
नवलपरासी,२४ चैत्र
प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा गरेको छलफलमा जिल्लाका दुबै साँसदले अ आफ्ना क्षेत्रका विकास र सीमा समस्याबारे अवगत गराएका छन् । लुम्बिनीका साँसदहरसँगको छलफलमा क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका प्रमुख मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गरेका हुन् ।
सांसद खनालले जिल्लालाई नेपाल–भारत रणनीतिक पारवहन र कृषिको महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा चित्रण गर्दै बीबीध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएका थिए । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको नारायण चोक–त्रिवेणी खण्ड तत्काल सम्पन्न गर्न र दाउन्नेको विकल्पमा भूताहा–संसारकोट–दुम्किबास सडक निर्माण गर्न , र सुस्ताबासीलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग समेत गरेका थिए ।
यसैगरी सांसद गुप्ताले प्रधानमन्त्री तहबाट सम्बोधन हुनुपर्ने राष्ट्रिय गौरव र रणनीतिक योजनाहरूमा जोड दिनु पर्ने कुरा उठाएका थिए । रामग्राम स्तूप (भगवान बुद्धको अस्थिधातु स्थल), पण्डितपुर, देवदह र अनोमा घाटलाई एकीकृत गरी ’बुद्ध सर्किट’ को रूपमा विकास गर्नुपर्ने , महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र यसलाई महेन्द्र राजमार्गसँग जोड्ने ४ लेन सडकको निर्माण कार्यमा तीव्रता दिन र जिल्लामा प्राविधिक शिक्षालयको स्थापना र पृथ्वी चन्द्र अस्पतालको क्षमता विस्तारका साथै पाल्ही बहुमुखी क्याम्पसको जग्गा स्वामित्व विवाद समाधान माग गरेका थिए ।
दुवै सांसदले जिल्लाको कृषि क्षेत्रका लागि मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न आग्रह गरेका थिए । विशेष गरी गण्डक नहरको असमान सन्धि र यसको नियमित सञ्चालनका साथै उखु र केरा किसानको बजार व्यवस्थापनका लागि सरकारको हस्तक्षेपकारी भूमिकाको माग गरिएको छ । साथै, लामो समयदेखि थाँती रहेको सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या हल गरी लालपुर्जा वितरण गर्न समेत दुवै सांसदले आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिल्लाका विशिष्ट र रणनीतिक योजनाहरूलाई बजेट र नीतिगत प्राथमिकतामा राख्ने आश्वासन दिएका थिए ।
