संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित

नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्।

दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ।

शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएका छन्। उनका गतिविधिहरू संस्कृति र सम्पदाको संरक्षणसँगै यसप्रति सामाजिक चासो अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको बताइएको छ।

सम्मानपछि शर्माले प्राप्त सम्मानले संस्कृति तथा सम्पदा संरक्षणको क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताए। संस्कृति र सम्पदा कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने साझा सम्पत्ति भएको उनको भनाइ थियो।

दाङवोला ग्युईठिम तामाङ संघका सञ्चालक कबीता तामाङ खोकरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संघका पूर्वअध्यक्ष मिकमार तामाङले मन्तव्य राखेका थिए भने बुद्ध तामाङले स्वागत गरेका थिए। कार्यक्रममा संस्कृति, सम्पदा तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *