
नवलपरासी,१९ साउन
रामग्राम नगरपालिकाका विभिन्न खोलाबाट बालुवा चोरी तस्करी बढदै गएको छ । रामग्राम नगरपालिकासँगै स्थानिय प्रहरी र प्रशासनले चाँसो नलिदा खोलाबाट चोरी तस्करी बढेको स्थानियले बताएका हुन् ।
नगरपालिकाको वार्ड नं.१४ स्थित तुरिया खोलाबाट खोलामै टेक्टर मार्फत बालुवा झिक्ने र भण्डारण गर्ने गरेका छन् । पछि भण्डारण गरिएका बालुवा बुटवल र भैरहवा पठाउदै आएको एक स्थानियले बताए । जनप्रतिनिधिहरुको आँखा अगाडी नै चोरी तस्करी हुने गरेको छ,उनले भने,तर चोरी तस्करी रोक्नमा जनप्रतिनिधिले चाँसो नलिदा मिलोमतो भएको अनुमान गर्न सकिन्छ । एका तिर राजस्व उठेन भनेर नगरपालिकाले विभिन्न विषयमा जनता माथि राजस्व उठाउन करको भार थुपार्ने तर राजस्वको स्रोत खोलानालाको बालुवा भष्कट चोरी तस्करी हुन दिईने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको दोहरो नीति देखिएको उनको गुनासो थियो । खोला कि सबै जनताका लागि निशुल्क लैजान दिईनु पर्ने हो,कि पुर्णतःचोरी निकासी बन्द गर्नु पर्ने हो । तर नगरपालिकाको वेवास्ताले सर्वसाधारणहरुले हेरेको हेरे भएका छन्,तस्करीहरले खोलाजन्य समाग्रि लुटेको लुटे छन् ।
प्रहरीलाई सुचना गर्दा खोलामा छिरेका तस्करहरु पहिलै सुचना पाउने गरेका छन् । प्रहरी आई नपुग्दै सबै टेक्टर खोलाबाट निस्कि सक्ने गरेका छन् । यस्ले गर्दा प्रहरीको पनि लाईन खाएर मिलोमतो भएको आरोप उनले लगाए । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले खोला छेउमा विभिन्न भण्डारण समेत देखाएका थिए । स्थानियले देखेर किन विरोध गर्दैन भन्ने प्रश्नमा उनले भने, के यस्ता भण्डारण यहाँका वार्ड अध्यक्ष जनप्रतिनिधि र प्रहरीलाई थाहा हुदैन ? उनले प्रश्न गर्दै भने, सबै मिलेर तस्करी गरिरहेका छन्,सर्वसाधारण प्रत्यक्ष रुपमा बाहिर आएर विरोध गर्नु जोखिम रहेको उनको भनाई थियो । जो सुरक्षाको दायित्व लिएका छन्,उनीहरु नै यसमा संलग्न भए पछि कसरी खुलेर विरोध गर्न सकिन्छ ? उनले प्रति प्रश्न गरेका थिए ।
यसबारे सो वार्डका वार्डअध्यक्ष ओम प्रकाश यादवले केही ब्यतिmले लुकि छिपि चोर्न गरेको कुरा स्वीकार गर्दै भने, चोरलाई कतिसम्म रोक्न सकिन्छ । कहिँ कतै गइयो,प्रहरी भन्दा चोरी तस्करी गर्ने ब्यतिmका सुराकी बढि छन् । खोला तिर जान थालियो कि सुचना पुगिहाल्छ । खोलामै बालुवा झारेर भागि हाल्छन् । खाली टेक्टर पक्राउ कसरी गर्ने ? प्रहरीको पनि रोक्ने दायित्व हो, उनले थपे,चोरी तस्करी रोक्ने कार्यमा प्रहरीले सक्रियता बढाउनु पर्छ । स्थानियबासी पनि गैरकानुनी कार्यको विरोध गर्नु पर्ने उनको भनाई थियो । नगरपालिकाको राजस्व समितिले बेला बेला अनुगमन गर्न पर्ने आवश्यकता उनले औल्याएका थिए । नगरपालिकाकी राजस्व समितिकी प्रमुख समेत रहेकी उपमेयर सम्झना चौधरीलाई फोन सम्पर्क गर्दा फोन उठेन । रामग्राम नगरपालिकामा तुरिया,झरही र भलुहीखोलामा बालुवा चोरी तस्करी हुने गरेको छ ।
