सरावलको महिला जागरण बहुउद्देश्यीय सहकारीद्वारा पूर्व पदाधिकारीलाई सम्मान तथा बिदाइ

नवलपरासी,१५ कातिक
सरावल गाउँपालिका–२, अहिरौलीस्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको स्वागत र पूर्व पदाधिकारीहरूको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । सस्थाको सभाहलमा आईतवार एक समारोहको आयोजना गरि सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहकारीका पूर्व पदाधिकारीहरूले संस्थाको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै सहकारीलाई थप प्रभावकारी, व्यवस्थित र उत्पादनमुखी बनाउने अपेक्षा व्यक्त गरिएको थियो । वार्षिक करिब १६ करोड रुपैयाँको कारोबार गर्दै आएको यस सहकारीले महिलाहरूलाई बचत तथा ऋणको सुविधा उपलब्ध गराउनुका साथै विभिन्न आर्थिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सहकारीले सहकारी पसल सञ्चालन, मलखादको आपूर्ति तथा बिक्री वितरण, महिलाहरूलाई संगठित गरी रोजगारीका अवसर सिर्जना गर्ने लगायतका काम गर्दै आएको छ । यसका साथै महिलामाथि हुने हिंसाविरुद्धका सामाजिक गतिविधिमा समेत सहकारीले योगदान पु¥याउँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष हैदर अली मोमिनले सहकारीहरू अब बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित हुन नहुने बताएका थिए । सहकारीले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न उत्पादनमूलक तथा आयआर्जनका गतिविधिमा जोड दिनुपर्ने उनको भनाइ थियो । “सहकारीहरू अब बचत उठाउने र ऋण दिने कार्यसँगै उत्पादनमूलक काममा पनि लाग्नुपर्छ,” मोमिनले भने, “सहकारीको उद्देश्य सदस्यहरूको आर्थिक तथा सामाजिक विकास गर्नु हो । त्यसैले सदस्यहरूलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । उनले सहकारीहरूले परम्परागत कार्यक्रम सञ्चालन गरेर मात्र आफ्नो दायित्व पूरा नहुने उल्लेख गर्दै सिर्जनात्मक तथा नवीन कार्यलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सदस्यहरूको सीप, क्षमता र आवश्यकताका आधारमा नयाँ कार्यक्रम सञ्चालन गर्न सके सहकारीको प्रभावकारिता बढ्ने उनले बताए ।
सस्थामा दुई दशक लामो अध्यक्ष पदमा बसेर आफु मासिक २० रुपिया बचत उठाउदै शुरु भएको सस्थाले १६ करोडसम्मको पुजिँ परिचालन र ११ महिलालाई सस्थासँग जोड्नमा अध्यक्ष प्रेम कुमारी चौधरीको ठूलो योगदान रहेको सस्थाकी ब्यवस्थापक रमा चौधरीले बताएकी थिईन् । सन्तान झै हुर्काउने सस्थाकी अध्यक्ष प्रेम कुमारी आफ्ना घरबार भन्दा सहकारीलाई प्रेम दिएर यहाँसम्म पुर्याएको उनको अतुलनिय योगदानको प्रशंसा समेत गरेकी थिईन् । सहकारीको नयाँ कार्यविधि अनुसार दुई कार्यकाल भन्दा बढि अध्यक्ष पदमा बस्न नपाउने अवस्था आए पछि अहिले प्रेम कुमारीले अध्यक्ष पद छोड्नु पर्ने अवस्था आएको हो, उनी भनिन,तर अहिले पनि उनको सहकारीमा उत्तिकै आवश्यकता छ,उनलाई नयाँ कार्य समितिले ससम्मान साथ लिएर अगाडी बढदै कार्य गर्नु पर्ने उनको भनाई थियो ।
महिला जागरण बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण कारोबारसँगै सामाजिक र आर्थिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै वक्ताहरूले आगामी दिनमा उत्पादन, रोजगारी र उद्यमशीलताका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले स्थापना भएको सहकारीले स्थानीय महिलाहरूलाई संगठित गर्दै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको छ। सहकारीको कारोबार र गतिविधिको विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढाउन थप अवसर रहेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू, पूर्व पदाधिकारी, सहकारीका सदस्यहरू र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहकारीले आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तीकरण, उत्पादनमूलक गतिविधि र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *