हुलासी घोलको काखमा आकार लिँदै मधेश सांस्कृतिक पार्क

नवलपरासी,२९ कातिक
विकास भन्नासाथ सडक, पुल, भवन र भौतिक संरचनालाई मात्र सम्झिने चलन छ । तर कुनै पनि ठाउँको वास्तविक पहिचान त्यहाँको इतिहास, संस्कृति, परम्परा, प्रकृति र जीवनशैलीसँग पनि जोडिएको हुन्छ । यही मान्यतालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप नवलपरासीको सरावल गाउँपालिकाले वार्ड नं. ४ ललितपुरमा मधेश सांस्कृतिक पार्क निर्माणको काम अघि बढाएको छ ।
हुलासी घोलको किनारमा रहेको हरियाली र वृक्षारोपण क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको यो पार्क केवल घुमफिर गर्ने ठाउँ मात्र नभई मधेशको मौलिक संस्कृति, धार्मिक आस्था र सामुदायिक परम्परा प्रदर्शन गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको स्थानियले बताएका छन् । करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण क्षेत्र र नजिकै रहेको हुलासी घोलले यस ठाउँलाई प्राकृतिक रूपमा आकर्षक बनाएको छ । हरियाली, जलक्षेत्र र खुला वातावरणको संगम रहेको यस क्षेत्रमा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना देखेरै गाउँपालिकाले पार्क निर्माणको अवधारणा अघि सारेको हो ।
यस क्षेत्रको अर्को विशेषता यहाँको धार्मिक तथा सांस्कृतिक विविधता हो । मुस्लिम समुदायको कर्बला रहेको यस स्थानमा मोहर्रमका अवसरमा मेला लाग्दै आएको छ । त्यस्तै मधेशी समुदायले कृष्ण जन्माष्टमी, नागपञ्चमी, दशहरा लगायतका पर्वमा विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । वर्षौंदेखि समुदायको आस्था र परम्परासँग जोडिएका यी गतिविधिले यस क्षेत्रलाई सांस्कृतिक पहिचानसमेत दिएका छन् । तर, यस्ता परम्परागत मेला महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र तिनको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने साझा पूर्वाधारको आवश्यकता महसुस हुँदै आएको थियो । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले मधेश सांस्कृतिक पार्क निर्माण थालिएको गाउँपालिकाको भनाइ छ ।
पार्क निर्माण भएपछि विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक पर्व, मेला, महोत्सव र सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा छ । एउटै क्षेत्रमा विभिन्न समुदायका संस्कृतिले स्थान पाउँदा आपसी सद्भाव, सहअस्तित्व र सांस्कृतिक आदानप्रदानलाई समेत प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । गाउँपालिका अध्यक्ष सुखाडी चौधरीका अनुसार विकासलाई भौतिक संरचनामा मात्रै सीमित राख्नु हुँदैन । स्थानीय पहिचान बोकेका संस्कृति, परम्परा र सम्पदाको संरक्षण पनि विकासको महत्वपूर्ण आधार हो ।

