निष्क्रिय कृषि फार्मलाई सक्रिय बनाउने कृषि ज्ञान केन्द्रको योजना

नवलपरासी,१९ कातिक
जिल्लामा दर्ता भएर पनि निष्क्रिय तथा रुग्ण अवस्थामा रहेका कृषि फार्मलाई पुनः सक्रिय बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्रले पहल थाल्ने भएकोे छ । जिल्लामा दर्ता भएका कृषि फार्मको वास्तविक अवस्था पहिचान गरी सञ्चालकसँगको सहकार्यमा तिनलाई पुनः सञ्चालनमा ल्याउने योजना केन्द्रले अघि सर्ने भएको हो ।
कृषि क्षेत्रमा लगानी र उद्यमशीलता बढाउने तथा जिल्लाको समग्र कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्रले यस्तो योजना बनाएको जनाएको छ । केन्द्रले पहिलो चरणमा जिल्लामा दर्ता भएका कृषि फार्महरूको अवस्था अवलोकन तथा विश्लेषण गर्नेछ । त्यसपछि फार्म सञ्चालकसँग छलफल गरी समस्या पहिचान र समाधानका उपायसहित कार्ययोजना बनाएर काम अघि बढाइनेछ । कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले जिल्लामा रहेका निष्क्रिय तथा रुग्ण कृषि फार्मलाई सक्रिय बनाउने उद्देश्यले काम अघि बढाउन लागिएको जानकारी दिए ।
उनका अनुसार सुरुमा विवरणमा समेटिएका सबै फार्मको स्थलगत अवस्था अवलोकन गरिनेछ । फार्म सञ्चालनमा रहे–नरहेको, बन्द हुनुको कारण, लगानीको अवस्था, उत्पादनको सम्भावना र सञ्चालकको रुचिलगायत विषयको विश्लेषण गरिनेछ । ‘पहिला सबै फार्मको अवस्था अवलोकन र विश्लेषण गर्छौं उनले भने, त्यसपछि सम्बन्धित सञ्चालकसँग छलफल गरेर कुन काम कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउँछौँ। त्यही कार्ययोजनाका आधारमा फार्मलाई सक्रिय बनाउने काम अघि बढाउँछौँ,’ प्रमुख अर्यालले थपे । उनले जिल्लामा निष्क्रिय रहेका कृषि फार्मलाई पुनः सञ्चालनमा ल्याउन सके कृषि उत्पादन बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। दर्ता भएर सञ्चालनमा आउन नसकेका वा विभिन्न कारणले बन्द भएका फार्मलाई सम्भावनाका आधारमा पुनः व्यवस्थित गर्दै उत्पादनसँग जोड्ने केन्द्रको योजना रहेको उनको भनाइ छ ।
यस अभियानलाई प्रभावकारी बनाउन कृषि ज्ञान केन्द्रले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ । कार्ययोजना अनुसार प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकार, गैरसरकारी संस्था, सहकारी संस्था तथा बैंक र वित्तीय संस्थासँग समेत सहकार्य गरिने अर्यालले बताए । उनका अनुसार फार्मको प्रकृति र आवश्यकताका आधारमा लगानी, प्राविधिक सेवा, कृषि सामग्री, ऋण तथा अन्य आवश्यक सहयोग जुटाउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ । यसबाट कृषि उद्यमीलाई पुनः व्यवसायमा फर्किन सहज हुने अपेक्षा गरिएको छ । कृषि ज्ञान केन्द्रको विवरणअनुसार नवलपरासी जिल्लामा हालसम्म विभिन्न प्रकृतिका कुल ३ हजार २ सय ६२ वटा कृषि फार्म दर्ता भएका छन् । तीमध्ये निजी कृषि फार्मको संख्या ३ हजार २ सय १८ रहेको छ । त्यस्तै साझेदारी फार्म २१ वटा र कम्पनी लिमिटेडका रूपमा दर्ता भएका फार्म २३ वटा छन् ।
दर्ता भएका फार्मको संख्या उल्लेख्य भए पनि सबै फार्म नियमित रूपमा सञ्चालनमा नरहेको अवस्था छ । कतिपय फार्म विभिन्न कारणले बन्द भएका छन् भने केही सीमित क्षमतामा सञ्चालन भइरहेका छन्। कृषि क्षेत्रमा देखिएको यस्तो अवस्थालाई सुधार गर्दै दर्ता भएका फार्मलाई उत्पादनमूलक बनाउने चुनौती केन्द्रसामु छ । कृषि फार्म दर्ता गरेर मात्र कृषि उद्यमको विकास सम्भव नहुने भएकाले तिनलाई नियमित सञ्चालन, उत्पादन र बजारसँग जोड्नु आवश्यक रहेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्। त्यसका लागि प्राविधिक ज्ञान, पर्याप्त पुँजी, उत्पादन सामग्री, बजारको सुनिश्चितता र सरकारी निकायको सहयोग महत्वपूर्ण हुन्छ ।कृषि ज्ञान केन्द्रले अघि सारेको यो योजनाले निष्क्रिय फार्मको वास्तविक अवस्था पहिचान गरी आवश्यकताअनुसार सहयोगको बाटो खोल्ने अपेक्षा गरिएको छ । तर, योजनाको प्रभावकारिता भने स्थलगत अध्ययनपछि तयार हुने कार्ययोजनाको कार्यान्वयन, सम्बन्धित निकायबीचको समन्वय र फार्म सञ्चालकको सक्रियतामा निर्भर रहनेछ । जिल्लामा दर्ता भएका हजारौँ कृषि फार्मलाई उत्पादनसँग जोड्न सके कृषि उद्यमशीलता विस्तार, स्थानीय रोजगारी सिर्जना र जिल्लाको कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास कृषि ज्ञान केन्द्रले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *