सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।
६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्।

कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। रेडक्रसको मानवीय सेवा र विपद् जोखिम न्यूनीकरणसम्बन्धी भावनालाई विद्यालय तहबाटै व्यवहारमा उतार्न वृक्षरोपण कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरूले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुखाडी थारू (चौधरी)ले जलवायु परिवर्तनका कारण पछिल्लो समय प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै वातावरण संरक्षणमा वृक्षरोपणको महत्वपूर्ण भूमिका रहेको बताए। उनले रसुवामा हालै आएको बाढीको प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनको असर नेपालमा समेत गम्भीर रूपमा देखिन थालेको बताए। वातावरणीय असन्तुलन न्यूनीकरण तथा प्राकृतिक विपद्को जोखिम घटाउन वृक्षरोपण र वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

विशेष अतिथि हैदर अली मोमिनले वृक्षरोपणलाई वातावरण संरक्षणसँगै मानव स्वास्थ्यसँग पनि जोडेर हेर्नुपर्ने बताए। रूखबिरुवाले हावा शुद्ध बनाउनुका साथै तापक्रम नियन्त्रण र वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्ने उल्लेख गर्दै उनले स्वच्छ तथा हरियालीयुक्त वातावरणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

वृक्षरोपणले कार्बनडाइअक्साइड सोस्नुका साथै अक्सिजन उत्पादन गर्ने, तापक्रम नियन्त्रण गर्ने, माटोको क्षय रोक्ने तथा बाढीपहिरोको जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्‍याउने सहभागीहरूले बताएका थिए।

विद्यालय परिसरमा हरियाली विस्तारसँगै विद्यार्थीमा वातावरण संरक्षणसम्बन्धी व्यवहारिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *