कञ्चनगढी निर्माणमा आर्थिक स्रोतको अभाव, ३५ करोडको डीपीआर पूरा गर्न चुनौती

नवलपरासी,७ असोज
बर्दघाट नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको कञ्चनगढीको पूर्वाधार निर्माणमा आर्थिक स्रोतको अभाव देखिएको छ । ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्व बोकेको कञ्चनगढीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब ३५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि हालसम्म करिब ५ करोड रुपैयाँ मात्र लगानी भएको नगरपालिकाले जनाएको हो ।
डीपीआरमा समेटिएका विभिन्न पूर्वाधार निर्माणका काम पूरा गर्न आवश्यक ठूलो रकमको तुलनामा हालसम्म भएको लगानी निकै कम रहेकाले परियोजना कार्यान्वयनमा चुनौती देखिएको नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले जनाए । आवश्यक बजेटको सुनिश्चितता नहुँदा डीपीआरअनुसारका संरचना निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई अपेक्षित गतिमा अघि बढाउन समस्या भएको छ,उनले भने, विगत बर्षमा प्रदेश सरकारबाट पनि सहयोग भएको थियो,तर अहिले प्रदेशबाट पनि सहयोग पाउने अवस्था देखिएको छैन,यस्ले डिपिआर पुरा गर्न चुनौती थपिने देखिएको छ । कञ्चनगढी खजुरा खोलासँगै चुरे पहाडको प्राकृतिक भूगोलसँग जोडिएको क्षेत्र हो ।

हरियाली, पहाडी भू–दृश्य, खोलाको प्राकृतिक वातावरण र शान्त परिवेशका कारण यस क्षेत्रलाई बर्दघाट नगरपालिकाको महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको स्थानका रूपमा लिइएको छ । नगरपालिकाले कञ्चनगढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै स्थानीय आर्थिक गतिविधिसँग जोड्ने योजना अघि सारेको थियो । तर पर्यटकीय पूर्वाधार विकासका लागि तयार गरिएको डीपीआरको लागत ठूलो रहे पनि त्यसअनुसार बजेट उपलब्ध हुन नसक्दा परियोजना पूरा गर्न कठिनाइ भइरहेको सूचना अधिकारी काफ्लेले बताएका छन । उनका अनुसार अहिले प्रवेशद्धार निर्माण भई सकेको छ,तर भित्रका धेरै जसो संरचना निर्माण हुन बाकी नै रहेको छ । गढिसम्म पुग्ने पहुँच मार्ग पनि पक्कि सडक पुर्याउनु पर्ने हो,उनले भने,तर स्रोत अभावले ति काम पनि हुन नसक्दा गढिमा पुग्ने पर्यटकलाई समस्या हुने गरेको छ ।
उनका अनुसार कञ्चनगढीको समग्र विकासलाई लक्षित गरी करिब ३५ करोड रुपैयाँ बराबरको डीपीआर तयार गरिएको छ । हालसम्म करिब ५ करोड रुपैयाँ मात्र लगानी भएको छ, उनले भने, बाँकी पूर्वाधार निर्माणका लागि आवश्यक रकमको स्रोत सुनिश्चित गर्न सकिएको छैन् । स्रोत ब्यवस्थापनको सुनिश्चिता गर्न नसकिएमा डीपीआरअनुसारको परियोजना पूरा गर्न लामो समय लाग्न सक्ने अवस्था रहेको उनले बताए । “कञ्चनगढीको विकासका लागि डीपीआर तयार भएको छ, तर डीपीआरको तुलनामा हालसम्म भएको लगानी निकै कम छ,” सूचना अधिकारी काफ्लेले भने, “आवश्यक आर्थिक स्रोत जुटाउन नसक्दा डीपीआरअनुसारका सबै संरचना निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ।”
