१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस

सुकरात गौड

नवलपरासी, भदौ ११ । १५०१औँ मोहम्मद जयन्ती तथा जश्ने ईद मिलादुन्नबीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले सञ्चालन गरेको एक साताव्यापी कार्यक्रम बुधबार फलफूल वितरण, पानी पिउने कार्यक्रम तथा शान्तिपूर्ण जुलुससँगै सम्पन्न भएको छ।

भदौ १० गते आयोजित अन्तिम दिनको कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचाररत बिरामी तथा आदर्श नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी मुस्लिम सामाजिक युवा संस्थासँगको समन्वयमा जुलुसमा सहभागी तथा सर्वसाधारणका लागि पानी पिउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

त्यसपछि निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागीहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका थिए। जुलुस शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीलाई धार्मिक आस्थासँगै मानव सेवा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा मनाइएको बताए। उनले एक सातासम्म सञ्चालन गरिएको कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश पुर्‍याउने प्रयास गरिएको बताए।

मोमिनका अनुसार साप्ताहिक कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा खजुर वितरण, जिल्ला प्रशासन कार्यालयमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान र प्रतापपुर गाउँपालिका–६, हरपुरमा रक्तदान कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिएको थियो।

हरपुरमा आयोजित रक्तदान कार्यक्रममा १२ युनिट रगत संकलन गरिएको थियो। धार्मिक पर्वलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष मोमिनले बताए।

सचिव मोहम्मद अब्दुल रज्जाकले एक सातासम्म सञ्चालन भएको कार्यक्रम शान्तिपूर्ण, सभ्य र सद्भावपूर्ण रूपमा सम्पन्न भएको बताए। उनले अन्तिम दिन निकालिएको जुलुसमार्फत समाजमा शान्ति, आपसी भाइचारा, धार्मिक सहिष्णुता र सद्भाव कायम राख्ने सन्देश दिन खोजिएको बताए।

उनले कार्यक्रम सफल बनाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार, धर्मगुरु, पृथ्वीचन्द्र अस्पताल परिवार, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता, जिल्लाका मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, राष्ट्रसेवक कर्मचारी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले सहयोग गरेको बताए।

कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्दै सचिव रज्जाकले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग र सद्भाव प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

अध्यक्ष मोमिनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरे। धार्मिक पर्वलाई सामाजिक सेवा र मानव कल्याणसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए।

यसैबीच, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले दुःख व्यक्त गरेको थियो। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *