
नवलपरासी,९ मंसिर
जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लामो समयदेखि रेडियोलोजिस्ट र एनेस्थेसिया विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । अस्पतालमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा सर्जन उपलब्ध भए पनि आवश्यक दुई विधाका विशेषज्ञ चिकित्सकको अभावमा जटिल शल्यक्रिया र अन्य विशेषज्ञ सेवा सञ्चालनमा कठिनाइ भएको अस्पतालले जनाएको हो ।
दैनिक ५ सय भन्दा बढी बिरामीले सेवा लिने यस अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले बिरामीको आवश्यकता अनुसार उपचार सेवा उपलब्ध गराउन चुनौती थपिएको छ । विशेषगरी शल्यक्रियाका लागि एनेस्थेसिया विशेषज्ञ आवश्यक पर्ने भएकाले चिकित्सकको अभावमा जटिल शल्यक्रिया सेवा प्रभावित हुँदै आएको अस्पतालको भनाइ छ । रेडियोलोजिस्ट नहुँदा एक्सरे, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवाको विशेषज्ञस्तरीय परीक्षण तथा व्याख्यामा समेत समस्या हुने गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीका अनुसार अस्पतालमा अन्य विशेषज्ञ चिकित्सक र सर्जन भए पनि रेडियोलोजिस्ट र एनेस्थेसिया विशेषज्ञ नहुँदा बिरामीलाई आवश्यकताअनुसार सेवा दिन कठिन भइरहेको छ ।
‘हाम्रो अस्पतालमा दैनिक ५ सय भन्दा बढी बिरामी आउँछन् । विभिन्न विधाका चिकित्सक र सर्जन भए पनि रेडियोलोजिस्ट र एनेस्थेसिया विशेषज्ञ नहुँदा जटिल शल्यक्रियासहितका सेवा प्रभावित भइरहेका छन् । बिरामीको आवश्यकताअनुसार सेवा प्रवाह गर्न चुनौती थपिएको छ,’ अध्यक्ष चौधरीले भने, माथिल्लो निकायमा अस्पतालको समस्याबारे लिखित मौखिक जानकारी गराउदै ताकेता पनि गर्दै आएको तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन् । उनका अनुसार ती दुई विधाका विशेषज्ञ चिकित्सक उपलब्ध गराइदिन प्रदेश सरकारसँग पटकपटक माग गरिएको छ ।
तर अहिलेसम्म प्रदेश सरकारले आवश्यक जनशक्ति पठाउन सकेको छैन । अस्पतालले आफ्नै तर्फबाट चिकित्सक नियुक्तिका लागि विज्ञापन तथा दरखास्त आह्वानसमेत गरेको थियो । तर आवेदन नै नपरेपछि पदपूर्ति हुन नसकेको चौधरीले बताए । विशेषज्ञ चिकित्सकको अभावले अस्पतालको नियमित सेवा मात्रै प्रभावित भएको छैन, स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने बिरामीले समेत अपेक्षित सेवा पाउन कठिनाइ भोग्नुपरेको छ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालमा बिरामीले बिमा सुविधाअनुसार उपचार सेवा पाउनुपर्ने भए पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो ।
अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो सामान्यदेखि जटिल स्वास्थ्य समस्या भएका हुन्छन् । जिल्ला अस्पताल भएकाले जिल्लाका विभिन्न स्थानीय तहका साथै आसपासका क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् । तर विशेषज्ञ चिकित्सकको अभावमा कतिपय बिरामीले थप उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । यसले बिरामीको उपचार खर्च र समय दुवै बढाउने गरेको छ । विशेषगरी आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य बिमा गरेका नागरिकलाई जिल्ला अस्पतालमै सहज र गुणस्तरीय सेवा उपलब्ध हुन नसक्दा थप समस्या पर्ने गरेको छ । स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य नागरिकलाई आर्थिक भार कम गरी सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । तर बिमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालमै आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा बिरामीले सेवा पाउन कठिनाइ हुनु स्वास्थ्य सेवा प्रणालीकै प्रभावकारितामाथि प्रश्न उठ्ने विषय बनेको छ ।
यसै विषयमा उपभोक्ता हित संरक्षण मञ्चले समेत ध्यानाकर्षण गराएको छ । दैनिक ठूलो संख्यामा बिरामी आउने जिल्ला अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य बिमा गर्ने नागरिकसमेत उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको मञ्चको भनाइ छ । मञ्चले स्वास्थ्य बिमा गरेका नागरिकले बिमा सुविधाअनुसार उपचार पाउने वातावरण बनाउनुपर्ने र अस्पतालमा आवश्यक विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएको छ । जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्थाका रूपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा सेवा विस्तार र पूर्वाधार विकाससँगै दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिएको छ । भवन, उपकरण र अन्य भौतिक पूर्वाधार भएर मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने भएकाले आवश्यक विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।
अस्पतालले प्रदेश सरकारसँग माग गरेका रेडियोलोजिस्ट र एनेस्थेसिया विशेषज्ञ चिकित्सक तत्काल उपलब्ध गराउन सके बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता कम हुनुका साथै अस्पतालको सेवा प्रवाहसमेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । दैनिक सयौँ नागरिक उपचारका लागि पुग्ने अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव लामो समयसम्म कायम रहनुले स्थानीय नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य निकायले जनशक्ति अभावको समस्या प्राथमिकताका साथ समाधान गरी पृथ्वीचन्द्र अस्पतालबाटै आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने देखिएको छ । अस्पतालमा एक दर्जन अन्य विशेषज्ञ चिकित्सक छन् । ६२ जना दरबन्दीका कर्मचारी भए पनि आन्तरिक स्रोतबाट थपेर १ सय ४५ जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन्,।तर अतिआवश्यक दुई विज्ञ अभावमा अन्य अधिकाँस सेवालाई प्रभावित बनाई रहेको अस्पतालले जनाएको छ ।
