एक दशकदेखि अलपत्र महामाया मार्ग ः रामग्राम स्तूप पुग्ने सडक वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

नवलपरासी,२० कातिक
जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य रामग्राम स्तूपलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने महामाया मार्ग एक दशकदेखि निर्माण तथा मर्मतसम्भारको पर्खाइमा छ । रामग्राम नगरपालिका–७ स्थित लोहरसडदेखि रामग्राम स्तूपसम्म पुग्ने सडक लामो समयदेखि अलपत्र पर्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको स्थानियले बताएका हुन् ।
यसले स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा रामग्राम स्तूप अवलोकन गर्न आउने पर्यटकलाई सास्ती भएको छ । तत्कालीन संविधानसभा सदस्य बैजनाथ चौधरीको संसदीय विकास कोषको रकमबाट सडक निर्माण सुरु गरिएको थियो । तर उनको संसदीय पदावधि समाप्त भएपछि सडक निर्माणले निरन्तरता पाउन सकेन । त्यस यता सडकको स्तरोन्नति, मर्मतसम्भार तथा कालोपत्रे गर्ने कामसमेत अलपत्र परेको स्थानीयको भनाइ छ । चौधरी लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री हुँदा पनि उक्त सडक निर्माणले गति लिन सकेन । संघीय रणनीतिक सडक अन्तर्गत पर्ने भएकाले प्रदेश सरकारबाट बजेट विनियोजन गर्न कठिनाइ भएको उनको भनाइ थियो । त्यसपछि अन्य जनप्रतिनिधिले समेत सडकलाई प्राथमिकतामा नराख्दा रामग्राम स्तूपसम्म पुग्ने महत्त्वपूर्ण मार्ग वर्षौं देखि उपेक्षामा परेको स्थानीयको गुनासो छ ।
सडक निर्माणका लागि रामग्राम नगरपालिकाको वार्ड नं.८ लोहसडा देखी वार्ड नं.७ को स्तुपसम्म करिब ४ किलो मिटर उतm सडक निर्माण र मर्मतका लागि नगरपालिकाले समेत पर्याप्त पहल गर्न नसकेको स्थानीयको आरोप छ । नगरपालिकाले आफ्नै बजेटबाट सडक निर्माण नगरेको र संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेटका लागि प्रभावकारी पहलसमेत नगरेको उनीहरूको भनाइ छ । रामग्राम नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र यादवका अनुसार वडा कार्यालयको सीमित बजेटबाट उक्त सडक निर्माण गर्न सम्भव छैन । उनले सडक निर्माणका लागि पटक–पटक नगरप्रमुखसँग कुरा राखे पनि सुनुवाइ नभएको बताए । वडास्तरको बजेटले निर्माण गर्न सक्ने अवस्था नभएकाले नगर तथा माथिल्लो सरकारबाटै बजेट व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
महामाया मार्ग केवल स्थानीय बासिन्दाको आवागमनका लागि मात्र नभई जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटनसँग पनि जोडिएको सडक हो । यसै सडकसँग जोडिएको स्वास्थ्य चौकी, विद्यालय तथा मठमन्दिरमा दैनिक आवतजावत हुने गरेको छ । त्यस्तै, विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास भइरहेको ऐतिहासिक रामग्राम स्तूप अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकसमेत यही मार्ग प्रयोग गरेर पुग्ने गर्छन् । तर सडकको दयनीय अवस्थाका कारण पर्यटकले समेत असहज यात्रा गर्नुपरेको छ। वर्षायाममा सडकमा हिलो र पानी जम्ने समस्या छ भने हिउँदमा सवारीसाधन गुड्दा उड्ने धुलोले स्थानीयको जनजीवन प्रभावित बनाएको छ । सडक आसपासका घरपरिवार, विद्यार्थी तथा पैदलयात्री धुलोबाट बढी प्रभावित हुने गरेका छन् । स्थानीय बासिन्दाले सडकको अवस्था सुधार गर्न वडाध्यक्षदेखि नगरप्रमुखसम्म पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर वर्षौंदेखि समस्या दोहोरिँदा स्थानीय निराश बनेका छन्। वडाध्यक्षलाई सडकको अवस्थाबारे गुनासो गर्दा आफूहरूसँग पर्याप्त बजेट र अधिकार नभएको जवाफ पाउने गरेको स्थानीयको भनाइ छ ।
रामग्राम स्तूप नेपालको बौद्ध इतिहास र पुरातात्त्विक सम्पदाका दृष्टिले विशिष्ट महत्त्व बोकेको स्थल हो । भगवान् गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको एकमात्र मौलिक स्तूपका रूपमा परिचित यस स्थलमा पर्यटकको आवागमन बढाउने चर्चा भइरहे पनि त्यहाँ पुग्ने आधारभूत सडक पूर्वाधारको अवस्था भने दयनीय छ । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र योजनाका कुरा भइरहँदा पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक नै व्यवस्थित हुन नसक्नु विडम्बनापूर्ण देखिएको छ । स्थानीयले महामाया मार्गलाई प्राथमिकतामा राखेर तत्काल बजेट विनियोजन गर्न, सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन माग गरेका छन् । रामग्राम स्तूपको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने हो भने स्तूपको संरक्षणसँगै त्यहाँ पुग्ने सडक तथा अन्य पूर्वाधारको विकासलाई पनि समान प्राथमिकता दिन आवश्यक छ । एक दशकदेखि अलपत्र महामाया मार्गको निर्माण कहिले पूरा हुन्छ भन्ने प्रश्नको जवाफ स्थानीयले अझै पाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *