
नवलपरासी,१३ कातिक
जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट हुने अवैध पशुपन्छीको चोरी पैठारी तथा पशुजन्य वस्तुको ओसारपसार तिब्र रुपमा भई रहेको जनगुनासो बढदै गए पछि अहिले सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाउन थालेका छन् । स्थानियबासीले पटकपटक यस्ता पशु र पशुजन्य पदार्थको चोरी पैठारी रोक्नु पर्ने माग उठाउन थाले पछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय र सरोकारवाला सक्रिता बढाएका हुन् ।
सोहीक्रममा शुक्रवार सुरक्षा निकाय तथा नियमनकारी निकाय बीच प्रभावकारी समन्वय बैठक समेत गरिएको छ । सो बैठकमा सबै निकायले भारतबाट अवैध रुपमा हुने पशु तथा पशु जन्य पदार्थको चोरी पैठारी रोक्न आवश्यक रहेकोमा जोड दिइएको थिए । पाल्हिनन्दन गाउँपालिका–१, महेशपुरस्थित पशु क्वारेन्टाइन चेकपोस्ट कार्यालयमा आयोजित बैठक तथा अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचमा कडाइ गर्नुपर्ने विषयमा छलफल गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय, भैरहवाअन्तर्गतको पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुरको आयोजनामा कार्यालय प्रमुखको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल भुजहवाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रजन पौडेल, इलाका प्रहरी कार्यालय महेशपुरका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा भारतबाट अवैध रूपमा भित्र्याइने पशुपन्छी तथा पशुजन्य वस्तुको ओसारपसारले पशु स्वास्थ्य, जनस्वास्थ्य र कृषि क्षेत्रमा गम्भीर जोखिम निम्त्याउन सक्ने विषयमा चर्चा गरिएको थियो । यस्ता गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा नियमित निगरानी, चेकजाँच र अवैध कारोबारमा संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा ठाकुरप्रसाद खड्काले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध पैठारी नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका थिए । उनले पशु क्वारेन्टाइन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी र स्थानीयवासीबीच आपसी समन्वय तथा सहकार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमले सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी पैठारी नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय सरोकारवालाबीच सहकार्य थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । भारतबाट चोरी पैठारी गरि आउने बाख्रा,खसी तथा बोका र भैसी तथा राँगा पाडापाडीलाई बैधानिकता दिनका लागि जिल्लामा परासी पशु हाट र जमुनिया पशु हाट बजार रहेका छन् । ति बजारको ठेक्का अप्रत्यासित रुपमा बढि रकममा ठेक्काले पनि भारतकै पशुको भरमा ति हाट बजार चल्ने गरेको अनुमान लगाउन सकिन्छ ।
केही ज्याला मजदुरीमा ठेकेदार तथा तस्करले भारतिय सिमावर्ति क्षेत्रबाट पशु हिडाउदै दशगजा कटाएर बजारसम्म पुर्याउने गरेका छन् । ति पशुलाई जुन सुकै पशु चिकित्सकले विना परिक्षण नै स्वस्थ्यकर छन्,भन्दै प्रमाणित गरिदिईने गरिएको छ । तर हाट बजार तथा हाट बजारको ठेक्का लगाउने वर्दघाट नगरपालिका र रामग्राम नगरपालिकाले कुन किसानले कति पशु विक्रि गरेको तथ्याँक राखेका छैनन् ।
वर्दघाट नगरपालिकाकाले जमुनिया बजारलाई एक बर्षका लागि चालु आर्थिक बर्ष २०८३।०८४ का लागि कुल ७५ लाख ४० हजारमा ठेक्का लगाएको वर्दघाट नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले जानकारी गराएका थिए । सो ठेक्का निकोलस कन्ट्रक्सन वर्दघाट १६ ले लिएको छ । प्रति भैसी ४०० र पाडा २०० देखी १५० रहेको छ । यस्को आधारमा ठेकेदारले आफ्नो ठेक्काको रकम उठाउनका लागि सरदर ३०० का दरले पशु विक्रि शुल्क उठाउछ,भने २५ हजार १ सय ३३ गोटा पशु विक्रि भएको हुनु पर्छ । त्यसैको हाराहारीमा परासी हाटले पनि कम्तीमा २० हजार भैसी पाडापाडी खरिद विक्रि गर्ने अनुमान गरिएको छ ।
यसरी पशु हाटले विक्रि गर्नका लागि ठेक्का शुल्क उठाउनकै लागि पनि ४५ हजार भैसी पाडापाडी आवश्कत पर्छ, तर जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको तथ्याँक अनुसार जिल्लामा ३१ हजार ३ सय ३६ वटा भैसी,पडापाडी भएको तथ्याँक छ । ति मध्ये ६० प्रतिसत जति भैसी भएको अनुमान केन्द्रका प्राविधिक टुकराज न्यौपानेले जनाए । ति भैसीबाट बढिमा १८ हजार ६ सय ६० वटासम्म जिल्ला भरि उत्पादन हुन सक्ने उनले अनुमान गरिएको सुनाए । यसरी बाकी भैसी र पाडापाडीको आयात कहाँबाट गरिदै छ ? त्यसले विकल्प भारतकै हो भन्ने देखाउछ । कुन फर्मबाट कति उत्पादन भए, कति विक्रि भए भन्ने लगत पालिका । पालिकाका पशु सेवा शाखासँग पनि तथ्याँक छैन् । अझ गाई,बाख्रा,कुखुरा हास जस्ता बस्तुको तँ झन तथ्याँक नै नभएको केन्द्रले जनाएको छ । यस्ले चोरी तस्करी नियन्त्रण होला भन्नेमा स्थानिय शसँकित नै छन् ।
