
नवलपरासी,२२ असार
पशुपन्छीमा देखिने विभिन्न संक्रामक तथा महामारीजन्य रोगको समयमै पहिचान, प्रभावकारी परीक्षण र नियन्त्रणलाई थप सुदृढ बनाउने उद्देश्यले पशु सेवा विभागको आयोजना र लुम्बिनी प्रदेशको पशु रोग अन्वेषण प्रयोगशाला, नवलपरासीको समन्वयमा परासीमा दुई दिने नमूना सङ्कलन तथा प्रयोगशाला परीक्षणसम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत १५ जना पशु चिकित्सकको सहभागिता रहेको थियो। सहभागी चिकित्सकलाई पशुपन्छीबाट रोग परीक्षणका लागि आवश्यक नमूना वैज्ञानिक विधिअनुसार कसरी सङ्कलन गर्ने, सुरक्षित रूपमा संरक्षण गर्ने, प्याकेजिङ गर्ने तथा परीक्षणका लागि प्रयोगशालासम्म कसरी पु¥याउने भन्ने विषयमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिएको थियो । पशु रोग अन्वेषण प्रयोगशाला, नवलपरासीका प्रमुख डा. भरत काफ्लेले तालिमको उद्देश्य रोगको सही पहिचानका लागि गुणस्तरीय नमूना सङ्कलन गर्ने दक्ष जनशक्ति तयार गर्नु रहेको जानकारी दिए । उनका अनुसार पशुपन्छीमा देखिने अधिकांश रोगको प्रभावकारी निदान सही तरिकाले सङ्कलन गरिएको नमूनामा निर्भर रहने भएकाले पशु चिकित्सकलाई यस विषयमा व्यावहारिक रूपमा दक्ष बनाउनु आवश्यक छ । यो पशु चिकित्सकलाई ठूलो अवसर हो, डा. काफ्लेले भने, “रोग पहिचानका लागि प्रयोगशालामा आउने नमूना नै सबैभन्दा महत्वपूर्ण आधार हो ।
नमूना सङ्कलनमा सामान्य त्रुटि भए पनि परीक्षणको नतिजा प्रभावित हुन सक्छ । त्यसैले चिकित्सकहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नमूना सङ्कलन, संरक्षण र ढुवानी गर्ने सीप हासिल गर्नु अत्यन्त आवश्यक हुन्छ ।”उनका अनुसार तालिममा रगत, सिरम, स्वाब, दिसा, पिसाब, दूध, तन्तु (टिस्यु) लगायतका विभिन्न प्रकारका नमूना सङ्कलन गर्ने विधिबारे विस्तृत जानकारी दिइएको थियो। साथै नमूना सङ्कलन गर्दा अपनाउनुपर्ने जैविक सुरक्षा (बायोसेफ्टी), व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को प्रयोग, सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा नमूनाको गुणस्तर कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइएको थियो । तालिमको विशेष आकर्षण व्यावहारिक अभ्यास रहेको थियो ।
सहभागी पशु चिकित्सकलाई पशुबाट प्रत्यक्ष रूपमा नमूना सङ्कलन गर्ने अभ्यास गराइएको थियो । प्रशिक्षकहरूले नमूना सङ्कलनका क्रममा अपनाउनुपर्ने सावधानी, प्रयोग हुने उपकरणको सही प्रयोग, लेबलिङ, अभिलेखीकरण तथा कोल्ड चेन व्यवस्थापनका विषयमा विस्तृत अभ्यास गराएका थिए । तालिममा सहभागी चिकित्सकहरूले व्यावहारिक अभ्यासबाट दैनिक कार्यसम्पादनमा प्रत्यक्ष उपयोग हुने ज्ञान र सीप प्राप्त भएको बताएका छन्। उनीहरूका अनुसार प्रयोगशालामा पठाइने नमूनाको गुणस्तर सुधारिएसँगै रोग पहिचान पनि छिटो, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ । डा. काफ्लेले पछिल्ला वर्षहरूमा पशुपन्छीमा विभिन्न संक्रामक रोग देखिने क्रम बढ्दै गएको छ । समयमै रोग पहिचान गर्न सकिएमा ठूलो आर्थिक क्षतिबाट पशुपालकलाई जोगाउन सकिने बताए । उनले रोगको प्रारम्भिक अवस्थामै वैज्ञानिक परीक्षणमार्फत पुष्टि गर्न सके नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
उनका अनुसार पशु रोग अन्वेषण प्रयोगशालाले नियमित रूपमा विभिन्न जिल्लाबाट प्राप्त नमूनाको परीक्षण, रोगको निगरानी, महामारीको अनुसन्धान तथा पशु स्वास्थ्यसम्बन्धी प्राविधिक सेवा प्रदान गर्दै आएको छ । प्रयोगशालाले स्थानीय तह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग निरन्तर समन्वय गर्दै रोग नियन्त्रण अभियानलाई सुदृढ बनाइरहेको छ । तालिमका क्रममा रोगको शङ्का देखिएका पशुपन्छीबाट नमूना सङ्कलन गर्दा अपनाउनुपर्ने नैतिक पक्ष, पशुको कल्याण, जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा तथा प्रयोगशालामा नमूना पठाउने सम्पूर्ण प्रक्रियाबारे समेत विस्तृत छलफल गरिएको थियो। साथै नमूना सङ्कलनदेखि परीक्षण नतिजा प्राप्त हुने प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वयका विषयमा समेत सहभागीहरूबीच अनुभव आदानप्रदान भएको थियो।
पशु सेवा विभागले देशभर पशु स्वास्थ्य सेवालाई आधुनिक, वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यले यस्ता क्षमता अभिवृद्धिमूलक तालिमलाई निरन्तरता दिँदै आएको जनाएको छ। रोगको समयमै पहिचान, महामारी नियन्त्रण तथा सुरक्षित पशुपालन प्रणाली विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य भएकाले प्रदेशस्तरमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको विभागको भनाइ थियो ।
विशेषज्ञहरूका अनुसार पशुपन्छीमा लाग्ने रोगको सही निदानका लागि प्रयोगशालामा पुग्ने नमूनाको गुणस्तर अत्यन्त महत्वपूर्ण हुन्छ। वैज्ञानिक विधिबाट सङ्कलन गरिएको नमूनाले मात्र सही परीक्षण नतिजा दिन सक्ने भएकाले यस्ता व्यावहारिक तालिमले पशु स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै पशुपालक किसानलाई समयमै सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । कार्यक्रमका आयोजकहरूले तालिमबाट सहभागी चिकित्
सकले आ–आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र सीप प्रयोग गरी पशुपन्छी रोगको निगरानी, नमूना सङ्कलन तथा रोग नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन ्।

