
भदाै १७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा भदौ २४ गतेदेखि तीनदिने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको तयारी तथा सञ्चालनसम्बन्धी जानकारी दिन जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला समन्वय समिति प्रमुख भगवती यादव (रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले एचपीभी खोप अभियानको तयारी, खोप केन्द्र तथा परिचालन हुने जनशक्तिबारे जानकारी दिएका थिए।
शाहीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा भदौ २४ देखि २६ गतेसम्म तीन दिन एचपीभी खोप अभियान सञ्चालन हुनेछ। लक्षित समूहसम्म सहज रूपमा खोप सेवा पुर्याउने उद्देश्यले जिल्लाभर २०० वटा खोप केन्द्र निर्धारण गरिएको छ।
निर्धारित खोप केन्द्रमध्ये १०९ वटा सामुदायिक अर्थात् सरकारी र ९१ वटा संस्थागत अर्थात् गैरसरकारी खोप केन्द्र रहेका छन्। जिल्लाभर बाह्य खोप केन्द्र भने सञ्चालन नहुने जनाइएको छ।
स्थानीय तहगत रूपमा बर्दघाट नगरपालिकामा ३५, सुनवल नगरपालिकामा ३३, रामग्राम नगरपालिकामा ३६, पाल्हीनन्दन गाउँपालिकामा २७, सरावल गाउँपालिकामा १९, प्रतापपुर गाउँपालिकामा २९ र सुस्ता गाउँपालिकामा २१ वटा खोप केन्द्र सञ्चालन हुनेछन्।

अभियानका लागि जिल्लाभर ४०० जना जनशक्ति परिचालन गरिने भएको छ। जसमा २०० जना स्वास्थ्यकर्मी र २०० जना स्वयंसेवक रहनेछन्। खोप केन्द्र सञ्चालन तथा व्यवस्थापन, लक्षित समूहलाई खोपसम्बन्धी जानकारी प्रदान गर्ने र आवश्यक समन्वयका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिनेछ।
अभियान सञ्चालनका क्रममा स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गरी खोप सेवा प्रदान गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप एचपीभी संक्रमणबाट हुने स्वास्थ्य जोखिम, विशेषगरी पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ। त्यसैले अभियानलाई महिला तथा किशोरीको दीर्घकालीन स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण सार्वजनिक स्वास्थ्य कार्यक्रमका रूपमा लिइएको छ।
कार्यक्रममा खोप केन्द्र व्यवस्थापन, स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन, स्थानीय तहसँगको समन्वय तथा लक्षित समूहसम्म खोप सेवा प्रभावकारी रूपमा पुर्याउने विषयमा छलफल गरिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयले भदौ २४ गतेदेखि सुरु हुने तीनदिने अभियानमा सम्बन्धित लक्षित समूहलाई सहभागी भई एचपीभी खोप सेवा लिन आग्रह गरेको छ।
