परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

नवलपरासी, १० भदौ । पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा उलमा फाउन्डेशन नेपालले आयोजना गरेको जुलुसे मोहम्मदी बुधबार परासीमा भव्य रूपमा सम्पन्न भएको छ।

धार्मिक सद्भाव, शान्ति, प्रेम, भाइचारा र मानवताको सन्देशसहित निकालिएको जुलुसमा उलेमा, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा सर्वसाधारणसहित सयौँ नागरिक सहभागी भएका थिए। ब्यानर तथा माइकसहित निकालिएको जुलुसले परासी बजार क्षेत्रमा धार्मिक उत्साहसँगै आपसी सद्भाव र भाइचाराको वातावरण सिर्जना गरेको थियो।

उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरीका अनुसार पैगम्बर मोहम्मदको जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जुलुस आयोजना गरिएको हो।

जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत मौलाना सिराज अहमद निजामीले गर्नुभएको थियो। जिल्ला मदरसा, मस्जिद तथा कब्रिस्तान संरक्षण समितिका अध्यक्ष एवं समाजसेवी अमिरुल्लाह मियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने जुलुसको नेतृत्व केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मजहरीले गर्नुभएको थियो।

जामिया फैजाने अहले बैत, परासीका प्रिन्सिपल हजरत मौलाना सैयद सद्दाम हुसैन तथा कारी अहमद रजाको निगरानीमा जुलुस व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा मौलाना जैनुल आबेदीन, हजरत मौलाना उमर निजामी, हजरत मौलाना बदरुद्दीन, हजरत मौलाना शहादत हुसैन, हजरत मौलाना अब्दुल गफ्फार, हजरत मौलाना अली हुसैनलगायत उलेमाहरूको सहभागिता रहेको थियो। त्यस्तै निवर्तमान जिल्ला समन्वय समिति प्रमुख शिवशंकर प्रसाद राय, समाजसेवी कासिद अली, हाजी इस्हाक मियाँ, सामाजिक अभियन्ता हुसैन अन्सारी, वन विभागका अधिकारी अमजद अन्सारी तथा टेलरिङ व्यवसाय संघका केन्द्रीय सदस्य राजु दीवानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि सहभागी भएका थिए।

केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मजहरीले पैगम्बर मोहम्मदको सन्देश कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानवजातिका लागि शान्ति, न्याय, दया, करुणा र मानवताको मार्गदर्शन भएको बताउनुभयो। उहाँले धार्मिक सहिष्णुता, सामाजिक एकता, आपसी सद्भाव तथा राष्ट्रप्रतिको जिम्मेवारीलाई थप बलियो बनाउन सबै समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

उलमा फाउन्डेशन नेपालले जुलुसे मोहम्मदी सफल बनाउन सहयोग गर्ने उलेमा, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, व्यवसायी, युवा तथा आम नागरिकप्रति आभार व्यक्त गरेको छ।

परासीमा सम्पन्न १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदीले धार्मिक आस्थासँगै शान्ति, सद्भाव, सामाजिक एकता र मानवताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *