सरावलका व्यापार मेला, एउटै प्रदर्शनीमा गाउँपालिकाका धार्मिक तथा पर्यटकीय गन्तव्य

नवलपरासी,२ मंसिर
सरावल गाउपालिका भित्र रहेका पर्यटकिय स्थलको फोटो प्रदर्शनी गरिएको छ । स्थानीय कृषि, पर्यटन, संस्कृति तथा उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा सरावल गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई विशेष रूपमा प्रदर्शनीमा राखिएको हो ।
सरावल उद्योग वाणिज्य संघको आयोजनामा सरावल गाउँपालिका–२, मझरकुण्डामा सञ्चालन भइरहेको मेलामा गाउँपालिकाभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलका तस्बिरहरू प्रदर्शनीमा राखिएका हुन् । मेलामा आउने अवलोकनकर्तालाई आयोजकले प्रदर्शनीमार्फत सरावलका पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै आएका छन् । प्रदर्शनीमा गाउँपालिकाभित्र रहेका विभिन्न मन्दिर, ताल, पोखरी, धार्मिक स्थल, वन क्षेत्र तथा प्राकृतिक सम्पदाका तस्बिरहरू समेटिएका छन् । एउटै स्थानमा गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी पाउने भएपछि मेलामा पुग्ने अवलोकनकर्ताका लागि प्रदर्शनी आकर्षणको केन्द्र बनेको छ ।
सरावल गाउँपालिकामा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यसँग जोडिएका धेरै सम्भावनायुक्त पर्यटकीय स्थलहरू रहे पनि तीमध्ये कतिपय स्थल अझै पर्याप्त रूपमा प्रचारप्रसार हुन सकेका छैनन् । स्थानीय स्तरमा रहेका यस्ता गन्तव्यको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । यही सम्भावनालाई उजागर गर्ने उद्देश्यले मेलामा पर्यटकीय स्थलहरूको तस्बिरसहितको प्रदर्शनी राखिएको आयोजकको प्रयास देखिन्छ । मेलामा प्रदर्शित तस्बिरहरूले सरावलको धार्मिक तथा सांस्कृतिक पहिचानलाई समेत प्रस्तुत गरेका छन् । प्रर्दशनीमा गाउँपालिकाभित्र रहेका मठमन्दिर, ऐतिहासिक स्थल, तालतलैया र हरियाली क्षेत्रलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुन सक्ने अपेक्षा गरिएको छ ।
कृषि, पर्यटन, खेलकुद, संस्कृति तथा उद्योगलाई सरावलको दिगो विकास र अर्थतन्त्रको आधार बनाउने मूल नारासहित आयोजना गरिएको मेलाले स्थानीय उत्पादन र व्यवसायको प्रवद्र्धनसँगै गाउँपालिकाको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसार केवल मेला र प्रदर्शनीमा सीमित नराखी तिनको संरक्षण, पूर्वाधार विकास, सूचना तथा प्रचार सामग्री निर्माण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । यस प्रकारका प्रदर्शनीले सरावलभित्रै रहेका सम्भावनालाई चिनाउने र पर्यटन विकासका लागि स्थानीय समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *