रामग्राम नगरपालिकामा ३ दशक देखि फोहोर व्यवस्थापनको चर्चा, कार्यान्वयनमा उदासीनता

नवलपरासी,२८ कातिक
छठ पर्व नजिकिँदै गर्दा नेपाल र भारतलगायत विभिन्न देशमा नदी, नाला, पोखरी तथा जलाशय सफाइ अभियान चलिरहेको छ । सूर्यदेवलाई अघ्र्य दिन प्रयोग गरिने जलाशय र नदी किनार स्वच्छ राख्न समुदाय आफैँ सरसफाइमा जुटिरहेका छन् । तर, नवलपरासीको रामग्राम नगरपालिकामा भने दृश्य ठीक उल्टो छ । यहाँ धार्मिक, ऐतिहासिक र पर्यावरणीय महत्त्व बोकेको झरही नदी नगरपालिकाकै फोहोरका कारण प्रदूषित हुने अवस्थामा पुगेको छ ।
एकातिर छठ पर्वले नदी र जलाशय सफा राख्नुपर्ने सन्देश दिइरहेको छ, भने अर्कोतिर स्थानीय सरकारकै फोहोर व्यवस्थापनको कमजोरीले पवित्र नदीको अस्तित्वमाथि प्रश्न उठाएको छ । नगरपालिकाको फोहोर व्यवस्थापन हुन नसक्दा नदी किनार फोहोर विसर्जनको क्षेत्र बन्ने जोखिम बढेको स्थानीयको गुनासो छ । रामग्राम नगरपालिका स्थापना भएको तीन दशक पुग्न लाग्दा पनि फोहोर व्यवस्थापनको स्थायी समाधान हुन सकेको छैन । नगरपालिकामा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गर्ने विषय वर्षौंदेखि चर्चामा छ । चुनावका बेला फोहोर व्यवस्थापनलाई प्रमुख मुद्दा बनाएर मत माग्ने नेताहरू निर्वाचित भएपछि भने प्रतिबद्धता बिर्सने गरेको स्थानीयको आरोप छ । कुरा र आश्वासनमा सीमित योजना कार्यान्वयन नहुँदा नगरवासीले यसको प्रत्यक्ष असर वातावरण र नदीले भोग्नुपरेको बताउँछन् ।
झरही नदीको महत्व फोहोर व्यवस्थापनको समस्यासँग मात्र जोडिएको छैन । यो नदी रामग्रामको प्राचीन इतिहास, धार्मिक आस्था र प्राकृतिक सम्पदासँग समेत जोडिएको छ । प्राचीन कोलिय गणराज्यका राजाले भगवान् गौतम बुद्धको महापरिनिर्वाणपछि प्राप्त अस्थिधातुको आफ्नो भागबाट यही नदी किनारमा रामग्राम स्तूप निर्माण गरेको ऐतिहासिक प्रमाण छ । त्यसैले झरही नदी यस क्षेत्रको बौद्ध सभ्यता र ऐतिहासिक पहिचानसँग पनि सम्बन्धित छ । नदी किनारमा रहेका विभिन्न मठमन्दिरमा स्थानीयले पूजापाठ, ध्यान तथा साधना गर्दै आएका छन् ।
नदीको पवित्रतालाई धार्मिक आस्थासँग जोडेर हेर्ने समुदायका लागि यसको स्वच्छता केवल वातावरणीय विषय होइन, आस्थाको विषयसमेत हो । स्थानीयले यही नदीको पवित्रता कायम राखेर धार्मिक तथा पुण्यका गतिविधि गर्न चाहन्छन् । तर नदी प्रदूषित हुँदै जाँदा यस्ता गतिविधिमा समेत बाधा पुग्न थालेको उनीहरूको भनाइ छ । झरही नदीको अर्को महत्त्व यसको जैविक विविधतासँग जोडिएको छ। नदीमा गोहीसमेत बसोबास गर्दै आएका छन्। जलचरको बासस्थानका रूपमा रहेको नदीमा फोहोर मिसिँदा प्राकृतिक पारिस्थितिक प्रणाली प्रभावित हुन सक्ने चिन्ता स्थानीयमा छ। यति धेरै धार्मिक, ऐतिहासिक र पर्यावरणीय महत्त्व हुँदाहुँदै पनि नदी संरक्षणले प्राथमिकता पाउन नसकेको स्थानीयको गुनासो छ ।
वातावरण संरक्षण अभियानका अध्यक्ष रामभवन यादव लामो समयदेखि झरही नदी संरक्षणको आवाज उठाउँदै आएका छन् । उनले नदीको महत्त्वबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि अपेक्षित सुनुवाइ हुन नसकेको बताए । विरोध र चेतावनी दिँदासमेत नगरपालिकाको उदासीनता बढ्दै गएको उनको गुनासो छ । यादवका अनुसार जनताको भावना, धार्मिक आस्था र वातावरणीय आवश्यकता समेत नबुझ्ने प्रवृत्तिले नदी संरक्षणको अभियान कमजोर बनेको छ । स्थानीय सरकार नै संवेदनशील नबन्दा नागरिकले उठाएको आवाजको सुनुवाइ हुन नसकेको उनले बताए ।
छठ पर्वमा नदी सफाइको सन्देश फैलिरहेका बेला रामग्रामको झरही नदीले भने संरक्षणको प्रतीक्षा गरिरहेको छ । तीन दशकदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनको समस्या अब पनि यथावत् रहे नदीको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व क्रमशः संकटमा पर्ने चिन्ता छ । स्थानीयको माग स्पष्ट छ—नगरपालिकाले व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरोस्, नदीमा फोहोर फाल्ने कार्य रोकियोस् र झरही नदी संरक्षणका लागि ठोस योजना कार्यान्वयन गरोस् । आखिर नदी संरक्षणको जिम्मेवारी नागरिकको मात्र होइन, स्थानीय सरकारको पनि हो । छठमा नदी सफा राख्ने सन्देश दिने रामग्राम नगरपालिकाले आफ्नै नगरभित्रको पवित्र झरही नदी जोगाउन कहिले पहल गर्छ भन्ने प्रश्न अहिले अनुत्तरित छ । यसबारे नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज ढकालसँग फोन सम्पर्क गरेर कुरा गर्न खोज्दा आफुलाई थाहा नभएको बताउदै फोन काटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *