
नवलपरासी,२३ कातिक
जिल्लाको रामग्राम नगरपालिका–१७ स्थित देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त भएको एम्बुलेन्स लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै स्थानीयवासीले खोजी तथा छानबिनको माग गरेका छन् । सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएको एम्बुलेन्स स्वास्थ्यचौकीमा नरहेको र त्यसको वर्तमान अवस्थाबारे सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई समेत स्पष्ट जानकारी नभएको पाइए पछि स्थानीयले चासो व्यक्त गरेका हुन् ।
२०७८ साल साउन १० गते देवगाउँ स्वास्थ्यचौकीले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी प्राप्त गरेको उक्त एम्बुलेन्स अहिले कहाँ छ ? भन्ने विषयमा अन्योल देखिएको छ । स्थानीयका अनुसार एम्बुलेन्स स्वास्थ्यचौकीमा रहेको कुनै जानकारी छैन । हालका वडा अध्यक्ष कन्हैया मौर्य, वडा कार्यालयका सचिव तथा स्वास्थ्यचौकी प्रमुखलाई समेत एम्बुलेन्सको अवस्थाबारे स्पष्ट जानकारी नभएको बुझिएको छ । स्वास्थ्यचौकीको नाममा कागजातमा एम्बुलेन्स देखिए पनि व्यवहारमा स्थानीयले त्यसको सेवा तथा उपस्थितिको अनुभूति गर्न नपाएको भन्दै खोजी गर्नुपर्ने आवाज उठाएका छन् ।
संघीय सरकारले सरकारी स्वास्थ्य संस्थाले एम्बुलेन्स खरिद गर्दा भन्सार छुट पाउने व्यवस्था गरे पछि रामग्राम नगरपालिकाले दुईवटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरेको थियो । नगरपालिकाले खरिद गरेका ती सवारीसाधन मध्ये एउटा एम्बुलेन्स देवगाउँ स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको थियो । अर्को एम्बुलेन्स अमेरबन स्वास्थ्यचौकीलाई दिइएको थियो भने शववाहन पृथ्वीचन्द्र अस्पताल, परासीलाई उपलब्ध गराइएको थियो । तर, नगरपालिकाले सार्वजनिक स्वास्थ्य सेवा प्रवाहका लागि खरिद गरेका यी सवारीसाधनको सञ्चालन र व्यवस्थापनको अवस्थाबारे प्रश्न उठेको छ । देवगाउँ स्वास्थ्यचौकीको नाममा रहेको एम्बुलेन्स स्वास्थ्यचौकीमा छैन भने पृथ्वीचन्द्र अस्पताललाई उपलब्ध गराइएको शववाहन पनि अस्पतालमा नरहेको स्थानीयको भनाइ छ । सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएका सवारी साधन सम्बन्धित संस्थामा नदेखिएपछि स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।
यस विषयमा रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका सुरज हरिजनले दुई वटा एम्बुलेन्समध्ये देवगाउँ स्वास्थ्यचौकीको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, नवलपरासी शाखाले सञ्चालन गरिरहेको जानकारी दिएका छन् । त्यसैगरी अर्को एम्बुलेन्स अमेरबन स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको र शववाहनलाई अस्पतालाई प्रदान गरिएको बताएका थिए । तर सो शवबाहन अस्पतालले एम्बुलेन्सका रूपमा रूपान्तरण गरी सञ्चालन गरेको छ । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार सवारीसाधन सञ्चालनमा रहे पनि तिनको व्यवस्थापन र प्रयोग सम्बन्धित संस्था भन्दा फरक निकाय मार्फत भइरहेको देखिन्छ । यसले सरकारी बजेट तथा भन्सार छुटको सुविधामा खरिद गरिएका सवारी साधन अर्को संस्थालाई सञ्चालन गर्न दिन मिल्ने कानुनी आधार के हो ? भन्ने प्रश्न खडा गरेको छ ।
सरकारी राजस्व छुटमा खरिद गरिएका एम्बुलेन्स तथा शववाहन सम्बन्धित स्वास्थ्य संस्थाको उद्देश्य र सेवा क्षेत्रभन्दा बाहिर अन्य संस्थाले सञ्चालन गर्न पाउने वा नपाउने विषयमा स्पष्ट कानुनी तथा प्रशासनिक आधार सार्वजनिक हुन आवश्यक देखिन्छ । त्यसका लागि खरिदसम्बन्धी निर्णय, हस्तान्तरण सम्झौता, सञ्चालन अनुमति, सम्पत्ति अभिलेख तथा सम्बन्धित निकायको स्वीकृतिबारे छानबिन हुनुपर्ने स्थानीयको माग छ । स्थानीयवासीले देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त एम्बुलेन्स कसको जिम्मामा छ ? कहाँबाट सञ्चालन भइरहेको छ ? र त्यसबाट स्थानीयले कस्तो सेवा पाइरहेका छन् ? भन्ने विषय सार्वजनिक गर्न माग गरेका छन ्। त्यस्तै शववाहनलाई एम्बुलेन्समा रूपान्तरण गरी सञ्चालन गरिएको विषयमा पनि आवश्यक प्रक्रिया र स्वीकृति भए–नभएको स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ छ ।
सरकारी स्रोतबाट खरिद गरिएका सवारीसाधनको सञ्चालन, व्यवस्थापन र उपयोग पारदर्शी हुनुपर्नेमा स्थानीय सरकारकै मातहतका सम्पत्तिबारे सम्बन्धित जनप्रतिनिधि र कर्मचारीसमेत अनभिज्ञ देखिनु गम्भीर विषय हो । सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी बोकेको नगरपालिकाले यस विषयमा तत्काल सत्यतथ्य सार्वजनिक गरी आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ ।

