१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गर्दै पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण

सुकरात गौड

परासी, भदौ ७ । १५०१औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित सामाजिक कार्यक्रमअन्तर्गत परासीस्थित पृथ्वीचन्द्र अस्पताल परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचको आयोजनामा भएको कार्यक्रममा अस्पताल परिसरको सरसफाइ गर्नुका साथै धुपी, चाइनिज पिपललगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष हैदर अली मोमिनको नेतृत्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका सचिव मोहम्मद रज्जाक मिया, कोषाध्यक्ष ग्यासुद्दीन मुसलमान अन्सारी, संस्थाका सदस्य तथा मुस्लिम समाजसेवीहरूको सहभागिता रहेको थियो। संस्थाका सल्लाहकार बुद्धन अलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

अस्पतालका डा। शैलेश कुर्मी, वरिष्ठ डा। ध्यामसुन्दर जैसवालसहित अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो। अस्पताल टोलीले सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएको थियो।

अध्यक्ष हैदर अली मोमिनले १५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गरी अस्पताल परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको बताए। अस्पतालमा आउने बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीका लागि स्वच्छ, हरियाली र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

मोमिनले वृक्षारोपणले मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै वातावरण स्वच्छ राख्न र जलवायु परिवर्तन नियन्त्रणमा समेत योगदान पुर्‍याउने बताए। उनले मोहम्मदको शिक्षाले मानवताको संरक्षण, शान्ति र आपसी सद्भावलाई प्राथमिकता दिएको उल्लेख गर्दै त्यही भावनाअनुसार मानवीय तथा वातावरणीय सेवाका कार्यक्रम सञ्चालन गरिएको बताए।

“वृक्षले मानिसको मात्र होइन, सम्पूर्ण जीवन र वातावरणको रक्षा गर्छ। स्वच्छ वातावरण निर्माण र जलवायु परिवर्तनका असर कम गर्न वृक्षारोपण आवश्यक छ,” मोमिनले भने। उनले मोहम्मद जयन्तीलाई धार्मिक कार्यक्रमसँगै मानव सेवा, वातावरण संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

मोमिनले आगामी दिनमा सञ्चालन हुने कार्यक्रमबारे समेत जानकारी दिँदै विभिन्न समुदायका नागरिकलाई मानवीय सेवाका कार्यक्रममा सहभागी हुन आह्वान गरे। धर्म र समुदायभन्दा माथि उठेर मानवताको सेवामा सबैको सहभागिता आवश्यक रहेको उनले बताए।

१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गरी यसअघि जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरिएको थियो। सोही कार्यक्रमअन्तर्गत पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण गरिएको हो। आगामी दिनमा रक्तदान, बिरामीलाई फलफूल वितरणलगायतका सामाजिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *