
नवलपरासी,२७ कातिक
वर्षायाममा हिलो र हिउँदमा धुलो । ठाउँठाउँमा ठूलाठूला खाल्डा । कतै सडक भत्किएको छ, त कतै पानी जमेर आवागमन नै कठिन हुन्छ । यो कुनै दुर्गम गाउँको सडकको अवस्था होइन, नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुर स्थित रामग्राम रंगशाला र पाल्ही क्याम्पस पुग्ने पहुँचमार्ग सडकको अवस्था हो ।
वर्षौंदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीयवासीले यही सडकका कारण सास्ती भोग्दै आएका छन् । रामग्राम नगरपालिका–४ र १० जोड्ने रावनखण्डा खोलामा रामग्रामका तत्कालिन मेयर नरेन्द्र कुमार गुप्ताको पहलमा पुल निर्माण भएको वर्षौं बितिसक्दा पनि पुललाई जोड्ने सडक भने व्यवस्थित हुन सकेको छैन । पुल बनेपछि आवागमन सहज हुने आशा गरेका स्थानीय अहिले पनि सडकको दयनीय अवस्थाबाट मुक्त हुन सकेका छैनन् । सडकमा रहेका ठूलाठूला खाल्डाखुल्डीका कारण सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको छ । वर्षायाममा हिलो र पानीले यात्रा जोखिमपूर्ण बन्छ भने हिउँदमा सवारीसाधन गुड्दा उड्ने धुलोले यात्रु र सडक आसपासका बासिन्दालाई समस्या पार्ने गरेको छ। सडकको अवस्थाकै कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ ।
रामग्राम नगरपालिका–४ जितपुरका कृपाल भरका अनुसार यो सडक स्थानीय बासिन्दाका लागि मात्रै नभई आसपासका दर्जनौँ गाउँलाई परासी सदरमुकामसँग जोड्ने महत्वपूर्ण मार्ग हो। पाल्हीनन्दन गाउँपालिकाको रगरगञ्ज सीमा नाकासँग जोडिने यस सडकबाट दैनिक धेरै नागरिक आवतजावत गर्ने गर्छन् । तर महत्वपूर्ण सडक हुँदाहुँदै पनि निर्माणमा सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ । मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार भए पनि नागरिकले दैनिक प्रयोग गर्ने सडकको अवस्था सुधार्न कुनै पनि सरकार गम्भीर नदेखिनु दुःखद भएको भर बताउँछन् । उनका अनुसार सडक निर्माणको सवालमा सबै तहका सरकार जिम्मेवार हुनुपर्ने भए पनि स्थानीय समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी नगरपालिकाकै हो । तर नगरपालिकाले समेत सडक निर्माणलाई प्राथमिकतामा नराखेको उनको दुखेसो छ ।
जितपुरकै अर्का स्थानीय अर्जुन क्षेत्री पनि वर्षौंदेखि सडक अलपत्र पर्नु दुर्भाग्यपूर्ण भएको बताउँछन्। पुल निर्माण भएर पनि सडक नबन्दा त्यसको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ छ । स्थानीयले पटकपटक सडकको अवस्था सुधार हुने अपेक्षा गरे पनि अहिलेसम्म समस्या जस्ताको तस्तै रहेको उनी बताउँछन् । यस सडकको महत्व स्थानीय बस्ती जोड्नेमात्र छैन । रामग्राम नगरपालिकाको रंगशाला र पाल्ही क्याम्पस पुग्ने विद्यार्थी, खेलाडी तथा सर्वसाधारणले समेत यही मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । शिक्षा र खेलकुदका महत्वपूर्ण संरचनासम्म पुग्ने सडक नै दयनीय अवस्थामा रहनुले विकास निर्माणको प्राथमिकतामाथि प्रश्न उठाएको छ ।
स्थानीयका अनुसार सडकको अवस्था सुधार भए दर्जनौँ गाउँका नागरिकलाई परासी आवतजावत गर्न सहज हुनेछ । तर वर्षौंदेखि सडक निर्माण हुन नसक्दा उनीहरू हरेक वर्ष उही हिलो र धुलोको समस्या भोग्न बाध्य छन् । सडक निर्माणका लागि बजेट अभाव हो वा योजना छनोटमा प्राथमिकता नपरेको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्न आवश्यक छ । तत्कालका लागि खाल्डाखुल्डी पुर्ने र पानी निकासको व्यवस्था मिलाउन सकिए पनि दीर्घकालीन समाधान भने सडकको स्तरोन्नति नै हो । विकासको अर्थ पुल र भवन निर्माण गर्नु मात्रै होइन, ती संरचनासम्म पुग्ने बाटो पनि सहज र सुरक्षित बनाउनु हो । पुल बनेको वर्षौं बित्दा पनि सडक निर्माणको प्रतीक्षामा रहेका जितपुरवासीलाई अब आश्वासन होइन, व्यवस्थित सडक चाहिएको छ ।

