरी (कुर्मी) ले पनि गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम रहेको बताए । उनका अनुसार विद्यालयमा हुन नहुने विषयमा समेत राजनीतिक हस्तक्षेप बढ्दा सामुदायिक विद्यालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ । ‘विद्यालयमा गर्न नहुने कुरामा राजनीति भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थालेका हुन्,’ शिक्षा शाखा प्रमुख चौधरीले भने ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु केवल भौतिक पूर्वाधार वा दिवा खाजाको विषय नभई विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, शिक्षकको भूमिका, अभिभावकको विश्वास र स्थानीय सरकारको शैक्षिक नीतिसँग जोडिएको विषय भएको स्थानीयको भनाइ छ । विद्यार्थी संख्या निरन्तर घट्दै गएमा कतिपय विद्यालयमा कक्षा सञ्चालनमै समस्या आउने अवस्था देखिएको छ । त्यसैले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने, गुणस्तरीय शिक्षामा सुधार गर्ने र विद्यार्थी टिकाइ राख्ने दीर्घकालीन योजना आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *