आदिवासी जनजाति महासंघले छैटौँ सुनवल महोत्सव बहिष्कार गर्ने

नवलपरासी,२८ कातिक
नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर समन्वय परिषद्ले छैटौँ सुनवल महोत्सव तथा व्यापार मेला बहिष्कार गर्ने भएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ सुनवलले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई सम्मान नगरेको तथा समुदायको आवाजलाई बेवास्ता गरेको आरोप लगाउँदै महासंघले महोत्सवमा सहभागी नहुने निर्णय गरेको हो ।
२०८३ भदौ ३ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छैटौँ सुनवल महोत्सव एवं व्यापार मेलालाई महासंघले बहिष्कारको घोषणा गरेको हो । महासंघले महोत्सव बहिष्कारसम्बन्धी अपिल समेत सार्वजनिक गरेको छ । आदिवासी जनजातिको पहिचान, अधिकार र मागप्रति बेवास्ता गरिएको, समावेशिता र समानताको सिद्धान्तविपरीत गतिविधि भएको तथा समुदायको आवाजको सुनुवाइ नगरिएको जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष हेमबहादुर थापाद्वारा हस्ताक्षरित पत्रअनुसार महासंघसँग आबद्ध जातीय संघसंस्थाहरूले यसअघि हरेक वर्ष सुनवल महोत्सवमा आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा, परम्परागत खानाका परिकार, सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गर्दै सहभागिता जनाउँदै आएका थिए । ती गतिविधि आदिवासी जनजाति समुदायका अमूल्य मौलिक धरोहर र महत्वपूर्ण सांस्कृतिक सम्पत्ति भएको महासंघको भनाइ छ । यस्ता मौलिक पहिचानको संरक्षण र संवद्र्धनका लागि सम्बन्धित आयोजक तथा सरोकारवाला निकायबाट सकारात्मक दृष्टिकोण र सम्मानजनक व्यवहार आवश्यक रहेको महासंघले उल्लेख गरेको छ । महासंघले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि सबै पक्षबाट सम्मान र सहयोग आवश्यक रहेको बताउँदै त्यसको अभावमा महोत्सवमा सहभागी हुनु उचित नहुने निष्कर्ष निकालेको जनाएको छ ।
महासंघको सुनवल नगर समन्वय परिषद्सँग आबद्ध सम्पूर्ण जातीय संघसंस्थाहरूको सहभागितामा गरिएको छलफलपछि बहिष्कारको निर्णय लिइएको पत्रमा उल्लेख छ । २०८३ वैशाख १९ गते सल्लाहकार तथा अग्रज व्यक्तित्वसहित बसेको बैठकले छैटौँ सुनवल महोत्सव तथा प्रदर्शनीमा कुनै पनि जातीय संघसंस्था सहभागी नहुने निर्णय गरेको महासंघले जनाएको छ । उक्त निर्णय कार्यान्वयन गराउन महासंघले सम्बन्धित सबै जातीय संघसंस्थालाई आफ्ना मातहतका टोल तथा समुदायमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।
महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा र परम्पराको प्रवद्र्धन गर्ने साझा थलोका रूपमा विकास गर्नुपर्ने आवाज उठिरहेका बेला महासंघको बहिष्कार निर्णयले आयोजक र आदिवासी जनजाति समुदायबीचको सम्बन्धमा प्रश्न खडा गरेको छ । अब आयोजक उद्योग वाणिज्य संघ सुनवलले महासंघले उठाएका असन्तुष्टि सम्बोधन गर्न कस्तो पहल गर्छ भन्ने विषयले महोत्सवको तयारी र सहभागितामा प्रभाव पार्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *