
सुकरात गौड | काेलियखबर
नवलपरासी, भदौ ८ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचले जिल्ला प्रशासन कार्यालयमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शान्ति, सामाजिक सद्भाव, मानवता, महिला सम्मान, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सुधारका विषयमा जोड दिइएको छ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गोरखदल गणका गणपति विज्ञान पोखरेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सहायक प्रहरी उपरीक्षक गोविन्दबहादुर खाती तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक प्रज्वल खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयलाई विभिन्न प्रजातिका आकर्षक तथा विदेशी प्रजातिका बिरुवासहित १६ वटा गमला हस्तान्तरण गरिएको थियो। साथै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई समेत मिनी गमला हस्तान्तरण गरिएको थियो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश दिन गमला हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली मोमिन, उपाध्यक्ष रियाजुल हक अन्सारी, सचिव मोहम्मद रज्जाक मिया, कोषाध्यक्ष यासरुद्दीन मुसलमान अन्सारी, सल्लाहकार बुद्धन अली लगायत मुस्लिम समुदायका अगुवा, मौलाना, मदरसा अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
यसै अवसरमा संस्थाले मोहम्मद जयन्तीको प्रसादका रूपमा खजुर वितरण गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा सद्भावको सन्देशसमेत पुर्याएको छ। संस्थाले सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सुनवल नगरपालिका र बर्दघाट नगरपालिकामा पुगेर सम्बन्धित स्थानीय तहका प्रतिनिधिलाई खजुर हस्तान्तरण गरेको जनाएको छ।
मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका उपाध्यक्ष रियाजुल हक अन्सारीले मोहम्मद जयन्तीलाई शान्तिपूर्ण र सद्भावका साथ मनाउनुपर्ने बताए। उनले विगतका केही कार्यक्रममा अनावश्यक आवाज, डिजे तथा नाराबाजीका कारण केही नागरिक असहज भएको उल्लेख गर्दै यसपटक त्यस्ता गतिविधि रोकिने बताए। मोहम्मद जयन्ती कुनै आन्दोलन नभई खुसी, शान्ति र सद्भावको पर्व भएको उनको भनाइ थियो।
प्रतापपुर गाउँपालिका–हरपुरस्थित मदरसाका मौलाना तथा मुफ्ती मोहम्मद अफजल साहेबले मोहम्मदको जन्मपूर्वको समाजमा महिलाको अवस्था कमजोर रहेको चर्चा गर्दै महिलाले घरेलु हिंसा र सामाजिक विभेदको सामना गर्नुपरेको बताए। विधवामाथि हुने अमानवीय व्यवहारको चर्चा गर्दै उनले मोहम्मदले विधवाहरूलाई सम्मानपूर्वक जीवन बिताउने अवसर दिएको बताए।
उनले इस्लामले छोरीलाई पनि पैतृक सम्पत्तिमा अधिकार दिएको उल्लेख गर्दै महिला सम्मान र समानताको सन्देशलाई व्यवहारमा लागू गर्नुपर्ने बताए। मोहम्मदको जीवनसँग जोडिएको एक प्रसंग सुनाउँदै उनले एक वृद्ध महिला भारी बोकेर गन्तव्यतर्फ जान कठिनाइमा रहेको अवस्थामा मोहम्मदले उनको भारी उठाउन सहयोग गरेको बताए। उक्त घटनाले कमजोर तथा असहाय व्यक्तिलाई सहयोग गर्नुपर्ने मानवताको सन्देश दिने उनको भनाइ थियो।
मुफ्ती अफजलले मुस्लिम समुदायमाथि विभिन्न गलत आरोप लाग्ने गरेको उल्लेख गर्दै इस्लामले मानव जीवन र शान्तिलाई महत्व दिएको बताए। “कसैले शान्ति भंग गर्छ भने त्यो इस्लामको सन्देश होइन” भन्ने सन्देश समाजमा पुर्याउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धन अलीले मोहम्मद जयन्तीलाई केवल खानपान र मनोरञ्जनमा सीमित नगरी सामाजिक सुधारसँग जोड्नुपर्ने बताए। मोहम्मद प्रकृतिप्रेमी रहेको उल्लेख गर्दै उनले वातावरण संरक्षणलाई पनि सामाजिक दायित्वका रूपमा अघि बढाउनुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जिल्लाका विभिन्न संघसंस्था, नागरिक समाज, राजनीतिक दल तथा सुरक्षा निकायसँग समन्वय गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा मनाउने वातावरण तयार गरिएको बताए। उनले सबै समुदायलाई आपसी सद्भाव र उल्लासका साथ पर्व मनाउन शुभकामना दिए।
कार्यक्रममा अध्यक्ष हैदर अली मोमिनले आफू बसेको देशको संविधान तथा कानुनको सम्मान गर्दै देशको रक्षा, विकास र समृद्धिमा योगदान गर्नुपर्ने बताए। धार्मिक शिक्षासँगै देशका लागि उपयोगी आधुनिक शिक्षा हासिल गर्नुपर्नेमा उनले जोड दिए।

उनले मदरसामा धार्मिक शिक्षासँगै आधुनिक शिक्षालाई समेत प्राथमिकता दिनुपर्ने बताए। मुस्लिम समुदायले शिक्षा र सीपलाई प्राथमिकता दिएर देशको विकासमा योगदान गर्नुपर्ने उनको भनाइ थियो।
मोमिनले रिस र नशालाई त्याग्नुपर्ने, लोकतान्त्रिक व्यवहार अपनाउनुपर्ने तथा धर्मलाई प्रदर्शनभन्दा व्यवहारमा उतार्नुपर्ने बताए। विपन्न तथा गरिब समुदायको सहयोग, विधवाप्रति सम्मान र सामाजिक सेवामा सक्रिय हुनुपर्नेमा समेत उनले जोड दिए।
मोहम्मद जयन्तीलाई लक्षित गर्दै संस्थाले आगामी भदौ ९ गते प्रतापपुर गाउँपालिका–हरपुरस्थित मदरसामा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ। धार्मिक पर्वलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।
कार्यक्रममा धार्मिक आस्थासँगै मानवता, शान्ति, सामाजिक सद्भाव, महिला सम्मान, शिक्षा, सामाजिक सेवा र वातावरण संरक्षणलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
