
नवलपरासी ,१४ चैत्र
जिल्लाको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को टोलीले ठूलो परिमाणमा अवैध हुक्का फ्लेवर बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मोबाइल गस्ती सञ्चालन गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको हुक्का फ्लेवर फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार करिब रु. ११ लाख ९० हजार बराबरको हुक्का फ्लेवर (२४ कार्टुन अर्थात् ५९५० पिस) बरामद गरिएको छ। सो सामग्री अवैध रूपमा भित्र्याउने क्रममा प्रयोग गरिएका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको देखाएको छ ।