कञ्चनगढीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दा बर्दघाट नगरपालिकाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि बढाउन सकिने अपेक्षा गरिएको छ। पर्यटकको आवागमन बढेपछि स्थानीय उत्पादन, कृषि उपज, होटल तथा रेस्टुरेन्ट, होमस्टे, यातायात तथा अन्य सेवा व्यवसाय विस्तार हुने सम्भावना रहेको स्थानीय सरोकारवालाको बुझाइ छ । विशेषगरी खजुरा खोला र चुरे पहाडसँग जोडिएको प्राकृतिक संरचनालाई संरक्षण गर्दै पर्यटकीय पूर्वाधार निर्माण गर्न सके कञ्चनगढीलाई प्रकृति तथा ग्रामीण पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर पर्यटन विकासका नाममा पूर्वाधार निर्माण गर्दा प्राकृतिक वातावरण र चुरे क्षेत्रको संवेदनशीलतालाई समेत ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
कञ्चनगढीमा पर्यटक आकर्षित गर्न आवश्यक सडक, पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र, खानेपानी, शौचालय, पार्किङ, दृश्यावलोकनस्थललगायतका पूर्वाधार आवश्यक पर्ने देखिन्छ। यस्ता संरचना निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले नगरपालिकाको सीमित आन्तरिक स्रोतबाट मात्रै डीपीआर कार्यान्वयन गर्न कठिन हुने अवस्था देखिएको छ । यसका लागि संघ तथा प्रदेश सरकार, पर्यटनसँग सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सम्भावित स्रोतसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ । बहुवर्षीय योजनाका रूपमा बजेट सुनिश्चित गर्दै क्रमिक रूपमा पूर्वाधार निर्माण अघि बढाउन सके परियोजनालाई पूरा गर्न सहज हुने देखिन्छ ।
कञ्चनगढीको विकाससँग जोडिएको अर्को महत्वपूर्ण विषय यसको प्राकृतिक तथा भौगोलिक विशेषताको संरक्षण हो। खजुरा खोला र चुरे पहाडसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले विकास निर्माणका क्रममा वातावरणीय प्रभावलाई न्यून गर्ने गरी योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ। पर्यटकीय पूर्वाधार निर्माणसँगै वन, पानीका स्रोत, जैविक विविधता तथा प्राकृतिक भू–दृश्यको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । पर्यटन पूर्वाधारमा गरिने लगानीलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी त्यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउन सके कञ्चनगढीको विकासले दीर्घकालीन आर्थिक प्रभाव पार्न सक्नेछ । स्थानीय उत्पादन र सेवासँग पर्यटनलाई जोड्दै रोजगारी सिर्जना तथा स्थानीय आम्दानी वृद्धि गर्ने गरी योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
कञ्चनगढीको प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्थालाई पर्यटनसँग जोडेर व्यवस्थित पूर्वाधार निर्माण गर्न सके बर्दघाट नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा यसको पहिचान स्थापित गर्न सकिने सम्भावना छ । तर त्यसका लागि डीपीआरअनुसारको बजेट व्यवस्थापन, चरणबद्ध निर्माण, वातावरणीय संरक्षण र स्थानीय सहभागितालाई समान रूपमा अघि बढाउनुपर्ने देखिएको छ । कन्चन गढिको अध्ययन भ्रमणका लागि पुगेका लुम्बिनी उद्योग बाणिज्य महासंघका सदस्य ओम प्रकाश अग्रहरीले यो क्षेत्रको विकास पुर्वाधार बनाउनमा नगरपालिका मात्रै लगानी गरेर नपुग्ने बताए । यसमा संघ र प्रदेश सरकारले समेत चाँसो लिनु पर्ने बताउदै यसका लागि प्रतिसभा सदस्य र प्रदेश सभा सदस्य(साँसद)हरुले पहल गरिनु पर्छ, उनले भने, यो गढी क्षेत्रको पर्यटकिय पुर्वाधार नेपालकै लागि नमुना बन्न सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *