
नवलपरासी,२ मंसिर
रामग्राम नगरपालिका–४ मा रहेको ऐतिहासिक सेनकालीन सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याउन झरही खोलामा बाँध निर्माण गर्नु पर्ने स्थानीयले माग गरेका छन् । कुनै समय परासी देखि पाल्हीनन्दन गाउँपालिकाको बिसुनपुरा सीमाक्षेत्र हुँदै भारतको बरगदवासम्मका खेतमा सिँचाइ सुविधा पु¥याउने उक्त कुलो संरक्षण र व्यवस्थापनको अभावमा अहिले अस्तित्व संकटमा परेको हुदा त्यसको समय सापेक्ष पुनस्थापनको माग गरेका हुन ्।
पछिल्लो समय डिजेल, विद्युत् तथा अन्य इन्धनको मूल्य बढ्दै जाँदा बोरिङमार्फत खेतमा सिँचाइ गर्नु किसानका लागि महँगो बन्दै गएको छ । यस्तो अवस्थामा परम्परागत सिँचाइ प्रणालीको पुनःस्थापना गर्न सके किसानलाई ठूलो राहत पुग्ने स्थानीयको विश्वास छ । स्थानीय अर्जुनबहादुर क्षेत्रीका अनुसार झरही खोलामा उपयुक्त स्थानमा बाँध निर्माण गरी पानी सञ्चय गर्न सके पुरानो सिँचाइ कुलोलाई पुनः सञ्चालन गर्न सकिने सम्भावना छ । उनका अनुसार विगतमा झरही खोलाको पानीलाई कुलोमार्फत विभिन्न बस्ती र खेतीयोग्य जमिनसम्म पु¥याइन्थ्यो । त्यसबेला परासी क्षेत्रदेखि पाल्हीनन्दन गाउँपालिकाको बिसुनपुरा सीमासम्म मात्र नभई भारतको बरगदवा क्षेत्रसम्म पनि उक्त कुलोबाट सिँचाइ हुने गरेको थियो । यसैले अहिलेका साँसद नरेन्द्र कुमार गुप्तासँग खोलामा बाँधसँगै सिचाई कुलो पुर्नस्थापनको माग राखेका छौ, उनले थपे, यसका लागि निरन्तर पहल भई रहेको छ ।
‘पहिले यही कुलोबाट खेतमा पर्याप्त पानी पुग्थ्यो, क्षेत्रीले भने, किसानले बोरिङ र डिजेलमा निर्भर हुनुपर्ने अवस्था थिएन । अहिले सिँचाइको लागत बढ्दै गएको छ । झरही खोलामा बाँध बनाएर पानी जम्मा गर्न सके पुरानो कुलोलाई फेरि सञ्चालनमा ल्याउन सकिन्छ ।’ सेनकालीन प्रशासनिक केन्द्रसँग जोडिएको सिँचाइ प्रणाली हो । स्थानीयका अनुसार उक्त सिँचाइ कुलोको इतिहास सेनकालसँग जोडिएको छ । सेनकालमा पाल्ही माझखण्ड प्रशासनिक केन्द्रका रूपमा रहेको थियो । सो समयमा कुलोको व्यवस्थापन र सञ्चालन हुँदै आएको बताइन्छ । त्यस बेला खेतीपातीलाई सहज बनाउन खोलाको पानीलाई व्यवस्थित रूपमा खेतसम्म पु¥याउने व्यवस्था गरिएको थियो ।
राणाकालदेखि पञ्चायतकालसम्म पनि उक्त कुलो सञ्चालनमा रहेको स्थानीयको भनाइ छ । कुलोबाट खेतमा पानी पुग्ने भएकाले त्यस क्षेत्रको कृषि उत्पादन र किसानको जीवनयापनमा महत्वपूर्ण योगदान पुगेको थियो । तर प्रजातन्त्र पुनःस्थापना पछि गाउँगाउँमा डिप ट्युबवेल र बोरिङ खन्ने क्रम बढ्दै गएपछि परम्परागत कुलोको प्रयोग क्रमशः घट्दै गयो । आधुनिक सिँचाइ प्रणालीको विस्तारसँगै कुलोको नियमित सरसफाइ, मर्मतसम्भार र व्यवस्थापनमा ध्यान पुग्न सकेन । परिणामस्वरूप कतिपय स्थानमा कुलो पुरिँदै गयो भने कतै यसको संरचना नै नष्ट हुँदै गयो । अहिले इन्धन तथा सिँचाइको लागत बढ्दै जाँदा किसानले पुनः पुरानो कुलोको महत्व महसुस गर्न थालेका छन् । बोरिङमा निर्भर रहँदा खेतीको उत्पादन