दसैँलाई मर्यादित र सभ्य बनाउन ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्नेमा प्रजिअ नेपालको जोड

नवलपरासी,२८ असोज
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दसैँ पर्वलाई मर्यादित, सभ्य र व्यवस्थित रूपमा मनाउनुपर्नेमा जोड दिएका छन ्। उद्योग वाणिज्य संघ नवलपरासीले बुधवार आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले पछिल्लो समय दुर्गा पूजा तथा दसैँका नाममा ध्वनि प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले चाडपर्व मनाउने क्रममा आम नागरिकको स्वास्थ्य, सुविधा र शान्तिपूर्ण वातावरणलाई प्राथमिकता दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले दुर्गा पूजा तथा अन्य धार्मिक गतिविधिका क्रममा लाउडस्पिकर र ध्वनि विस्तारक यन्त्रको अनियन्त्रित प्रयोगले सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्न सक्ने उल्लेख गरे । चाडपर्वको उत्साह र धार्मिक आस्थालाई कायम राख्दै ध्वनिको मात्रा कम गर्ने, निश्चित समयभित्र मात्रै ध्वनि विस्तारक यन्त्र बजाउने तथा यसको प्रयोगलाई व्यवस्थित र नियन्त्रण गर्न सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी नेपालले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्नु सबैको दायित्व भए पनि त्यसका नाममा अरूको शान्ति, स्वास्थ्य र दैनिक जीवनमा असर पार्न नहुने बताए। चाडपर्वलाई सबै समुदायका नागरिकले सहज र शान्तिपूर्ण रूपमा मनाउन पाउने वातावरण निर्माण गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, धार्मिक संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबीच समन्वय आवश्यक रहेको उनले औँल्याए । दसैँ नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व भएकाले यसलाई आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र सहिष्णुताको भावनासहित मनाउनुपर्नेमा पनि उनले जोड दिए। पर्वका अवसरमा हुने धार्मिक कार्यक्रम, पूजा, सांस्कृतिक गतिविधि तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्दा प्रचलित नियम र सामाजिक मर्यादाको पालना गर्नुपर्ने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमले जिल्लाका उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। दसैँको अवसरमा आयोजित यस्ता कार्यक्रमले सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाल,उद्योगबाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश अग्रहरी,पुर्व अध्यक्ष विरेन्द्र अग्रहरी लगायतका सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *