
नवलपरासी, ४ भदौ ।
१५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप नवलपरासीका विभिन्न पालिका तथा क्षेत्रबाट आएका मुस्लिम अगुवा, मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, धार्मिक व्यक्तित्व र बुद्धिजीवीहरूको बृहत् भेला सम्पन्न भएको छ।
मदरसा प्रवद्र्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवाचको आयोजनामा सरावल गाउँपालिकाको सभाहलमा भएको भेलामा जिल्लाभरबाट प्रतिनिधित्व गर्दै आएका सहभागीहरूले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रम, र्याली व्यवस्थापन, सुरक्षा तथा सामाजिक सद्भावका विषयमा छलफल गरेका हुन्।
कार्यक्रमको अध्यक्षता हैदर अली मोमिनले गरेका थिए। मदर बाबा पीठाधीश अमिरुल्लाह अन्सारी प्रमुख अतिथि तथा बुद्धन अली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
भेलामा अध्यक्ष मोमिनले यस वर्षको मोहम्मद जयन्तीलाई डीजे तथा अनावश्यक ध्वनिरहित र्यालीसहित शान्तिपूर्ण रूपमा मनाउने प्रस्ताव राखे। मोटरसाइकल र्यालीलगायतका कार्यक्रमलाई समेत अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गरिने उनले बताए।
उनका अनुसार जयन्तीका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायसँग आवश्यक समन्वय गरिनेछ। पर्वलाई शान्तिपूर्ण बनाउनु सुरक्षा निकायको मात्र नभई आयोजक, सहभागी र सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको मोमिनले बताए।
भेलामा मोहम्मद जयन्तीअघि सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरिएको थियो। कार्यतालिकाअनुसार भदौ ४ गते बृहत् बैठक आयोजना गरिएको छ। भदौ ५ गते जिल्ला प्रशासन, सर्वधर्म प्रतिनिधि तथा सुरक्षा निकायसँग बैठक गरिनेछ। भदौ ६ गते जिल्लाभर माइकिङ गरी जयन्तीलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जनचेतना फैलाइनेछ।
भदौ ७ गते पृथ्वीचन्द्र अस्पताल परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ। भदौ ८ गते स्थानीय सरकारसँग बैठक तथा प्रसाद वितरण गरिनेछ। सोही दिन जिल्ला प्रशासन कार्यालयसँग मोहम्मद जयन्तीको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
त्यस्तै, भदौ ९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हरपुर मदरसामा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। भदौ १० गते बिरामीलाई फलफूल तथा दृष्टिविहीन व्यक्तिलाई कपडा र फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
मुख्य जयन्तीका दिन मदरसाबाट शान्तिपूर्ण र्याली निकालिनेछ भने जिल्लाका विभिन्न पालिका तहमा समेत र्याली तथा धार्मिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। जिल्लाभरका कार्यक्रमलाई समन्वय गर्न सातवटै पालिकामा समन्वय समिति गठन गरिएको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि अमिरुल्लाह अन्सारीले मोहम्मद पैगम्बरले देखाएको शान्ति, सद्भाव र मानवताको बाटोमा अघि बढ्नुपर्ने बताए। इस्लाम र मोहम्मदको शिक्षाको मूल भाव शान्ति, प्रेम, सहिष्णुता र मानव सेवामा केन्द्रित रहेको उल्लेख गर्दै उनले मोहम्मद जयन्तीले समाजमा सकारात्मक सन्देश दिनुपर्ने बताए।
विशिष्ट अतिथि बुद्धन अलीले पछिल्लो समय विभिन्न घटनाका कारण मुस्लिम समुदायप्रति समाजमा बन्न सक्ने धारणाप्रति समुदाय सचेत हुनुपर्ने बताए। मुस्लिम समुदाय शान्तिप्रेमी र धार्मिक समुदाय भएको सन्देश व्यवहारबाटै स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
“हामी कुनै पनि प्रकारको द्वन्द्व र विवादबाट टाढा रहँदै शान्तिपूर्ण र व्यवस्थित रूपमा मोहम्मद जयन्ती मनाएर नयाँ उदाहरण प्रस्तुत गर्न चाहन्छौँ,” अलीले भने।
उनले जयन्तीका अवसरमा आयोजना हुने र्याली तथा अन्य कार्यक्रमलाई अनुशासित र सद्भावपूर्ण बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। भेलामा सहभागी जिल्लाका विभिन्न क्षेत्रका धार्मिक अगुवा, मदरसा प्रतिनिधि तथा बुद्धिजीवीहरूले पनि मोहम्मद जयन्तीका कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीको उपस्थितिमा शुभकामना तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष चौधरीले सहभागीहरूलाई स्वागत गर्दै मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रमलाई कानुनी दायराभित्र आवश्यक नैतिक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

धार्मिक पर्वले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायसहित सम्पूर्ण जिल्लावासीमा शुभकामना व्यक्त गरे।
आयोजकका अनुसार यस वर्ष मोहम्मद जयन्तीलाई धार्मिक कार्यक्रमसँगै रक्तदान, सरसफाइ, वृक्षरोपण, बिरामी तथा दृष्टिविहीनलाई सहयोगजस्ता सामाजिक गतिविधिसँग जोडेर मनाउने तयारी गरिएको छ।