लागत बढ्ने र साना किसानलाई खेती गर्नसमेत कठिन हुने अवस्था सिर्जना भएको छ। त्यसैले उपलब्ध प्राकृतिक जलस्रोतको उपयोग गर्दै परम्परागत सिँचाइ प्रणालीलाई पुनर्जीवन दिनुपर्ने स्थानीयको माग छ । बाँध बने सिँचाइसँगै पर्यटनको सम्भावना पनि रहेको छ । स्थानीय क्षेत्रीका अनुसार झरही खोलामा बाँध निर्माण गर्नुको उद्देश्य सिँचाइका लागि पानी सञ्चय गर्नु मात्र होइन। यसले भूमिगत जलस्रोत पुनर्भरण (रिचार्ज) गर्नसमेत सहयोग पु¥याउन सक्छ । वर्षायाममा बगेर खेर जाने पानीलाई सञ्चय गर्न सके आसपासका जमिनमा पानीको उपलब्धता बढाउन सकिने उनको धारणा छ ।
उनले झरही खोलामा बाँध निर्माण गरेर सानो जलाशयको स्वरूप दिन सके त्यसलाई पर्यटन तथा मनोरञ्जनसँग पनि जोड्न सकिने सम्भावना औँल्याएका छन् । सञ्चित पानीमा पौडी खेल्ने, डुंगा सञ्चालन गर्ने तथा जल आधारित मनोरञ्जनका गतिविधि सञ्चालन गर्न सकिने उनको भनाइ छ । रामग्राम क्षेत्रमा निर्माण तथा विकासको अवधारणामा रहेका पीस पार्क र बसपार्कलाई समेत यससँग जोडेर विकास गर्न सकिने सम्भावना रहेको क्षेत्री बताउँछन् । यसो गर्न सके झरही खोला आसपासको क्षेत्र कृषि सिँचाइ, वातावरण संरक्षण र पर्यटनको साझा केन्द्र बन्न सक्ने उनको अपेक्षा छ ।
पुरानो सम्पदाको संरक्षण र आधुनिक उपयोगको खाँचो भएको उनले दर्शाएका थिए । ऐतिहासिक सिँचाइ कुलो केवल खेतमा पानी पु¥याउने माध्यम मात्र नभई त्यस क्षेत्रको पुरानो कृषि सभ्यता, जल व्यवस्थापन र सामुदायिक श्रमको इतिहाससँग जोडिएको संरचना पनि हो । पुस्तौँदेखि प्रयोग हुँदै आएको यस्तो संरचनाको संरक्षण गर्नु स्थानीय इतिहास र परम्परागत ज्ञानको संरक्षणसमेत हो । स्थानीयको माग अनुसार झरही खोलामा बाँध निर्माण, पानी सञ्चयको सम्भाव्यता अध्ययन, पुरानो कुलोको वास्तविक मार्ग पहिचान तथा आवश्यक मर्मतसम्भारको काम अघि बढाउन आवश्यक देखिन्छ । बाँध निर्माण गर्नुअघि खोलाको बहाव, बाढीको जोखिम, वातावरणीय प्रभाव, पानीको उपलब्धता र तल्लो तटीय क्षेत्रमा पर्ने असरबारे प्राविधिक अध्ययन गर्नु पनि उत्तिकै आवश्यक छ ।
एकातिर आधुनिक सिँचाइ प्रणालीले किसानको उत्पादन लागत बढाइरहेको छ भने अर्कोतिर पुरानो जलस्रोत र सिँचाइ संरचना उपयोगविहीन बन्दै गएका छन् । यस्तो अवस्थामा झरही खोलामा बाँध निर्माण गरी सेनकालदेखि चल्दै आएको सिँचाइ प्रणालीलाई पुनर्जीवन दिन सके कृषि क्षेत्रका लागि मात्र नभई जल संरक्षण, भूमिगत पानीको पुनर्भरण र स्थानीय पर्यटन विकासका लागि समेत महत्वपूर्ण उपलब्धि हुन सक्ने स्थानीयको अपेक्षा छ । यता साँसद गुप्ताका स्वकिय सचिव ज्ञानेश्वर सहानीले सम्बन्धित प्राविधिकहरुलाई अवलोकन गराएर त्यसका लागि पहल हुने जानकारी गराएका थिए । नजिकैको बसपार्क सञ्चालनका लागि आएको सघन सहरी विकास कार्यक्रमका प्राविधिक टोली आएको र त्यसले आफ्नो क्षेत्रमा नपरेको जनाएको थियो,त्यसका लागि सिचाई पुर्वाधारका प्राविधिक बोलाएर सम्भायता अध्ययन गराउने उनको भनाई थियो ।