‘सडक पूर्वाधार मात्रै विकास होइन, सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपूर्ण छ,’ अध्यक्ष चौधरीले भने, ‘हामीले यहाँको प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन विकास गर्ने सोच बनाएका छौँ ।’ उनका अनुसार गाउँपालिकाभित्र रहेका विभिन्न जातजाति तथा समुदायका मौलिक संस्कृति, परम्परा र सांस्कृतिक सम्पदाको सूचीकरण गरी संरक्षण गर्ने योजना छ । सांस्कृतिक पहिचान बोकेका पर्व, जात्रा, मेला, धार्मिक स्थल र परम्परालाई व्यवस्थित अभिलेखीकरण गरेर भावी पुस्ताका लागि सुरक्षित राख्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
यसका लागि गाउँपालिकाले पर्यटन विकास तथा सांस्कृतिक संरक्षण कोष स्थापना गर्ने तयारी समेत गरेको छ । कानुनी व्यवस्था बनाएर कोष सञ्चालन गर्ने र त्यसैमार्फत स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए । दीर्घकालीन रूपमा सरावल गाउँपालिकालाई नै ‘सांस्कृतिक गाउँपालिका’का रूपमा चिनाउने लक्ष्य राखिएको उनको भनाइ छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणदेखि सांस्कृतिक सम्पदाको पहिचान र संरक्षणसम्मका कामलाई क्रमशः अघि बढाइनेछ ।
उतm पार्क निर्माणको क्रममा छ, सोही वार्डका वार्ड अध्यक्ष सुरेश यादवले भने, हालसम्म ३४ लाख खर्च भइसकेको छ । पार्कको कम्पाउण्ड,प्रवेशद्धार,सेड बनाउने कार्य भई रहेको छ । मधेश सांस्कृतिक पार्क निर्माणको काम अघि बढ्दै गर्दा स्थानीयस्तरमा पनि यसको चर्चा र चासो बढेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट निरन्तर सहयोग गर्दै निर्माण कार्यलाई अगाडि बढाइरहेको छ । स्थानीय सन्दीपकुमार हरिजनका अनुसार पार्क निर्माणको कामले यस क्षेत्रको आकर्षण बढाएको बताए । विगतमा सामान्य वृक्षारोपण क्षेत्रका रूपमा रहेको ठाउँलाई पर्यटकीय तथा सांस्कृतिक गन्तव्य बनाउने प्रयासले स्थानीयमा उत्साह थपेको उनले बताए । ‘पार्क निर्माण हुन थालेपछि यस क्षेत्रको आकर्षण बढेको छ, उनले भने, गाउँपालिकाले आफ्नै स्तरबाट निरन्तर सहयोग गरिरहेको छ, तर प्रदेश र संघीय सरकारबाट अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन,’ ।
प्रस्तावित पार्क भारतसँग जोडिएको महेशपुर नाकाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने भुताहा–महेशपुर सडक नजिकै पर्दछ । सडक पहुँच र भौगोलिक अवस्थिति पार्कका लागि महत्वपूर्ण पक्ष मानिएको छ । निर्माण सम्पन्न भएपछि सरावल र आसपासका स्थानीयका साथै सीमापारिबाट आउने भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ । गाउपालिका अध्यक्ष चौधरीले आगामी केही वर्षभित्र पार्कले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार दक्षिणी क्षेत्रको पर्यटन विकास र सांस्कृतिक पहिचान स्थापित गर्न मधेश सांस्कृतिक पार्क महत्वपूर्ण बन्न सक्छ ।
हुलासी घोलको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै वृक्षारोपण क्षेत्रको हरियाली संरक्षण गर्ने, सांस्कृतिक गतिविधिका लागि आवश्यक संरचना बनाउने र पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न सके यस क्षेत्रले नयाँ पहिचान पाउन सक्छ । यद्यपि पार्कलाई वास्तविक पर्यटकीय गन्तव्य बनाउन निर्माण मात्रै पर्याप्त हुँदैन। यसको नियमित सरसफाइ, हरियालीको संरक्षण, व्यवस्थित मेला व्यवस्थापन, पर्यटकका लागि आवश्यक सुविधा र स्थानीय संस्कृतिको मौलिकता जोगाउने काम पनि उत्तिकै महत्वपूर्ण हुनेछन् ।

प्रकृतिको सुन्दरता र समुदायको सांस्कृतिक जीवनलाई एउटै थलोमा जोड्ने सरावलको यो प्रयासले मूर्तरूप पाएमा हुलासी घोल केवल जलक्षेत्रका रूपमा मात्र सीमित रहने छैन। यो मधेशको संस्कृति, परम्परा, धार्मिक सहिष्णुता र प्राकृतिक सम्पदाको परिचय दिने साझा गन्तव्य बन्न सक्नेछ। स्थानीय पहिचानलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्ने गाउँपालिकाको यो योजनाको सफलता भने निर्माणको निरन्तरता, पर्याप्त बजेट र दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *